मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आठ जनाको हत्या अभियोगमा पक्राउ परेका नसिम खाँ की सांसद श्रीमतीको यस्तो छ नागरिकता ‘लफडा’

राजनीतिक आस्थाका आधारमा आरोप लगाइयो : सांसद नसिम
बुधबार, २५ असार २०७६, ११ : १७
बुधबार, २५ असार २०७६

बुटवल– प्रहरीले कपिलवस्तुका जावेद वादशाह भनिने नसिम खाँ मुसलमानलाई पक्राउ गरेसँगै उनकी श्रीमती सांसद फौजिया नसिमको ‘दोहोरो नागरिकता’ प्रकरण चर्किएको छ ।

संसाद फोजियानले दोहोरो नागरिता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा यसअघि नै उजुरी नै परेको थियो । सांसद नसिमको नागरिकताबारे उजुरी परे पनि छानविनमा अलमल भइरहेका बेला श्रीमान् खाँ पक्राउ परेसँगै उनको नागरिकता प्रकरणले स्थानीयदेखि संघीय संसदमा प्रवेश पाएको हो ।

तत्कालिन नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य फौजिया  नासिमको नागरिकता चाँडो छानविन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा दबाब पर्न थालेको छ । कपिवस्तु मायदेवी गाउँपालिका वडानम्बर ४ का अध्यक्ष फतेह मोहम्मदले नासिमले झुटो विवरण पेश गरेर नागरिता लिएको भन्दै तत्काल छानविन गर्नुपर्ने बताए । स्थानीय तहमा मात्रै नभई प्रतिनिधि सभाका सांसदले समेत सांसद नासिमको नागरिकता छानविनको माग गरेका छन् ।

आइतबार बसेको बैठकको विशेष समयमा नेपाली काँग्रेसका सांसद दीलेन्द्रप्रसाद बडुले प्रदेश नम्बर ५ का प्रदेश सांसद फौजियानको नाममा दोहोरो नागरिकता रहेको भन्दै छानबिन प्रकृया अघि बढाउन माग गरे ।

‘बादशाहकी श्रीमती फौजिया नेकपाकै समानुपातिक सांसद हुन् । उनका दुईवटा नागरिकता रहेको विषयमा जिप्रका कपिलवस्तुमा मुद्दा चलिरहेको छ । सत्ता र शक्तिको भरमा दोहोरो नागरिकताको छानविनमा ढिलाइ भइरहेको छ,’ सांसद बडुको भनाई थियो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले उनको नागरिताबारे छानविन भइरहेको बताएपनि छानविनको चरण कस्तो अवस्थामा पुगेको छ भन्नेबारे केही खुलाएनन्  । उनले रातेपाटीसँग भने, ‘कसैको दबाबमा परेर यस्ता विषयहरु रोकिँदैनन् । अनुसन्धान केही ढिला हुनु स्वभाविक हो ।’ 

यस्तो छ नागरिताको कथा 

८ जनाको हत्या अभियोग लागेका नसिम खाँकी श्रीमती नसिम तत्कालिन नेकपा एमालेका तर्फबाट प्रदेश नम्बर ५ मा कपिलवस्तु जिल्लाबाट समानुपातिकतर्फको सांसद बनेकी हुन् । फौजियाले झुठो विवरणका आधारमा दुईवटा नागरिकता लिएको उजुरी छ ।

राजनीतिक शक्तिका आडमा उजुरीमाथिको छानविनमा ढिलाइ भएको गुनासो आइरहेका बेला खाँलाई प्रहरीले प्रकाउ गरेपछि नागरिताको लफडा बल्झिएको हो ।


यसरी अन्त्य भयो सांसदका श्रीमानको एक दशक लामो ‘गुण्डाराज’

‘मोस्ट वान्टेड’ बादशाहको राजनीतिक पावर : श्रीमतीलाई यसरी बनाए ‘माननीय’ !

८ जनाको हत्या गरेर भारतमा ‘सेल्टर’ : समातिए भूमिगत सङ्गठनका नेता 

श्रीमान ‘मोस्ट वान्टेड’, श्रीमती माननीय !


व्यक्ति एक नाम अनेक ?

लैलुननिसा मुसलमानका नाममा पहिलो पटक नागरिकता लिएकी खाँ श्रीमती नसिमले दोस्रो पटक नागरिकता लिँदा फौजिया नसिमका नाममा लिएकी छन् । त्यसक्रममा उनले झुठा विवरण भरेर दोस्रो नागरिकता लिएको आरोपसहितको जाहेरी परेको छ । मायादेबी गाँउपालिका ४ का फत्तेह मोहम्मद मुसलमानले यस्तो उजुरी दर्ता गराएका हुन् ।

‘मायादेवी–४ पिपराका नसिम खाँकी श्रीमती लैलुननिसा मुसलमानले झुठो विवरण पेश गरी फौजिया नसिमको नाममा अर्को नागरिकता लिएकी छन्,’ उजुरीमा दाबी गरिएको छ । जाहेरीमा निज लैलुननिसाको जन्म साविक राजपुर गाविस–१ पकरेहटा (हाल बुद्धभूमि नगरपालिका १०) मा वि.सं. २०२२ सालमा भएको उल्लेख छ । पहिलो पटक लैलुननिसाको नाममा नागरिकता लिएपनि सो नागरिकता जारी भएको २५ वर्षपछि उनले दोस्रो नागरिकता २०७१ साल अषाढ २३ गते फौजिया नसिमका नाममा वैवाहिक अंगिकृत नागरिकता लिएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत मेघनाथ उपाध्याले हस्ताक्षर गरेको ३८÷०१÷७१÷०२५८१ नम्बरको सो नागरिकतामा उनको जन्मस्थान भारत, बाबु अब्दुल गफ्फार र श्रीमान नसिम अहमद मुसालमान उल्लेख छ ।

दोस्रो पटक नाम र जन्मस्थानको झुठो विवरण पेश गरि लिएको नागरिकतामा उनको नाम लैलुननिसा मुसलमान परिर्वतन गरि फौजिया नसिम उल्लेख छ । उजुरीकर्ता मायादेवी गाउँपलिाका ४ पिपराका वडाअध्यक्षसमेत रहेका फत्तेह मोहम्महदले  नागरिताको विषयमा प्रमुख जिल्ला अधिकारीले दुई तिहाई दबाबमा नपरी छानविन गर्नुपर्ने माग गरे ।

प्रदेशसभा सदस्य फौजियाले भने राजनीतिक आस्थाका आधारमा आफूमाथि आरोप लगाइएको बताइन् । उनले रातोपाटीसँग संक्षिप्त कुरा गर्दै आफू र श्रीमान् दुवैलाई राजनीतिक आस्थाका आधारमा फसाएको भन्दै नेताहरुसँग छलफल भइरहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप