बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बन्ने भयो काँग्रेस र राजपाबीच गठबन्धन

बुधबार, २५ असार २०७६, १५ : २३
बुधबार, २५ असार २०७६

काठमाडौं–नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन बन्ने भएको छ । साझा मुद्दामा सदनदेखि सडकसम्म एउटै मोर्चा बनाएर संंघर्ष गर्ने भन्दै दुई दलबीच सहमति भएको छ ।

असार २० गते काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको दुई दलबीचको छलफलले साझा मुद्दा बनाएर सदन र सडकको संघर्ष अगाडि बढाउने सहमति भएको बताइएको छ ।

 राजपा नेपालका अध्यक्षमण्डलका संयोजक अनिल झाले साझा मुद्दा र एजेण्डामा मिलेर संघर्ष गर्ने विषयमा काँग्रेससँग छलफल भएको स्वीकार गरे । 

‘सरकारमा रहेका दलहरुले राजपा नेपालले उठाएको मुद्दालाई वेवास्ता गरेको छ। जो प्रतिपक्षमा छ उसले साथ दिन्छ भने गठबन्धन बन्छ’ उनले भने, ‘सरकारमा रहेका दलले सेना परिचालन, मिडियासम्बन्धी विधेयकान राम्रो व्यवहार देखाएको छैन । लोकसेवा आयोगको विषयमा केही बोलिरहेको छैन ।’

लोकतान्त्रिक विधि, प्रकृया, समावेशी समानुपातिक प्रणाली कार्यान्वयन गर्नुको सट्टा सरकार जनताप्रति निरकुंश हुँदै गइरहेको दावी गर्दै संयोजक झाले समयको माग र बाध्यताका कारण गठबन्धन गर्ने निष्कर्षमा पुगेको बताए । 

सोहीअनुसार मंगलवार सर्लाही घटनाको विषयमा काँग्रेस र राजपाले एकसाथ सदन अवरुद्ध पारेको संयोजक झाले बताए । यस्तै बुधबारपनि बैठकको सुरुमा नै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । तर, कांग्रेस र राजपाका सांसदहरुले रोष्टम घेराउ गरि नाराबाजी गरिरहेकै समयमा सभामुख कृष्णबहादुर महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेईसौ विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएका थिए । 

सचिव योगीले नाराबाजी कै बीचमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए  । कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएका छन् । 

सत्तारुढ दल समाजवादी पार्टी, नेपालसँग एकीकरणका लागि वार्ता चलिरहेको बेला राजपा नेपाल र काँग्रेस नजिक हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

 समाजवादी पार्टीसँग एकीकारणका लागि लामो समयदेखि छलफल चलि रहेपनि हालसम्म कुनै नजिता ननिस्केपछि राजपा नेपालका नेताहरु संशकिंत भएका छन् । समाजवादी पार्टीले आफूहरुलाई एकताको नाममा अल्झाएको हो कि भन्ने महसुश हुन थालेको एक नेताले जानकारी दिए । 

समाजवादी पार्टी सरकारमा भएपनि राजपा नेपाललाई कुनै प्रकारको सहयोग भएको छैन । राजपा नेपालले उठाउँदै आएको मागबारे सरकारप्रति फोरम नेपालले दवाव बढाउनुपर्ने भएपनि चुपचाप बसिरहेको राजपा नेपालले निष्कर्ष निकालेको छ । 

राजपा नेपालका एक नेताले भने, ‘समाजवादी पार्टी,सरकार छाड्ने मनस्थितिमा छैन । तर, सरकारमा भएर पनि संविधान संशोधन, लाल आयोगको प्रतिवेदन, रेशम चौधरीको मुद्दा, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता लगायतका विषयमा सरकारमाथि दवाव बनाउनुपर्ने पर्ने हो । त्यो पनि गर्न सकेको छैन । आफू सरकारमा बस्ने अनि राजपा नेपालसँग एकीकरण गर्ने भनि हल्ला गरेर अल्झाएर राखेको छ ।’

यसैबीच मंगलबार बसेको राजपा नेपालको अध्यक्षमण्डलको बैठकमा राजेन्द्र महतोको आलोचना भएको छ । समाजवादी पार्टीसँग एकता हुने भनेर बाहिर हल्ला फैलिसकेको भएपनि पार्टीमा कुनै जानकारी नभएको भन्दै महतोको आलोचना भएको हो । महतो राजपाले गठन गरेको वार्ता टोलीको संयोजक हुन् । 

महतोले समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवसँग नियमित छलफल गरिरहेका छन् तर हालसम्म कुनै नतिजा ननिस्केको गुनासो नेताहरुले गरेका थिए । 

जवाफमा महतोले एकताबारे कुराकानी भएरहेपनि खासै प्रगति नभएको बताएको बैठकमा सहभागी एक नेताले बताए ।

सोही बैठकले काँग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ । 

 काँग्रेसका उपसभापति विमलेन्द्र निधिले साझा एजेण्डामा दुई पार्टी संसदमा एक ठाउँमा हुने भन्दै अन्य मुद्दाको विषमया कसरी अघि बढ्ने भन्ने विषयमा छलफलहरु भइरहेको बताए । उनले भने, ‘अहिले त्यसमा खासै कुनै प्रगति भएको छैन ।’

राजपा नेपालले कम्युनिस्ट पार्टीसँग सहकार्य गरेर यसअघि गठबन्धन बनाएको भएपनि काँग्रेससँग भने कहिल्यै गठनन्धन बनाएको थिएन।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप