बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

झमकको गाउँमा जेसुम यात्रा

मङ्गलबार, २४ असार २०७६, १३ : १८
मङ्गलबार, २४ असार २०७६

धनकुटा– कला, साहित्य रंगमञ्च मार्फत स्थानिय संस्कृति, सम्पदा र मौलिक पहिचान प्रबद्र्धन गर्ने ध्येय बोकेको जेसुम यात्रा यसपटक धनकुटामा सम्पन्न भएको छ । सदरमुकाम धनकुटा बजारस्थित आठपहरिया किरात समुदायको बस्तीमा कवि, चित्रकार र रंगकर्मीहरुले जेसुम यात्रा गरेका हुन् । काठमाडौं, इटहरी र धरानका स्रष्टाहरु शनिबार धनकुटा बजार पुगेका थिए । 

झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाई र वडाअध्यक्ष जंगबहादुर आठपहरियाले रातो टिका लाइदिएर स्वागत गरेपछि स्रष्टाहरुले बजारबाट आठपहरिया गाउँ र चुलीबन तिरको हाइकिङ थालेका थिए ।
उनीहरुको आठपहरियाहरुको रहनसहन, इतिहास, राणा शासनको पालामा समुदायमाथि भएको दमन जस्ता तथ्य खोतल्दै अक्षर र क्यानभासमा आठपहरिया समाजको चित्र उतारे । 

स्थानिय र आगन्तुक गरेर तीन दर्जन स्रष्टाहरुले चुली वन पुगेपछि आठपहरिया पुर्खा राम्ली र रिदिमा हाङसँगै मौलिक पोशाकसहितको आठपहरिया युवतीको मुर्ति, धार्मिक मन्दिर र भ्यु टावर अवलोकन गरेका थिए । 

संस्कृतिकर्मी सुर्य आठपहरियाले नेतृत्व गरेको टोलीमध्ये चित्रकार एकातिर तमोर नदी र अर्कोतिर आठपहरिया बस्ती देखिने वनको मध्यतिरै जक्सन जमाएर क्यानभास कोर्न थाले ।

सेलो थिएटरका रंगकर्मी शान्ति वाइबा, सोनाम लामा र सन्तोष तामाङले बाँसुरीको धुनले चित्रकार र कविलाई पाश्र्वसंगीतको अनुभुति दिलाए ।

चित्रकार एनवि गुरुङ, उमेशचन्द्र अधिकारी, डिराम पाल्पाली, नरबहादुर बिके, विनोदकुमार गुप्ता, सुरेश देसार, आरपी याकामी, पुण्य तामाङ, डिल्लीकृष्ण आले, श्रीकृष्ण जोशी, धिरेन्द्र श्रेष्ठ, सुशील शाक्यलगायतको क्यानभासमा धनकुटा बजार र आठपहरिया बस्ती कोरेका थिए । यही बेला स्थानिय सरकुमारी र जानुकाले आठपहरिया समुदायको मौलिक परिधान प्रस्तुत गरेकी थिइन् । 

स्रष्टाहरुले दिउँसो स्थानिय निजामती स्कुलको परिसरमा भेला भएर कवि गोष्ठी र चित्रकला प्रदर्शनी गरे । उनीहरुलाई साथ दिन नजिकैको कचिडे गाउँबाट साहित्यकार झमक घिमिरे पनि आइपुगेकी थिइन् । आफ्नो थातथलोमा काठमाडौंदेखि स्रष्टाहरु आएकोमा झमकले खुशी जनाइन् । 
उनकै प्रमुख आतिथ्यमा कवि स्नेह सायमी, अनिता लामा, फूलमान वल, विना थिङ तामाङ, रमेश कडेल, हेमन यात्री, सुदिप पाख्रिन, शीतल गिरी, केजी सुब्बा, मुकुन्द प्रयासलगायतले सिर्जना सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप