अभिनेता सरोज खनालको जीवन : त्यो तिहार जेलमै बित्यो
कुनै समयका चर्चित अभिनेता हुन् सरोज खनाल । उनी अहिले पनि अभिनयमा क्रियाशील छन् । २०४४ बाट रङ्गमञ्च हँुदै अभिनयमा प्रवेश गरेका उनले थुप्रै सानोपर्दा सिरियलमा समेत अभिनय गरेका छन् । ‘प्रेमपिण्ड’ लगायत थुप्रै हिट फिल्मका नायक सरोज पछिल्लो समय चलचित्रमा चरित्र अभिनेताको भूमिकामा देखिँदै आएका छन् ।
लामो समय अमेरिका बसेर फर्किएलगत्तै अभिनयमा होमिएका सरोजले केही समयदेखि दरबारमार्गमा ‘माला’ नामक फिल्म एकेडेमी पनि सञ्चालनमा ल्याएका छन् । यिनै अभिनेता सरोज खनालसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।
पकाउने मेरो आफ्नै स्टाइल
सामान्य नेपाली खाना दाल, भात र तरकारी नै मनपर्छ । अहिलेको चामलमा स्टार्च बढी हुने भएकाले बिहान ब्राउन्ड राइस र बेलुका नियमित रोटी मात्र खान्छु । मेरो मनपर्ने तरकारी आलु, काउली र साग हो । पहेँलो फर्सीको तरकारी मन पर्दैन ।
रेस्टुरेन्ट जाँदिनँ । सुटिङ भएको समय सुटिङमै खान्छु । अन्य समय घरमै खान्छु । मलाई पकाउन पनि रुचि छ । दाइहरुसँग काठमाडौँको डेरामा बसेर पढेको भएकाले पकाउन आउँछ ।
मेरी श्रीमतीलाई पकाउन सिकाएको मैले नै हो । मसँग विवाह गर्दा उनलाई चियाबाहेक केही पाकाउन आउँदैन थियो । बाल्यकालमा सिकेको त्यो समय काम लाग्यो । मैले सबैभन्दा मीठो पकाउने गुन्द्रुक र खसीको मासु हो । त्यो पकाउने पनि मेरो आफ्नै इस्टाइल छ ।
मेरो पोसाक श्रीमतीले किन्छिन्
पोसाकमा म सौखिन छैन । सुन्दा अनौठो लग्नसक्छ तर यो सत्य हो । मैले आफ्ना लागि पोसाक कहिल्यै किनिनँ । मेरा लागि सबै पोसाक श्रीमतीले किन्ने गरेकी छन् ।
म पोसाक जे पनि लगाउँछु । फिल्ममा आफूले निर्वाह गर्ने भूमिकाअनुसारको पोसाक लगाउँछु । अन्य समय प्रायः टिसर्ट र जिन्स पाइट लगाउँछु ।
ह्याट मन पर्दैन । दौरासुरुवाल लगाएको समय ढाकाको टोपी लगाउँछु । ‘ब्लु’ र ‘ब्ल्याक’ मेरो मनपर्ने कलर हो । म जुन क्षेत्रमा छु त्यसको कारणले जे पायो त्यही लगाएर हिँड्नु पनि हुँदैन । वर्षको ६० हजार जति खर्च होला ।
योगा गर्छु
नियमित एक्सरसाइज गर्छु । कोठामै योगा गर्छु । घरमा एक्सरसाइजका सामान धेरै छन् । तर अहिले फलाम उचाल्न आल्छी लाग्छ ।
‘पागलबस्ती’ मन परेको पुस्तक
म नियमित नेपाली साहित्य र कथाका पुस्तकहरु अध्ययन गर्छु । ‘माला’ एकेडेमीबाट केही प्रोडक्सन गर्ने कुरो पनि भइरहेको छ । त्यसैले पछिल्लो दुई तीन वर्षदेखि म धेरै पुस्तक अध्ययन गरिरहेको छु ।
मेरो बिहानको सेड्युल एकदमै टाइट छ । त्यसैले दिनको समय पढ्ने गरेको छु । अहिले कृष्ण धारावासीको पुस्तक ‘टुँडाल’ पढिरहेको छु । यसमा फिल्म बनाउन पनि मन छ । यो पुस्तकमा लेखेको विषयवस्तु समेटियो भने सेन्सर बोर्डले आपत्ति जनाउँछ भन्ने मेरो बुझाइ हो । तर पनि एक पटक कुरा गरेर निर्माण गर्ने सोच छ । अर्काे पढिरहेको पुस्तक कुमार नगरकोटीको ‘अक्षरांस’ हो ।
अहिलेसम्म अध्ययन गरेको मध्ये ‘पागलबस्ती’ सबैभन्दा मनपरेको पुस्तक हो । अर्काे नैनराज पाण्डेको पनि ‘उल्लाद’ । कथाहरु कहिलेकाहीँ लेख्छु । ‘मौन आकाश’ मेरो फस्ट टेलिफिल्म हो जुन आफैले लेखेको थिए । सर्ट फिल्मका लागि केही कथा पनि लेखेको छु ।
पेसाले घुमाउँछ
घुमघाममा धेरै रुचि छ । पेसाले पनि धेरै ठाउँ घुमाउने गरेको छ । फुर्सद भयो भने आफै पनि घुम्न निस्किन्छु । केही दिन पहिले मात्र मुक्तिनाथ पुगेर आएँ । हरियाली भएको, स्वच्छ र शान्त ठाउँ घुम्न मनपर्छ ।
अमेरिकामा २, ३ सय तलाको घर हेरेर फर्कियो । त्यसैले देशका ठुलाठुला बिल्डिङ भएको ठाउँहरु घुम्ने सोख छैन । परिवारसँग नै घुम्न रुचाउँछु ।
फुर्सद छैन
अहिले समयको हरेक सेकेन्ड सदुपयोग गरिरहेको छु । त्यसैले फुर्सद छैन भने पनि हुन्छ । म सकभर आफूलाई केही न केही काममा बिजी राख्छु । फुर्सद भयो भने कि पढ्छु कि सुत्छु ।
खेल्न सक्दिनँ
खेलकुदतिर धेरै रुचि छ । म पहिले चितवन जिल्लाको फुटबल तथा क्रिकेटर थिएँ । सो समय राम्रो खेल्थेँ । अहिले भने खेल्न सक्दिनँ । फिल्म ‘क्याप्टेन’का लागि केही फुटबल खेलेको थिएँ । धुर्सुस–सुन्तली फाउन्डेसनका लागि केही अगाडि क्रिकेट खेलेँ । टेलिभिजनमा मैले सबैभन्दा बढी हेर्ने भनेको खेलकुद नै हो ।
तीन कुरा म हत्तपत्त फेर्दिनँ
म दुईवटा सिम लाग्ने एउटा मात्र मोबाइल बोक्छु । फोन गर्न, फेसबुक हेर्न, युट्युब हेर्न, अनलाइन समाचार पढ्न मोबाइल प्रयोग हुन्छ । अहिले बोकेको मोबाइल वान प्लस भन्ने हो । यो मोबाइल नेपालमा त्यति छैन । यो बोकेको २, ३ वर्ष भयो । गाडी, मोबाइल र घडी गरेर यी तीन कुरा म हत्तपत्त फेर्दिनँ ।
टिभी अमेरिकाबाट ल्याएको
प्रायः बेलुका २ घन्टा टिभी हेर्छु । टिभीमा समाचार, खेलकुद र सिरियल हेर्छु । सिरियलमा हलिउडको वेभ सिरिज हेर्छु । मेरो लाइन कलाकारिता भएकाले कलाकारितामा संसारमा के भइरहेको छ, के हँुदै छ जानकारी राख्नुपर्छ ।
त्यसका लागि विदेशी फिल्म, सिरियल हेर्छु । मेरो घरमा सामसुम ब्रान्डको ६० इन्चको टिभी छ । किनेको तीन वर्ष भयो । अमेरिकाबाट फर्किंदा उतैबाट ल्याएको थिएँ ।
चलचित्र धेरै हेर्छु
चलचित्र धेरै हेर्छु तर रिलिज भएको सबै हेरेको छैन । छानेर हेर्ने गरेको छु । नेपाली, अङ्ग्रेजी, हिन्दी सबै प्रकारका फिल्म हेर्छु ।
कलाकारको हिसाबले फिल्म हेर्छु । बलिउड फिल्ममा आमिर खानको मात्र हेर्छु । नेपाली दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने लगायतको फिल्म हेर्छु । हाम्रै परिवेशमा बनेका, सामाजिक घटना समेटिएका फिल्म बढी मनपर्छ । विदेशको फिल्म पनि घटनाका विषयवस्तुमा बनेको नै मनपर्छ ।
जगजित सिंहको मनपथ्र्यो
गीतसङ्गीत मनपर्छ, सुन्छु । नारायण गोपाल र बच्चुकैलाश मेरा मनपर्ने गायक । विदेशको सुफी टाइपका गजल मन पराउँछु । जगजित सिंह मन पथ्र्यो । अहिले उहाँ बितिसक्नुभयो । उहाँको, नरायण गोपालको र बच्चु दाइका गीत मसँग धेरै कलेक्सन छन् । मनछुने भयो भने सबै प्रकारका गीत सुन्ने गरेको छु ।
प्रेम स्वीकार्न ६ महिना लाग्यो
मैले प्रेमविवाह गरेको हो । मेरी श्रीमती सूर्यमाला खनाल पहिलेदेखि नै कलाकारितामा थिइन् । म उनीभन्दा जुनियर हो ।
म पहिले सभागृह र प्रज्ञाप्रतिष्ठानमा ड्रामाहरु हेर्न जान्थेँ । सूर्यमाला आरोहणसँग आबद्ध थिइन् । आरोहणको नाटक मैले सबैजसो हेर्ने गदर्थेँ । उनीहरुको नाटक हेर्दाहेर्दै म कलाकारितामा आएको हो ।
कलाकारिता लागेपछि सकारात्मक, नकारात्मक धेरै गसिफहरु मिडियामा छापिन्छन् । कतिले बुझ्लान्, कतिले नबुझ्लान् । यही क्षेत्रको जीवनसाथी भए सबै कुरा बुझ्छन् भन्ने मनमा थियो ।
पहिलो प्रेम प्रस्ताव उनलाई मैले नै राखेको थिएँ । उनी मभन्दा धेरै सिनियर कलाकार भएकाले बोल्ने आँट हँुदैन थियो ।
एक नाटकमा म उनको अपोजिटमा थिएँ । उनले आफ्नो अपोजिटमा को कलाकार भनेर सोधिछन् । म भन्ने थाहा भएपछि हिजोको फुच्चेसँग गर्दिनँ भनेर नाटकै छोडिछन् ।
पछि मैले अभिनय गर्नसक्छु भन्ने विश्वास दिलाएपछि मात्रसँगै काम गर्न थालिन् । मेरो प्रेम प्रस्ताव स्वीकार्न उनलाई झण्डै ६ महिना लाग्यो । त्यसको ६ महिनापछि मात्र विवाह गर्यौँ ।
मृत्युको मुखमा पुगेर जोगिएँ
म विसं २०४४ देखि कलाकारिता छु । सुरुमा नाटक, ०४५ को अत्य तिरबाट सानोपर्दा र ०४६ को अत्यतिरबाट ठूलोपर्दा अभिनय सुरु गरेको थिएँ । अहिलेसम्म अभिनय यात्रा जारी नै छ ।
अभिनय जीवनको लामो यात्रामा थुप्रै उचार चढाप भोगेकी छु । केही कहिल्यै बिर्सन सक्दिनँ । त्योमध्येको एक ‘मौन आकाश’ भन्ने सिरियल अभिनय घटना पनि हो । सो समयसम्म मैले फिल्म अभिनय अफर पाएको थिइनँ ।
‘मौन आकाश’ सिरियल प्रसारणपछि मात्र म हिट भएँ । त्यो अगाडि मैले जति नै नाटक अभिनय गरेपछि केही पहिचान थिएन । त्यतिबेला नाटक हेर्ने दर्शक सीमित थिएँ ।
‘मौन आकाश’ जुन रात टेलिभिजनबाट प्रसारण भयो त्यसको भोलिपल्ट नै म हिट भएँ । उक्त सिरियलबाट नेपाली दर्शकले मलाई निकै रेस्पोन्स दिनुभयो ।
त्यो समय मेरो मनमा हलिउड र बलिउडका कलाकारले पाउने रेस्पोन्स पनि यस्तै हो भन्ने लागेको थियो ।
अभिनय जीवनमा मैले गर्व गर्न केही फिल्ममा पनि काम गरेको छु । त्योमध्ये एक ‘प्रेम पिन्ड’ पनि हो ।
म अभिनयमा आएको कारणले बुबा नबोल्नु भएको केही वर्ष भएको थियो । अभिनयमा लागेर छोरो बिग्रियो भन्ने उहाँको बुझाइ थियो ।
जब ‘प्रेमपिण्ड’ रिलिज भयो । फिल्म रिलिजपछि म सर्वत्र चिनिएँ । मेरो गोर्खा दक्षिणबाहु पाउनेको लिस्टमा मेरो नाम पनि आयो ।
सो समय म विराटनगरमा एक फिल्मको छायाङ्कनमा थिए । रेडियोबाट मेरो नाम गोर्खा दक्षिणबाहु पाउनेको लिस्टमा आएपछि बुबाले फोन गरेर बाबु आजबाट तैले अपनाएको पेसा र तँप्रति गर्व लागेको छ भन्नुभयो ।
लामो अभिनय जीवनका तीतामीठा घटना पनि मसँग थुप्रै छन् ।
अभिनयमा रिस्की काम गर्दा ३, ४ पटक मृत्युको मुखमा पुगेर जोगिएको छु ।
रोग छैन
भगवानको कृपाले अहिलेसम्म शरीरमा रोग केही छैन । मेरो परिवारमा सबैजना हर्ट, प्रेसरका रोगी छन् । उनीहरुलाई डाक्टरकहाँ लादा फ्यामिलीमा सबैलाई यस्तो रोग छ । तपाईंको पनि केही होला भन्नुहुन्छ । मेरो चेकअप गर्दा छक्क पर्नुहुन्छ ।
घरमा दुई पेक
कहिलेकाहीँ पिउने गरेको छु । महिनामा एक वा दुई पटक मात्र पिउँछु । त्यो पनि घरमै बसेर । पार्टीहरुमा एक पेक र घरमा दुई पेक पिउने बानी छ ।
रक्सीमा ब्रान्ड कन्सेस छु । प्रायः जोनी वाकरको र राम्रो ब्ल्याकलेबल खाने गरेको छु । घरमा सानोसानो बार पनि बनाएको छु । त्यसमा धेरैथरीका रक्सी छन् ।
मानिस पिट्दै हिँड्थे
मानिस हुँ, भूल त भइहाल्छ नि । सानोमा म रिसाहा स्वभावको बच्चा थिएँ । त्यस्तो हुनु बुबाको नामको रवाफको कारणले पनि हो । मेरो बुबा तीन गाउँका जिमिनदार हुनुहुन्थ्यो । त्यति बेला उहाँ हात्ती, घोडा चढेर हिँड्ने गर्नुहुन्थ्यो ।
बुबाको त्यो धाकको म नराम्रो तवरले फाइदा लिइरहेको थिए । सो समय म मानिस पिट्दै समेत हिँड्थे । त्यो मेरो भूल थियो ।
म पहिलो पटक आज गोप्यकुरा खोल्दैछु । म दुई पटक जेल परेको छु । यो दुवैपटक जेल आफूले केही गल्ती नगरी परेको थिए ।
पहिलो पटक २०३६ सालमा जेल परेँ । यो समय बहुँदल कि पञ्चायत भन्ने विषयमा चुनाव भएको थियो । त्यो समय म सानो फुच्चे नै थिएँ । बहुदलको पक्षमा पम्मप्लेट माथि टाँस्न सजिलो हुन्छ भनेर दाइहरुले मलाई काँधमा बोकेर हिँड्थे ।
सो समय पोस्टर टाँस्ने सबै समातिए । उक्त निहुँमा म पनि जेल परेँ । राजनीति मलाई केही थाहा छैन । उहाँहरुले बोलाएर मलाई टाँस्न लगाएको हो भन्दा पनि पुलिसले पत्याएन । बाँसको लैरोले पैतालामा नराम्ररी हान्यो।
अर्को, हामीले एक सिरियल बनाएका थियौँ ‘बिना चिहानको मृत्यु’ । त्यो सिरियल बनाएकोमा म र सुनिल पोखरेल लगायतलाई तीन दिन लगेर थुन्यो । उक्त सिरियलको म सहयोगी निर्देशक तथा अभिनेता भएको नाताले ।
सो समय कलाकार निर्देशक नीर शाह नेपाल टेलिभिजनको जीएम हुनुहुन्थ्यो । उनले आफ्नो जागिरसमेत धरापमा राखेर हाम्रो दोष केही छैन भनेर जिम्मेवारी लिनुभयो ।
म टेलिभिजनको जीएम हुँ, मैले सेन्सर गरेर त्यो देखाएको हो । उहाँहरुको काम अभिनय गर्ने गराउने मात्र हो भनेर छाड्न लगाउनुभयो । तिहारको तीन दिन बिदाको बेलामा परेकाले त्यो तिहार जेलमै बित्यो ।
केही सपना छन्
सपना केही छन् । अहिलेसम्म आफुलाई चित्त बुझ्दो, गजबको अभिनय गर्न पाएँ भनेर गर्व गर्ने खालको अभिनय अवसर पाएको छैन । यस्तो च्यालेन्जिक रोल गर्ने सपना छ ।
राशि मेरो ‘कुम्भ’
मेरो राशि ‘कुम्भ’ हो । ग्रहदशामा त्यति विश्वास लाग्दैन । यसको पछि लाग्ने गरेको छैन । भगवान त मान्छु तर यसका लागि मन्दिर जानैपर्छ भन्ने लाग्दैन । बाटोमा मन्दिर पर्यो भने ढोग्छु । तर मन्दिर गएर पूजापाठ गर्नु नै पर्छ भन्ने लाग्दैन ।
मृत्युदेखि डर छैन
मृत्यु सत्य हो । सबैलाई थाहा छ जन्मेपछि मर्नुपर्छ भन्ने । मृत्युदेखि डर पनि छैन । मेरो यति चाहना हो, म मर्दा मेरा पछाडिका मानिसले दुःख नपाऊन् । उनीहरुको भविष्य सेक्युवर गर्न सके एनिटाइम मर्न रेडी छु ।