दसैँ अगाडि नै मुख्य सहरमा फोरजी सेवा सुरु गर्नेछौँ : प्रवन्धनिर्देशक डिल्लीराम अधिकारी
काठमाडौँ । आधुनिक युग डिजिटल वल्र्डको अवधारणमा अघि बढिरहेका बेला यतिखेर विश्वमा उच्चतम प्रविधि तथा टेक्नोलोजीको प्रयोग र माग दिनानुदिन बढिरहेको छ । आजको युगलाई नै प्रविधिमैत्री तथा यान्त्रीकरण गर्न विश्व लालायित छ । यस्तो अवस्थामा सूचना तथा आमसञ्चार माध्यमको महत्त्वलाई कम आँकलन सकिँदैन । सूचना तथा सञ्चारको भूमिका अतुलनीय छ । यसलाई आजको विश्वले आत्मसात गरिसकेको अवस्था पनि हो । यसमा टेलिकम्युनिकेसन प्रविधिलाई विशेषतः प्रमुख मानिन्छ ।
विश्वमा सन् १८८० कै दशकमा आविष्कार भइसकेको टेलिफोन नेपालमा भने ढिला गरी सन् १९६० को दशकमा मात्र भित्रिएको मानिन्छ । वि.सं. २०३२ सालमा आधिकारिक रूपमा नेपाल टेलिकम्युनिकेसन कर्पोरेसन (एनटीसी)को स्थापना भएपश्चात मात्र टेलिकम्युनिकेसनको सुविधा सर्वसाधारण जनतामा पुगेको थियो । आज यही कम्पनीले नेपालको एक मात्र सरकारी टेलिकम्युनिकेसन कम्पनीका रूपमा सेवा प्रवाह गरिरहेको छ ।
तर पछिल्लो समय टेलिकम्युनकेसन क्षेत्रमा आएको उतारचढावमा राष्ट्रकै दूरसञ्चार नेपाल टेलिकमको अवस्था भने खस्कँदो छ । टेलिकम्युनिकेसनमा निजी क्षेत्रहरुको प्रवेशसँगै सर्वसाधारण जनताले उच्चतम् सेवा सुविधा पाए पनि नेपाल टेलिकमको प्रतिस्पर्धा भने कमजोर देखिएको हो । यसै सन्दर्भमा टेलिकमको समग्र अवस्था र भावी रणनीतिका बारेमा हालसालै मात्र नेपाल टेलिकमको प्रवन्धनिर्देशक बनेका डिल्ली राम अधिकारीसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले गरेका विशेष कुराकानी :
तपाईंले नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी) जस्तो महत्त्वपूर्ण पद सम्हाल्नुभएको छ । कस्तो अनुभूति भइरहेको छ । यस संस्थालाई कसरी नियाली रहनुभएको छ ?
अवश्य पनि अहिले म नेपाल टेलिकम जस्तो राष्ट्रकै दूरसञ्चार कम्पनीको प्रवन्ध निर्देशकको जिम्मेवारीमा छु । योभन्दा अघि पनि विभिन्न सेक्टर, डिभिजन र डिपार्टमा रहेर काम गरिसकेको छु ।
वि.सं. २०५९ मा टेलिकम इन्जिनिरका रूपमा नेपाल टेलिकम प्रवेश गरँे । त्यसपछि लिखित, मौखिक परीक्षा उत्तीर्ण हुँदै यस संस्थाको विभिन्न पदमा रहेर काम गर्दै आएँ । दुई वर्षअघि मात्र खुला प्रतिस्पर्धाबाटै टेलिकमको १०औँ पदमा रहेर काम गरेँ । अहिले प्रमुख जिम्मेवारीको पदमा छु । काम गर्दा सहजता असहजता भन्ने कुरा त भइ नै हाल्छन् तर मैले चुनौतीलाई पनि अवसर देखेको छु ।
सामान्य कर्मचारी हुनु र जिम्मेवार व्यक्ति हुनु फरक कुरा रहेछ । पहिले पहिले म एमडी जस्तो पद भन्थेँ । सबैभन्दा माथिको पद भनेको एमडी नै हो जस्तो लाग्थ्यो । तर त्यो बुझाइ गलत रहेछ । वास्तविकता त एमडी वा जिम्मेवार पद त सबैभन्दा तल पो हुने रहेछ । अहिले म त्यो अनुभव गर्दै छु । जिम्मेवार व्यक्ति वा पद त उल्टो पिरामिड जस्तो हुने रहेछ, जहाँ जिम्मेवारी बोध गर्नुपर्ने र थिचिनुपर्ने रहेछ । यो अन्तर्राष्ट्रिय सङ्घ सङ्गठन तथा कम्पनी सञ्चालकको नियम पनि हो ।
सरकारी संस्था हुँदा हरेक काम कारबाहीमा सरकारी प्रावधानको पालना गर्नुपर्ने रहेछ । सरकारी प्रावधानको बर्खिलाप जान सकिँदो रहेन छ । कम्पनी सुधारका नयाँ काम कारबाही, कार्य योजनादेखि कर्मचारी हायर एन्ड फायरमा समेत सरकारी प्रावधानले रोक्ने रहेछ । जसले गर्दा उचित समयमा उचित निर्णय गर्न सकिँदैन । त्यसले सिङ्गो कम्पनीलाई प्रभाव पारेको हुन्छ । जुन अहिले नेपाल टेलिकमले भोगिरहेको छ ।
जाहाँसम्म टेलिकमको सवाल छ, यहाँ धेरै क्षेत्रको सुधारको खाँचो छ । अहिले म यतैतिर केन्द्रित छु । यहाँको कर्मचारी सङ्गठनको व्यवस्थापनमा समस्या छ । कर्मचारीमा दक्षता र कार्य सक्षमताको समस्या छ । त्यस्तै; नयाँ सोच, नयाँ लक्ष्य र कार्य योजनाको मार्ग निर्देशन गर्नुपर्ने छ । त्यसपछि नेपाल टेलिकमलाई माथि उठाउन सकिन्छ भन्ने मलाई लागेको छ ।
राष्ट्रकै गौरव, मुलुककै पहिलो र एक मात्र सरकारी दूरसञ्चार नेपाल टेलिकम सेवा र प्रभावकारितामा किन पछि हट्दैछ ? पछि आएका निजी कम्पनीहरुले छलाङ मारिरहँदा यो कम्पनी किन सुस्ताइरहेको छ । के साँच्चै टेलिकमले निजी क्षेत्रलाई अवसर दिएकै हो त ?
यस्तो हुँदो रहेछ । सरकारी संस्था हुँदा हरेक काम कारबाहीमा सरकारी प्रावधानको पालना गर्नुपर्ने हुन्छ । सरकारी प्रावधानको बर्खिलाप जान सकिँदैन । कम्पनी सुधारका नयाँ काम कारबाही, कार्य योजनादेखि कर्मचारी हायर एन्ड फायरमा समेत सरकारी प्रावधानले रोक्ने हुन्छ । जसले गर्दा उचित समयमा उचित निर्णय गर्न सकिँदैन । त्यसले सिङ्गो कम्पनीलाई प्रभाव पारेको हुन्छ । जुन अहिले नेपाल टेलिकमले भोगिरहेको छ ।
विशेषतः नेपाल टेलिकमभित्र कर्मचारी तन्त्रमा ठूलो समस्या छ । जुन पहिलेदेखिकै समस्या हो । टेलिकममा पहिलेको लेगासी नेटवर्क (टेलिकम आउनुअघिको टेलिकम्युनिकेसन सेवाहरु)बाट आएका कर्मचारीहरु छन् । ती कर्मचारी पङ्कक्तिमा दक्षताको कमी छ । अहिलेको प्रतिस्पर्धी बजारमा घरघरमा गएर सेवा प्रवाह गर्नुपर्ने चुनौतीका बीच यस्ता कर्मचारीबाट कस्तो अपेक्षा लिने ?
निजी क्षेत्रले त आफ्ना सबै क्षेत्रलाई चुस्तदुरुस्त राखेको हुन्छ । सबै संयन्त्रलाई परिचालन गरेको हुन्छ ।
लगानीका हिसाबले पनि निजी क्षेत्रमा ठुल्ठुला मल्टी नेसनल कम्पनीहरु आएका छन् । जसले सेवा तथा प्रविधि विस्तारमा प्रयाप्त लगानी गर्न सक्छन् । यसले उनीहरुको विकास छिटो हुन्छ । जुन स्वाभाविक पनि हो । तर यसो भन्दैमा हामी नेपाल टेलिकमले चुपलागेरबसेको स्थिति होइन। हामीले पनि आफ्नो समयानुकूल सेवा तथा सुविधालाई विस्तार गर्दै लगेका छौँ ।
हामीले फरजी ल्याउन केही ढिला गरेकै हौँ । जुन काम एक वर्षअघिनै सुरु भइसक्नुपर्ने थियो, त्यसो हुन सकेन । तर केही समयपछि भए पनि काम सुरु भइसकेको छ । फोरजीको काम अहिले द्रुत गतिमा अघि बढिरहेको छ । हामीले करिब ४० प्रतिशत फोरजीको काम पूरा गरिसकेका छौँ ।
निजी टेलिकम्युनिकेसनको तुलनामा नेपाल टेलिकमको सेवा अर्थात् नेटवर्किङ समस्या किन बढी आउँछ ? दुर्गममा मात्र होइन सुगम भनिएका ठाउँहरुमा समेत यस्तो समस्या देखिने गर्छन् । यसो हुनका पछाडिका कारण केके छन् ?
यी सबै हाम्रो बुझाइ र गराइमा भर पर्ने कुरा हुन् । कति ठुलठुला नेटवर्किङ कम्पनीमा समेत समस्या आउने गर्छन् । जस्तो म एमडी भएर आइसकेपछि मात्र विश्वकै ठूलो र धेरै प्रयोगकर्ता रहेका फेसबुक, ट्विटर, वाट्स्एप जस्ता सेवामा तीन तीन पटक समस्या आइसकेको छ । अस्ति भर्खर मात्र पनि फेसबुकमा करिब तीन घण्टा समस्या आएको थियो । यस्तो समस्या धेरैमा आउने गर्छन् । फेरि पावर, क्षमता र आवश्यकता भनेको असीमित हुन्छन् । यसका दायरा जति बढायो उति आवश्यकता र माग बढ्दै जान्छ ।
हामीले यो कुरा राम्रोसँग बुझेका छौँ । मुख्यतः नेपाल टेलिकम देशकै दूरसञ्चार हो । यसले व्यापारलाई भन्दा पनि सेवालाई पहिलो प्राथमिकता दिन्छ । यसले काठमाडौँ उपत्यकाका सर्वसाधारणलाई टेलिकम्युनिकेसन सेवा दिन्छ र हुम्ला जुम्लाका सर्वसाधारण जनताको पहुँचमा समेत टेलिकम्युनिकेसन सेवा पुर्याउने लक्ष्य राख्छ । यो मानेमा हामी देशको सबै क्षेत्र कुना काप्चामा समेत सेवा विस्तार गर्ने लक्ष्य राखेका छौँ । जहाँ भौगोलिक विकटता, प्राविधिक जटिलता र स्रोत साधनको अभावका बीच केही समस्याको सामना गर्नुपर्ने हुन्छ ।
केही समयअघि मात्र हामीले रसुवाको गोसाइँकुण्डमा समेत दुईवटा टावर विस्तार गर्यौँ । जुन स्थानमा हाम्रो लगानी अनुुसारको आम्दानी हुँदैन तर पनि हामीले सेवा विस्तार गर्यौँ । अलिकति हामीप्रति जनताको अपेक्षा बढी छ । त्यसले गर्दा सामान्य समस्यामा धेरै नै भयो कि भन्ने हो ।
सेवाकै कुरा गर्नुपर्दा अहिले नेपाल टेलिकमले फोरजीको कामलाई अघि बढाइरहेको छ । जुन अरू निजी कम्पनीहरुले यसअघि नै विस्तार गरिसकेका छन् । विश्व बजारमा फाइभजीको प्रयोग भइसकेको बेला नेपाल टेलिकमले चाहिँ किन फोजीमै ढिलाइ गर्यो ? यसको कार्य प्रगतिको अवस्था के छ ?
हामीले फरजी ल्याउन केही ढिला गरेकै हौँ । जुन काम एक वर्षअघिनै सुरु भइसक्नुपर्ने थियो, त्यसो हुन सकेन । तर केही समयपछि भए पनि काम सुरु भइसकेको छ । फोरजीको काम अहिले द्रुत गतिमा अघि बढिरहेको छ । हामीले करिब ४० प्रतिशत फोरजीको काम पूरा गरिसकेका छौँ । जसमा कोर नेटवर्कको काममा ६० प्रतिशत पूरा भइसकेको अवस्था छ । रेडियोएक्सेसको काम पनि ३० प्रतिशको पूरा भइसकेको छ । अहिले उपकरणका सामान आयात भएर जडानका क्रममा छन् । जडानका क्रममा रहेकाले यसमा पावर सिस्टमका डिभाइसहरु जडान गर्नुपर्ने, ट्रान्समिसन सिस्टमहरु जडान गर्नुपर्ने, साइटहरुलाई रेडिनेस गराउनुपर्ने, साइटको अपडेट गराउनुपर्ने लगायतका काम छन् । यी काम अहिले भइरहेका छन् । कुनै प्राविधिक तथा वातावरणीय प्रभाव वा समस्या नआए सम्भवतः दसैं अगाडि नै देशका मुख्य–मुख्य सहरमा फोरजीलाई कमर्सियलाइज गरिसक्छौँ ।
सुरुमा हामीले फोरजीको सानो परीक्षण गरेका थियौँ । पछि त्यसको कामलाई अगाडि बढाउने लक्ष्य राख्दाराख्दै पनि विविध कारणबस अघि बढ्न सकेन र गएको एक वर्षमा यसैको तयारीमा हाम्रो समय गुज्रियो । अहिले हामीले सुरुवात गरेका छौँ ।
जहाँसम्म निजी क्षेत्रको कुरा छ, मैले अघि पनि भनिसकेँ उनीहरुसँग स्रोत साधनको पर्याप्तता छ । अन्तर्राष्ट्रिय स्तरमै ठूलो लगानी छ र प्रविधिहरुसँग सीधै पहुँच विस्तार गर्न सक्ने अवस्था छ । तर हामीलाई सरकारी प्रावधान तथा सार्वजनिक खरिद ऐनले त्यस्तो गर्न दिँदैन । जसले गर्दा हामीभन्दा अघि उनीहरुले फोरजीलाई विस्तार गर्न सफल रहे ।
यता, फाइभजीमा भने अहिल्यै नेपालले सोच्ने बेला भएको छैन । यसका लागि बजारको माग र आवश्यकतालाई पर्खनुपर्छ । विश्वका विकसित भनिएका देशहरुले समेत फाइभजीलाई पूर्णतः कार्यान्वयनमा ल्याइसकेका छैनन् । अमेरिका लगायत युरोपेली मुलुकले समेत फाइभजीलाई कर्मसियलाइज गरिसकेका छैनन् । अहिले कोरिया र चीनका केही सहरमा मात्र फाइभजीलाई कर्मसियललाइज गरिएको छ । त्यो पनि भर्खभर्खर एक दुई हप्ता मात्र भएको छ । फाइभजी भनेको एकदम हाइ लेभलको सर्भिस हो । हामीले पनि फाइभजीलाई केही सहरहरुमा परीक्षणात्क रूपमा चलाउने योजना बनाएका छौँ । जुन हाम्रो सम्झौतामा छैन । तर त्यसका लागि नेपालले अहिल्यै हतारिहाल्ने बेला भइसकेको छैन । नेपाल जस्तो विकासशील देशले आफ्नो बजार, आवश्यकता र मागलाई हेर्नुपर्छ । यसका लागि लामो तयारीको खाँचोपर्छ ।
नेपाल टेलिकमले आफ्नै इन्फ्रास्टक्चर कम्पनी खडा गर्ने भन्ने कुरा उठेको थियो । यस विषयमा के भइरहेको छ ?
हामीले दुईवटा योजनालाई प्राथमिकतामा राखेका थियौँ । एउटा मोबाइल फाइनान्सियल कम्पनी र अर्कोमा इन्फ्रास्टक्चर कम्पनी स्थापना गर्ने रहेको छ । जहाँ सब्सिडेरी कम्पनी बनाउने र मोबाइल फाइन्यान्सिङ सर्भिस चलाउने रहेको थियो । जुन काम अहिले टेलिकमले गरिरहेको छ ।
यता इन्फ्रास्टक्चर कम्पनी स्थापना गर्ने र त्यसलाई टेलिकमले लिड गर्ने कुरा अहिले पनि योजनामै छ । यसमा सरकारको निर्देशन पर्खिएको छ । यदि यो पूरा भए अहिले देखिएका समस्या धेरैहदसम्म हल हुने छ । यसले बजारमा रहेका धेरै प्रकारका फाइबर तथा टेलिकम्युनिकेसनल पुर्वाधारमा एकरूपता आउने, डुब्लिकेसनको समस्या हट्ने र इन्फ्रास्टक्चर कम्पनी स्थापना भए स्वदेशी पैसा स्वदेशमै सञ्चित हुने हाम्रो बुझाइ हो र इन्फ्रास्टक्चर कम्पनी स्थापना भए स्वदेशी पैसा स्वदेशमै सञ्चित हुने हाम्रो बुझाइ हो ।
मेरो लक्ष्य भनेको नेपाल टेलिकमलाई सबैभन्दा अग्रणी संस्था बनाउने लक्ष्य हो । त्यो पनि सबै कुराले । आर्थिक, प्राविधिक, जनशक्ति र स्रोत साधनले ।
यदाकदा नेपाल टेलिकमले आफू एक्लै जान नसक्ने अवस्था आएको र सुधारका निम्ति स्ट्राटेजिक पार्टन खोज्न थालेको कुरा आएको छ । टेलिकमकै अध्यक्षसमेत रहेका सूचना तथा सञ्चार मन्त्रीले सार्वजनिक कार्यक्रममै यस्तो उद्घोष गरेका पनि थिए । वास्तविकता के हो ? के साँच्चै नेपाल टेलिकम पार्टनर खोज्दै हो त ?
स्ट्राटेजिक पार्टन ल्याउने कुरा धेरैअघिदेखि बहस भएको विषय हो । स्ट्राटेजिक पार्टनर ल्याउँदा कसरी ल्याउने, कुन रूपमा ल्याउने, सेयरमार्फत ल्याउने कि सीधै ल्याउने भन्ने विषय अन्योलमै छ । त्यसमा विभिन्न मोडल छन्, त्यसको निक्र्योल गरेर मात्र अन्तर्राष्ट्रिय बोलपत्रको आह्वान गर्नुपर्ने हुन्छ । त्यसका लागि डीडीए तयारी भएको छ तर निर्णयमा पुगिसकिएको छैन । यसमा बहस चलि नै रहेको छ । यो विषय पूर्णतः नेपाल सरकारको हातको कुरा हो । सरकारले चाहे आउन सक्छ ।
अहिले नेपाल टेलिकमको अवस्था के छ ? नाफा घाटा के भइरहेको छ ?
टेलिकम अहिले पनि नेपाल सरकारको लागानी भएका सँस्थाहरुमा उच्चतम प्रतिफल दिने संस्था हो । समयअनुसार सेवा तथा प्रविधिको बजारको हिस्सा सबै लिन भने नसकेकै हो । तर पनि हाम्रो सेवा र उपस्थिति अरूको भन्दा कमी छैन । हामी निरन्तर अग्रगमनतर्फ नै छौँ । आज पनि हामी देशकै सबैभन्दा बढि प्रयोगकर्ताहरु भएको टेलिकम्युनिकेसन कम्पनीकै रूपमा रहेका छौ । झन्डै २ करोडको हारहारीमा एनटीसी मोबाइल प्रयोगकर्ताहरु रहेका छन् । त्यसबाहेक एडीएसएल सेवा दिनेमा त नेपाल टेलिकम एउटै नै हो । जति फाइदामा कम्पनी जानुपर्ने थियो त्यो भने हुन सकिरहेको छैन । आजको प्रतिस्पर्धी बजारमा स्रोत, साधन र कर्मचारीतन्त्रको व्यवस्थापन टेलिकमको प्रमुख चुनौती बनेको छ ।
यीबाहेक टेलिकमलाई तीन कुराले प्रभाव पारिरहेको छ । जसमा अहिले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन सेवाबाट रेभेन्यु एकदम कम आइरहेको छ । जहाँ भाइवर, म्यासेन्जर, वाट्सएप जस्ता एप्सहरुले टेलिकम्युनिकेसनको बजार गुमाइरहेको छ । जुन हाम्रो मात्र नभएर विश्वभरिका टेलिकम्युनिकेसनको साझा समस्या हो । यसले हाम्रो अन्तर्राष्ट्रि बजारको आम्दानी गुमेको छ । त्यसपछि हामीले गत वर्ष एडीएसएल महसुलदर एक हजारबाट ८०० सयमा घटायौँ तर एडीएसएल सेवालाई थप विस्तार गर्न सकेनौँ । जसले महसुलदर घटाउने तर ग्राहक सङ्ख्या बढाउन नसक्दा आम्दानीमा कमी आयो । र तेस्रोमा सामान्य पीएसटीएल फोनमा सामान्य गिरावट आएको छ । यसले टेलिकमको आयमा गिरावट आएको छ । यी समस्याले गर्दा टेलिकमको आम्दानी घटेको छ । तर हामी डाटा प्याक, भ्वाइस प्याक लगायत एफटीटीएच सेवामा सबल रहेका छौँ ।
अन्त्यमा आफ्नो कार्यकालमा नेपाल टेलिकमले के नयाँ पाउँछ ? तपाईंले कस्तो रणनीति लिनुहुन्छ ? केही सोच्नुभएको छ ?
अवश्य नै, मेरो लक्ष्य भनेको नेपाल टेलिकमलाई सबैभन्दा अग्रणी संस्था बनाउने लक्ष्य हो । त्यो पनि सबै कुराले । आर्थिक, प्राविधिक, जनशक्ति र स्रोत साधनले । अहिले सरकारले डिजिटल नेपालको परिकल्पना गरिरहेको छ । यस्तो अवस्थामा हामीले प्रविधिलाई अवलम्बन गर्नुपर्ने हुन्छ । त्यो नेपाल टेलिकममा पनि लागू गर्नुपर्ने छ । यहाँ कर्मचारी तन्त्रलाई दक्ष बनाउनु छ । त्यसका लागि आवश्यक तालिम प्रशिक्षणको व्यवस्था गर्ने योजनामा छु । त्यसपछि सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा सुविधालाई विस्तार गर्ने नै हो र गुणस्तरीय सेवा विस्तार गर्ने नै हो । त्यसमा मेरो पूर्ण ध्यान केन्द्रित छ । आउने वर्ष नै हामी फोरजीलाई कमर्सियलाइज गर्छौं । त्यसपछि बाँकी रहेका प्रविधिहरुमा लाग्ने छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा