शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियूका सहसंयोजकले नेविसंघ अझै रहेछ भनेपछि...

मङ्गलबार, २४ असार २०७६, २२ : २७
मङ्गलबार, २४ असार २०७६

काठमाडौं–सत्तारुढ दल नेकपाको भातृसंगठन अनेरास्ववियूका सहसंयोजक रञ्जिन तामाङले विषादी फलफूल तथा तरकारी प्रकरणमा नेविसंघमाथि कडा व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा नेविसंघ अझैं पनि रहेछ भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका हुन् । 

नेविसंघ अझैं रहेछ । आज मंगलबार त्रिचन्द्र कलेज–घण्टाघर अगाडि २०–२५ जना तरकारी बोकेर नारा उराल्दै गरेका । सिमसिमे वर्षा झरीबीच सानो छेस्कोमा खुम्चिएको रुमाल जत्रो दुईवटा झण्डा बोकेका । खुसी लाग्यो नेविसंघ अझै रहेछ,’’ उनले फेसबुकमा व्यङ्ग्य गर्दै लेखेका छन् । 

 सरकारले भारतीय तरकारी तथा फलफूल बिना परीक्षण आयात गर्न दिने निर्णय गरेपछि नेविसंघले सरकारको विरोध गर्दै आएको छ । सोही क्रममा मंगलबार नेविसंघको एक समूहले जिल्ला प्रशासन कार्यालयमार्फत विरोधस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई तरकारी तथा फलफूल उपहार पठाएको थियो । 

तामाङले सामाजिक सञ्जालमार्फत नेविसंघको आन्दोलनमाथि व्यङ्ग्य प्रहार गरेपछि नेविसंघका नेता कार्यकर्ताले पनि उनको व्यङ्ग्यमाथि जवाफ फर्काएका छन् । 

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले तामाङको व्यङ्ग्यमा जवाफ फर्काएका छन् । उनले जनसरोकारको विषयमा समेत पार्टीको बचाउमा लाग्न अनेरास्ववियू मौन बसेको भन्दै उस्तै

व्यङ्ग्यमिश्रित जवाफ फर्काएका हुन् । उनले अनेरास्ववियू सत्ताको गुणगान गाउनमै सीमित रहेको भन्दै उनीहरुको लाज छोप्ने कामसमेत नेविसंघले गरेको प्रतिक्रिया दिए । 

तामाङले नेविसंघलाई व्यङ्ग्य गरेपछि नेविसंघका अन्य नेता कार्यकर्ताले समेत विषादी प्रकरणमा सत्तारुढ विद्यार्थी संगठनको मौनताको आलोचना गरेका छन् । 

सरकारले असार १९ गते विहिबार मन्त्रिपरिषद् बैठकबाट भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको  विरोध हुदै आएको छ । 

यसअघि सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो । सो आदेशमा नेपाल आयात गरिने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ ।

सरकारले भने तत्कालका लागि प्रयोगशाला चुस्त नभएको र कर्मचारी अभाव भएको भन्दै ६ महिनाका लागि परीक्षण नगर्ने निर्णय गरिएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप