बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सडक निर्माणका क्रममा मान्छे डुबाउने गहिरा खाडलः खाल्डोमा मान्छे डुब्ने त्रास

शुक्रबार, २७ असार २०७६, १० : ३७
शुक्रबार, २७ असार २०७६

झापाको मेचीनगर–१३ स्थित चारआलीमा सडक किनारमा पानी निकासका लागि भन्दै लापरवाहीपूर्वक खनिएका गहिरा खाडल नपुरिँदा ठूलो दुर्घटना हुने सम्भावना बढेको छ । केचना–चारआली मार्गअन्तर्गत चारआलीको दक्षिण सडकको पूर्वी किनारमा मान्छे डुबाउने गहिरा खाडल सडक निर्माणकै क्रममा खनिएका थिए ।

नालीको नाममा खाडल खनिएको महीनौँ भइसक्दासमेत न त ढल निकास र ढक्कनको व्यवस्था गरिएको छ, न त खाडल नै पुरिएका छन् । बर्खा लागेसँगै ती खाडल भरिएकाले बालबालिका मात्र होइन, ठूलै मान्छे पनि डुब्ने त्रास बढेको स्थानीय पुण्यप्रसाद न्यौपाने बताउनुहुन्छ । ढल निकासको प्रबन्ध नगरिएको र बर्खामा दुर्घटना बढ्ने सम्भावना बढेको भन्दै स्थानीयवासीले सरकारी निकायसँग तत्काल समस्याकोे समाधान खोज्न माग गरेका छन् ।

पुण्यप्रसाद न्यौपानेको नेतृत्वमा सयौँ स्थानीयवासीले मेचीनगर नगरपालिको वडा नं १३ को कार्यालय र डिभिजन सडक कार्यालय विर्तामोडमा मागपत्र पेश गरेका छन् । मागपत्रमा नाली खनिएको खाडलमा केटाकेटी डुब्ने अवस्था सिर्जना भएको विषयमा नगरपालिका र सडक कार्यालयको ध्यानाकर्षण गरिएको छ । स्थानीय टोल संयोजक हर्कबहादुर भट्टराईले नालीको निर्माण गर्दा सडकको सतहलाई ध्यानमा राख्नसमेत माग गरेका छन् । 

यसैबीच, चारआलीका सन्तोष न्यौपानेले आफ्नो घर अगाडिको समथर भाग डोजरले खोतलेर पुल लगाउनुपर्ने गरी खाल्डो खनिएकामा आपत्ति जनाएका छन् । “दिउँसो हामी घरमा थिएनौँ”, सामाजिक एवं राजनीतिक व्यक्तित्व न्यौपानेले घटना सुनाउँदै भने, “बेलुका पुग्दा त घर पस्ने बाटोमा हात्ती डुब्ने जत्रो खाल्डो खनिएको पायौँ ।”

बिहान सरासर हिँडेर पुग्न सकिने घरमा बेलुकादेखि पुल लगाउनुपरेको न्यौपानेको गुनासो छ । न्यौपाने र उनकै छिमेकीको घर अगाडि मात्र डोजर लगाएर खाल्डो खनिएको देखिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप