बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रतिबन्धपछि आक्रामक प्रहरी : विप्लवका ८ कार्यकर्ताले ज्यान गुमाए, ५७९ जना समातिए

बिहीबार, २६ असार २०७६, १२ : ००
बिहीबार, २६ असार २०७६

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आपराधिक क्रियाकलाप बढाउँदै लगेको निष्कर्ष निकाल्दै सरकारले फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गर्यो ।

विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि खलल पार्ने काममा उनीहरु आक्रामक रुपमा लागेको भन्दै प्रतिबन्ध लगाएको सरकारले बताएको थियो ।

राज्यले वार्तामा बोलाउँदा पनि नआएपछि प्रतिबन्ध लगाउनुको विकल्प नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार विभिन्न सार्वजनिक कार्यक्रममा बोल्दै समेत आएका छन् ।

पछिल्लो समय ललितपुरको नख्खुमा एनसेल कार्यालयमा बम आक्रमणका क्रममा एक जनाको मृत्यु भएपछि विप्लव समूहमाथि कारबाही नगरेको भन्दै सरकारमाथि दबाब बढेको थियो । उक्त घटनापछि सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगायो ।

प्रतिबन्धपछि प्रहरी विप्लव नेतृत्वको नेकपामाथि आक्रमक देखिएको छ । प्रतिबन्धअघि र प्रतिबन्धपछिका केही तथ्याङ्कहरुले सो कुरा पुष्टि गर्छ ।

प्रतिबन्धअघि विप्लवका १९० जना नेता÷कार्यकर्ता पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यो २०७५ वैशाखदेखि फागुन २८ गतेसम्मको तथ्याङ्क हो । पक्राउ परेका १९० जनामध्ये १७२ जनाबिरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रहरीका अनुसार प्रतिबन्धपछि भने (फागुन २८ गतेदेखि असार २५ गतेसम्म) विप्लवका ५७९ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । तीमध्ये ५३६ जनाबिरुद्ध मुद्दा दर्ता भएको छ । जसमा ८७ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् भने ७० जना अनुसन्धानको क्रममा रहेका छन् । ३९ जना सोधपुछपछि छुटेको र ३८३ जना मुद्दा दर्ता भइसकेपछि छुटेका छन् ।

यसबीचमा ३५२ जना विप्लव नेतृत्वको नेकपा परित्याग गरेर अन्य पार्टीमा प्रवेश गरेको समेत पाइएको छ ।

प्रतिबन्धपछि ८ जना विप्लव कार्यकर्ताले ज्यान गुमाए

नेपाल प्रहरीको तथ्याङ्कअनुसार प्रतिबन्धपछि हालसम्म ८ जना विप्लव कार्यकर्ताले ज्यान गुमाएका छन् । प्रहरीको कारबाहीमा परी ३ जना र बम विस्फोटमा परी ५ जनाले ज्यान गुमाएका हुन् । यस्तै ७ जना घाइते भएका छन् ।

प्रहरीको कारबाहीमा परी सर्लाहीको लालबन्दीमा असार ५ गते एक जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा विप्लव नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल रहेका थिए । नेकपाले यसलाई गैरन्याययीक हत्या भनिरहँदा गृहमन्त्री रामबहादुर थापाले भने पौडेलको सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा नै मृत्यु भएको बताएका छन् ।

यस्तै, भोजपुरमा हालसम्म दुई जनाले ज्यान गुमाएका छन् । प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको जेठ ७ गते मृत्यु भएको हो । टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जंगलमा प्रहरीको गोली लागेर घाइते उनको उपचारको क्रममा बीपी स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरेको मृत्यु भएको दाबी गरेको छ । तर, विप्लव समूहले भने प्रहरीको दाबीको खण्डन गर्दै आइरहेको छ ।

यस्तै असार २५ गते प्रहरीसँगको मुठभेडमा विप्लवका विप्लव समूहका जिल्ला नेता इन्चार्ज नीरकुमार राईको ज्यान गएको छ । जिल्लाको शनिबारे भन्ने स्थानमा रहेका पानधारे होटलमा उक्त घटना भएको थियो । सो घटनामा प्रहरी जवान सञ्जिव राईको पनि गोली लागेर मृत्यु भएको छ । अर्का प्रहरी जवान खोमनाथ भट्टराई घाइते छन् । 

यस्तै जेठ १२ गते सुकेधारा र अनामनगरमा अपरान्हतिर बम विस्फोट भयो । सुकेधारा बम विस्फोटमा ५ जनाको मृत्यु भयो भने अनामनगरमा एक जनाको मृत्यु भयो । बम विस्फोटमा नेकपाका ५ जनाले ज्यान गुमाए भने एक जना सर्वसाधारणले पनि ज्यान गुमाए । सुकेधारा विस्फोटको घटनामा ज्यान गुमाउने नेकपा कार्यकर्ताहरुमा विभुराम विक भन्ने दिपेन विक, निरन्तर मल्ल, गोकुल रानामगर, रामकुमार श्रेष्ठ र महावीर छन् । श्रेष्ठ र महाविरको उपचारका क्रममा मृत्यु भएको हो ।

अनामनगरको घट्टेकुलो विस्फोटमा भने प्रज्वल शाहीको मृत्यु भएको हो । उनी विप्लव निकट विद्यार्थी संगठनका सीटीईभीटी अध्यक्ष समेत हुन् । सुकेधारा विस्फोटमा अन्य तीनजना घाइते भएका थिए भने घट्टेकुलो विस्फोटमा एकजना घाइते भएका थिए ।

सोही दिन थानकोटमा पनि बम विस्फोट भएको थियो । विस्फोटमा विक्रम लामा र बुद्ध लामा घाइते भए । उनीहरुसमेत विप्लवकै कार्यकर्ता रहेको प्रहरी दाबी छ । उनीहरुले मोटरसाइकलमा बम बोकेर हिँडेको अवस्थामा विस्फोट भएको प्रहरीको भनाइ छ ।

हतियार बरामद

यसबीचमा प्रहरीले विप्लव नेता–कार्यकर्ताहरुको साथबाट २३ थान हतियार समेत बरामद गरेको छ । (A.M.16-A2-१ थान, L.M.G. राईफल– १ नाल, SLR-१ थान, ३०३ राईफल–३ थान, SMG-२ थान, Pistol- ७ थान, Revolver-३ थान, घरेलु हतियार (५ थान)  बरामद गरेको हो । यस्तै ४१७ राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । डेटोनेटर ४, डेटकर्ट ३१ समेत बरामद गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

१८ ठाउँमा बम विस्फोटनका घटना

विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्द लगाएपछि पार्टीले देशका १८ ठाउँमा बम विस्फोट गरेको प्रहरीले जनाएको छ । यस्तै १० ठाउँमा आगजनी तथान तोडफोडमा घटना घटाएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

अवैध १९८ र वैध ३२२ हतियार बुझाए

नेपाल प्रहरीको तथ्याङ्कमा विप्लव कार्यकर्ताहरुले हालसम्म ५ सय ११ थान हतियार बुझाएका छन् ।

गृह मन्त्रालयले फागुन ३० गते जारी गरेको सूचनाको आधारमा ४८३ जनाले हतियार बुझाएका थिए । यस्तै फागुन ३० गतेको सूचनाअवधि पश्चात गृह मन्त्रालयले ३५ दिने सूचना जारी गरेपछि २८ जनाले हतियार बुझाएको पाइएको छ । कुल बुझाइएका हतियारमध्ये १८९ अवैध हतियार र ३२२ वैध हतियार रहेको प्रहरीले जनाएको छ । हालसम्म ९९३ राउण्ड गोलीसमेत बरामद भएको छ । जसमा ५०० अवैध र ४९३ वैध रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप