अमेरिका र चीनबीच व्यापार वार्ता पुनः सुरु
वासिङ्टन– संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ । दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको चित्तबुझ्दो समाधानका लागि वार्ताको पहल शुरु भएको हो ।
अमेरिकाले चीनमाथि थप सामग्रीमा करवृद्धि गर्ने घोषणा गरेसँगै दुबै मुलुकबीच जारी वार्ता गत मे महिनामा एकाएक भङ्ग भएको थियो । अमेरिकी कदम लगत्तै चीनले पनि प्रतिशोध स्वरुप कतिपय अमेरिकी सामानमा करवृद्धि गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच गत जुन २९ मा जापानमा भेटवार्ता भएपछि अबरुद्ध व्यापार वार्ता पुनः थालनी गर्ने विषयमा सहमति भएको थियो । विश्वका २० औद्योगिक राष्ट्रहरुको शिखर सम्मेलन (जी२०) बैठकमा सहभागी हुन जापानको ओशाकामा रहँदा दुबै नेताबीच व्यापार, लगानी र बौद्धिक सम्पत्तिको सुरक्षाजस्ता विषयमा छलफल भएको थियो ।
अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चिनियाँ उपप्रधानमन्त्री लिऊ हे र वाणिज्य मन्त्री झोङ शानसँग मङ्गलबार टेलिफोनबाट कुराकानी गरेका थिए । ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुडलोले संवाददाताहरुसँग कुरा गर्दै वार्ता निकै रचनात्मक भएको तर विस्तृत विवरण सार्वजनिक गर्ने समय नभइसकेको जानकारी दिए ।
अमेरिकी टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई दिएको अन्तर्वार्तामा कुडलोले दुबै देशका उच्च व्यापार मध्यस्थकर्ताबीच भएको वार्ता प्रारम्भिक रहेको बताउँदै दुबै पक्षबीच सायद तत्कालै बैठकको आयोजना हुने बताए । उनले चीनले जतिसक्दो चाँडो अमेरिकी कृषि उत्पादन खरिद गर्न थालेलगत्तै सम्भवत वार्ता पनि सुचारु हुने बताए ।
चिनियाँ वाणिज्य मन्त्रालयले जारी गरेको संक्षिप्त वक्तव्यमा ओशाकामा दुबै राष्ट्रपतिबीच भएका विचार आदानप्रदानकै सेरोफेरोमा सहमति खोजिने उल्लेख छ ।
अमेरिका र चीनले एक अर्का मुलुकका करिब ३ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी