बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री शिल्पाको आरोप–छबिराज ओझाले कुट्दा कानको जाली फुट्यो, प्रहरीमा पुग्यो उजुरी

बुधबार, २५ असार २०७६, १२ : ४६
बुधबार, २५ असार २०७६

काठमाडौं– चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच खटपटको विषय बाहिरिएको छ । लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्यरुपमा बिबाह भएको थियो । 

अहिले छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको छ । श्रीमानले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेलले मंगलबार प्रहरीमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दर्ता गरेकी हुन् । 

हाल शिल्पा चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा रहेको बताइएको छ । यसबारे बुझ्न शिल्पालाई उनको नम्बरमा फोन गर्दा रौनियार पत्नी तथा निर्देशक सम्झना रौनियार उप्रेतीले फोन उठाइन् । उनले शिल्पाको कानको जाली फुटेको भन्दै बोल्न सक्ने अवस्था नरहेकाले आफूले फोन उठाएको बताइन् । 

ओझाको कुटपिटपछि शान्तिसुरक्षाको माग गर्दै शिल्पाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएको जानकारी दिँदै थप प्रहरीमै बुझ्न आग्रह गरिन् । 

यस्तै काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले पनि शिल्पाले उजुरी दर्ता गरेको पुष्टि गरे । श्रीमानबाट असुरक्षा भएको भन्दै शान्ति सुरक्षा माग गर्दै शिल्पाले उजुरी दर्ता गराएको उनको भनाई छ।  

चलचित्र क्षेत्रका जानकारहरुका अनुसार शिल्पाले विकास रौनियारलाई तिहारको टिका लगाएर दाइ मान्दै आएकी छिन् । अहिले उनै दाइको घरमा शिल्पा संरक्षणमा रहेकी हुन् ।

यस विषयमा प्रतिक्रिया ओझाले भने आफूले कुनै हिंसा नगरेको दाबी गरेका छन् । ‘हाम्रो ७३ सालमा बिहे भएको थियो र  ६ महिना अघिमात्र बिहे दर्ता भएको थियो’ ओझाले रातोपाटीसँग भने, ‘ सामान्य विवादमा गत असार ८ गतेदेखि घरबाट निस्केर हिँडेकी थिइन् । अहिले उजुरी गरेको कुराले अचम्म लागेको छ ।’

उनले शिल्पा कसको निर्देशनमा चलेको हो भन्ने आफूले बुझ्न नसकेको भन्दै कानको जाली फुट्नु त के एक थप्पड समेत नहानेको दाबी गरे । 

शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो । शिल्पा चौथो श्रीमतीको रुपमा भित्रिएकी हुन् । 

स्मरण रहोस्, शिल्पालाई चलचित्र क्षेत्रमा ओझाले नै भित्र्याएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप