बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहको सफलता : सुरक्षित सुत्केरी सङ्ख्या बढ्यो

बुधबार, २५ असार २०७६, १४ : ४७
बुधबार, २५ असार २०७६

–हेमन्त केसी 
जाजरकोट– दुर्गम बारेकोट गाउँपालिकामा पछिल्लो समय महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित ढङ्गबाट सुत्केरी गराउनेक्रम बढ्न थालेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नरहने र केही आर्थिक सहयोग पनि प्राप्त हुने भएकाले सुरक्षित ढङ्गबाट सुत्केरी गराउनेक्रम बढ्न थालेको हो ।

स्वास्थ्य संस्थाबाट नियमित गर्भ जाँच गराए रु ४०० तथा सुत्केरी भएमा रु एक हजार प्रोत्साहन रकमसमेत दिँदै आएको छ । गाउँपालिकाबाट थप रु एक हजार रकम थप गरे पनि दुई वर्षयता स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाको सङ्ख्या चारगुणाले बढेको बारेकोट स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताए ।

गाउँपालिका सञ्चालनपछि स्वास्थ्य संस्था व्यवस्थापन, महिला स्वास्थ्य स्वयंसेविकालाई महीनाको दुई हजार प्रोत्साहन रकम व्यवस्थापनलगायत कार्यक्रम सञ्चालन गरेपछि यो दर बढेको सिंहले बताए । पहिले घरमा नै असुरक्षित सुत्केरी हुने गरेका महिला पछिल्लो दुई वर्षयता स्वास्थ्य चेतना जागरुक भएपछि स्वास्थ्य संस्थामा आउने गरेको सिंहले बताए ।

स्वास्थ्य संस्थाभन्दा घरैमा असुरक्षितरुपमा सुत्केरी हुने महिलाको सङ्ख्या दुई वर्षअघि धेरै रहेको बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीले बताइन् । स्थानीय सरकार आएपछि महिलाको लागि विशेष कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ । पहिला महिला स्वास्थ्य संस्था नआएर घरमा नै असुरक्षित सुत्केरी हुने चलन थियो शाहीले भनिन् । 

भौगोलिक विकटता, चेतनाको अभाव, गरीबी, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नहुनुलगायत कारण महिला असुरक्षित सुत्केरी हुन बाध्य रहेको र कमै महिलाले मात्र स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी सेवा लिने गरेको शाहीको भनाइ छ । अहिले बारेकोटमा सडक सञ्जाल जोडियो, गाउँघरमै सहजै सरकारी सेवा उपलब्ध भएका छन् उपाध्यक्ष शाहीले बताइन् ।

स्वास्थ्य संस्था बाहिर असुरक्षित सुत्केरी हुने अधिकांश महिलाको ज्यान जोखिममा हुने गर्दथ्यो । अहिले बारेकोटमा मातृमृत्यु शून्य अवस्थामा रहेको छ । गत आर्थिक वर्ष बारेकोट गाउँपालिकामा ३०० महिलाले स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी सेवा पाएका थिए । चालू आवमा ५०६ गर्भवती महिलामा ३४८ जनाले स्वास्थ्य संस्थाबाट सुत्केरी सेवा लिएको बारेकोट स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताए ।

पहिले साविकका तीन गाविस सक्ला, रामीडाँडा, नायकवाडा, रोकायगाउँ गरी चार ठाउँमा स्वास्थ्य संस्था थिए । अहिले छ स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ सञ्चालित छन् । चार ठाउँमा प्रसूति केन्द्र सञ्चालनमा आएपछि बारेकोटका महिलाको स्वास्थ्य संस्थामा पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताएका छन् । 

बारेकोट–१ रामीडाँडाकी २२ वर्षीया देवीका नेपाली नियमित गर्भ जाँच नगराउने र व्यथाले चापेपछि मात्र अस्पताल जाने चलन भएको बताउँदै आफूले त्यो चलन तोडेको बताए । स्वास्थ्य संस्थामा गएपछि केही नगद पाइने, नून, तेल, साबुन, कपडा पाउने भएपछि आफू जस्तै धेरै महिला स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेको नेपालीले बताए । घरमै असुरक्षित सुत्केरी हुने प्रचलनले सुत्केरी महिलाको ज्यान जोखिममा रहने गरेको भन्दै अस्पताल तथा स्वास्थ्यमा गएर गर्भ जाँच तथा सुत्केरी हुनु महिलाका लागि फाइदाजनक रहेको नेपालीको भनाइ छ । 

सरकारले स्वास्थ्य संस्थाबाट नियमित गर्भ जाँच गराए रु ४०० तथा सुत्केरी भएमा रु एक हजार प्रोत्साहन रकमसमेत दिँदै आएको छ । जाजरकोटका स्थानीय तहले थप प्रोत्साहन रकम उपलब्ध गराउने गरेपछि घरमा नै असुरक्षित सुत्केरी हुने महिला अहिले अस्पताल तथा स्वास्थ्य संस्थामा आएर स्वास्थ्य सेवा लिने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप