बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : मेरा लागि व्रत नबस

शनिबार, २८ असार २०७६, १० : ३८
शनिबार, २८ असार २०७६

-निर्मल घिमिरे

हरिया चुरा, रातो सारी
हातभरि लपक्कै मेहेन्दी
श्रावण महिना, नौ गेडी उनेको पोते
ओँठभरि रातै लाली
सलक्क परेको कपाल, चाउचाउझैँ बङ्ग्याई
‘बोल–बम बोल–बम’ बर्बराउँदै
बाटाभरिका पुरुषहरुको रमिता बन्छौ
बाबाधाम पुगी शिवजीको पूजा गरी
पुनः बोल बम चिच्याउँदै घरमा आई
मीठामीठा परिकार बनाई खान्छौ
अनि फेरि फुर्ती लाउँछौ तिम्रै लागि व्रत बसेको
हेर, यस्तो ढर्रा र भ्रममा फस्दै नफस
भो प्रिय मेरा लागि व्रत बस्दै नबस ।

अबको केही दिनपछि भदौ आउँछ
तिम्रो व्रतको अर्को इपोसोड पुनः सुरु हुन्छ
एक दिने तीजको व्रतका लागि
एक महिने पार्टी सुरु गर्छौ
पालैपालो साथीकामा गई डिनर खान्छौ
कम्मर भाँच्चिने गरी नाच्छौ, रमाइलो गर्छाै
काम लगाउँदा पिँडौला कस्तो गल्या भन्छौ 
गहना–गुरिया, गोल्डेनको सारी 
प्रदर्शन गर्ने अवसर पारी 
थुतुनो चुच्चो पारी गरेको सेल्फी पोस्टको
लाइक र कमेन्ट छिनछिनमै गर्छौ


घरमा आई 
न छोराछोरी, न त श्रीमानतिर हेर्छौ
‘कस्तो फनन्न घुमायो’ भनी नचाहिँदो स्वाङ पारी 
थाकेको छु है भनी कोल्टेपरी सुत्छौ
‘ब्रतको दिन सक्दिनँ खाना बनाउन’ भन्दै 
उल्टै ङ्याङ ङ्याङ गर्छौ 
अनि पुनः तिम्रै आयुको लागि व्रत बसेकी भन्छौ
नाईं प्रभु मलाई लामो आयु चाहिन्न
मलाई केवल तिमीसँग बाँच्न पाए पुग्छ
हेर व्रतको जिद्दी अब कस्दै नकस
भो प्रिय मेरा लागि यो व्रत बस्दै नबस ।


के औँसी, के एकादशी
म दिनभरि गोरुझैँ जोतिने
तिमी सत्सङमा जान किरिम पाउडरमा पोतिने
आइतबार–सूर्य
सोमबार–शंकर
मङ्गलबार –गणेश
सात बारे सप्ताहमा सातै बार व्रत बस्छौ
देवताहरुको पूजाआजामा व्यस्त 
पाण्डाहरुको प्रवचनमै मस्त
आफू घर सबै नै बिर्सिसक्यौ प्रिय
हेर, यस्तो व्रतको भ्रममा पर्दै नपर 
आइन्दा प्रिय मेरो लागि व्रत बस्दै नबस ।


तिम्रो यो धारावाहिक व्रत शृङ्खला देख्दा
हाम्रो सुन्दर घर भत्किनै लाग्दा
छोराछोरीले कतै तिम्रो मुहार बिर्सेलान्
घिउ र नैवेद्यको गन्धले 
छिमेकीले समेत पाखण्डीको पोई भन्न थालिसके 
बरु यो सब रोकी घर सम्हाल्न कम्मर कस
यो व्रतको अनिश्चित इपिसोडमा फस्दै नफस
भो प्रिय अबदेखि मेरो लागि व्रत बस्दै नबस 
व्रत बस्दै नबस !

बालगङ्गा, हरिवन–१० सर्लाही 
हाल ट्ठ जापान 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप