शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायती तेल ट्याङ्करमा भएको आक्रमणबारे बोल्यो इरानी सेना

बिहीबार, २६ असार २०७६, १७ : ०३
बिहीबार, २६ असार २०७६

तेहरान– इरानको क्रान्तिकारी गार्ड (सेना) ले बेलायती तेल ट्याङ्करलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ । बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ । 

इरानी गार्डद्वारा जारी विज्ञप्तिमा विगत २४ घण्टामा बेलायती समेतका कुनै पनि जहाजमाथि आक्रमण नगरिएको उल्लेख छ ।

बेलायतले बिहीबार वक्तव्य प्रकाशन गरी तीन वटा इरानी डुङ्गामा आएका सशस्त्र समूहले अरब सागरमा बेलायती तेल ट्याँकरमा आक्रमण प्रयास गरेको दाबी गरेको थियो । बेलायती युद्धपोत एचएमएस मोन्ट्रोजले इरानी आक्रमणलाई निस्तेज बनाएको पनि बेलायतको भनाई छ ।

विदेशी जहाजलाई नियन्त्रणमा लिन आदेश दिइएको भए इरानी गार्डले कुनै पनि विदेशी जहाजलाई ‘तत्कालै, निर्णायक र तिब्रता’ का साथ गर्न सक्ने इरानले जनाएको छ ।

जिब्राल्टरको तटीय क्षेत्रबाट गत जुलाई ४ मा इरानी तेल ट्याँकरलाई बेलायतले नियन्त्रणमा लिएपछि दुबै देशबीच तनाब जारी छ । करिब २० लाख ब्यारेल तेल बोक्ने क्षमताको ग्रेस १ नामको तेल ट्याँकर बेलायती रोयल मरिनको सहयोगमा जिब्राल्टरको भन्सार र प्रहरीले नियन्त्रणमा राखेको छ ।

इरानी सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै इरानी राष्ट्रपति रौहानीले बेलायतले होर्मुजको जलक्षेत्रमा असुरक्षा बढाएको र त्यसको नतिजा बेलायतले भोग्नुपर्ने चेतावनी दिएका छन् । 

सोमबार मात्र इरानका रक्षामन्त्रीले बेलायती कदमको प्रतिबाद गरिने बताएका थिए । इरानी तेल ट्याँकरको नियन्त्रण सामुद्रिक डकैतीको संज्ञा दिँदै इरानका ब्रिगेडियर जनरल अमिर हतामीले यसलाई आफूहरुले कहिल्यै स्वीकार्न नसक्ने र त्यसको प्रतिकार गरेरै छाड्ने चेतावनी दिएका छन् । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप