शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध

शुक्रबार, २७ असार २०७६, १३ : ०६
शुक्रबार, २७ असार २०७६

ओखलढुंगा– लगातारको वर्षाका कारण सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने भँडारे खोलामा आएको बाढीका कारण आजदेखि सिद्धिचरण राजमार्गमा सवारी आवागमन ठप्प भएको हो । 

सगरमाथा क्षेत्रको प्रवेशद्वारमा पर्ने भँडारेको भलका कारण सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु भएर राजधानी र तराईका जिल्ला जाने/आउने यात्रु अलपत्र परेका छन् । ठाडो खोलामा आएको बाढीले सडक अवरुद्ध पारेपछि सयौँ सवारीमा सवार हजारौँ यात्रु अलपत्र परेको सवारी चालक प्रशान्त केसीले बताए । ‘हिजोदेखि बाटैमा बस्नुपरेको छ । होटल पनि भरिभराउ छन् । यात्रुलाई कहाँ के खुवाउने कहाँ राख्ने भन्ने समस्या भइसक्यो’, चालक केसीले भने, ‘उहाँका अनुसार खोलामा लेदोसहितको भल बढेको छ ।’ 

भँडारेमा सडक अवरुद्ध भएपछि मितेरी भञ्ज्याङ र टोक्सेलसम्म दुईतर्फ सयौँ सवारी रोकिएका छन् । त्यस्तै उदयपुर र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोलाको बाढीका कारण काठमाडौंका लागि छुटेका सवारी घुर्मी र टोक्सेलमै रोकिएका छन् । सवारी र यात्रुको चापका कारण त्यस क्षेत्रका होटलहरुमा खाना खाजासमेत नपाउने अवस्था आएको स्थानीयवासी बालेन्द्र अधिकारीले बताए । 

थोरै खर्च बोकेर यात्रामा निस्किएका यात्रु अभावमा गुज्रिएका छन् । ‘बेलुका घर पुगिएला भनेर पैसा धेरै नबोकी हिँड्यो’, यात्रु सुस्मिता राईले भने, ‘अब त चाउचाउ खाने पैसा पनि सकियो । साह्रै बिजोग भो यात्रा ।’ सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुबाट राजधानीका लागि छुट्ने सवारी शुक्रबार कम मात्रै छुटेका छन् । 

जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लको नेतृत्वमा सरोकारवालाहरुको टोली सडक सञ्चालन गराउन त्यसतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निरन्तरको वर्षाका कारण ओखलढुङ्गाका अन्य कच्ची सडकसमेत अवरुद्ध भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप