बदला लिनु छ !
नारायण कडरिया
हातैले निचोर्दा वासनादार रस झर्ने इलामेली बारीका ड्याङमा फल्ने अदुवा
ताप्लेजुङ, पाँचथरका ओसिला कान्लाहरुमा झुत्ति लाग्ने हाम्रो मगमगाउँदो अलैँची,
तिमीले
अनेकौँ बहानामा कलकत्तामा रोक्यौ,
वर्षौँदेखि हाम्रा पहाडहरूमा
साना किसानहरूले अनेक कष्टले स्याहारेका चियाका मुनाहरुलाई
"Darjeeling Tea" को ट्याग लगाएर युरोप र अमेरिकामा पाउन्ड र डलरमा बेच्यौ,
हामी चुपै बस्यौँ ।
आज तिमीले ट्रकका ट्रक पठाएका चम्किला, पोटिला फलफूल र तरकारी
हाम्रा गर्भवती आमा दिदीबहिनीका लागि
नजन्मिएका भ्रुणहरुका लागि
नवजात शिशुहरुका लागि
हुर्किंदै गरेका किशोर किशोरीका लागि
हानिकारक छ रोकिदेऊ भन्दा
तिमीले सिंहदरबार थर्कायौ
तिमीले पाखुरा देखायौ
र मनलाग्दी गर्यौ ।
हामी जान्दछौँ
तिमी शक्तिशाली छौ
बलशाली छौ,
अनि त्यतिकै हेपाहा पनि छौ ।
तिमी जे चाहन्छौ त्यो गर्छौ,
अनि हामी त्यो सहन्छौँ, जे तिमी गर्छौ
सदियौँ अघि थुसिडाइडस्ले भनेजस्तै गरी ।
तर भारत पख !
तिमीसँग बदला लिन मन छ ।
हो, बदला लिन मन छ तिमीसँग
पख, गाउँगाउँमा आमाको काख छोडेर
बारी र कान्लाहरु बाँझै छोडेर
अरबका खाडीमा भेडा चराउँदै गरेका
मेरा काका–बुवाहरु घर फर्कन देऊ
पख, कतार र मलेसियामा १४ घण्टा उभिएर
पहरा दिइरहेका दाजुभाइहरु फर्कन देऊ
कोरियाको कठ्याङ्ग्रिँदो जाडोमा कृषि फार्ममा
काम गरिरहेका साथीभाइ फर्कन देऊ
अमेरिका, बेलायत युरोप र अस्ट्रेलियामा
घण्टौँ काम गरेर पनि पढ्दै गरेका मेरा दौतरीहरु फर्कन देऊ
इजरायलको मरुभूमिमा सुन्तला, स्याउ, काँक्रो, गाँजर र टमाटर फलाउन सिक्दै गरेका मेरा सहपाठीहरु फर्कन देऊ
अनि फर्कन देउ त्यहाँका बुढाबुढीहरु स्याहारेर यहाँ
आफ्ना नानी–बाबुहरुलाई पढाइरहेका हाम्रा
काकी–आमा, माइजू र भाउजूहरुलाई
अनि हामी पहाडका बारीहरु जोत्नेछौँ जिल्याउनेछौँ
गोठैका गाईभैँसीको गोबरमल हालेर फलाउनेछौँ
अर्गानिक, काँडादार इस्कुसहरु, राताराता गोलभेँडाहरु
हरिया सागपातहरु
अनि तराईका मलिला फाँटहरुमा फलाउनेछौँ
असङ्ख्य टनका टन सुनका बालाहरु
कुनाकन्दराहरुमा बाटाहरु खनेर
हुम्ला जुम्लाका रसिला स्याउहरु ढुवानी गर्नेछौँ ।
अनि
तिमीले देखाएको सपनाको रेलमा हालेर
तिम्रा नानीहरुका लागि, किशोर किशोरीका लागि
युवाहरुका लागि, वयस्कहरुका लागि,
अनि प्रौढहरुका लागि
पठाउँने छौँ
हिमालको अमृतसरी पानीले र
नेपालीका मोतीसरी पसिनाले
सिँचेको
स्वास्थ्यकर, स्वादिला फलफूल र तरकारीहरु !