एक चौथाइ क्षेत्रफलमा पनि भएन धान रोपाइँ !
काठमाडौँ– नेपालमा मनसुन सक्रिय हुन ढिलो हुनु र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण यस वर्ष अहिलेसम्मको अवधिमा अत्यन्त कम मात्रै धान रोपाइँ भएको छ । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म एक चौथाइ क्षेत्रफलमा पनि रोपाइँ हुन सकेको छैन । रोपाइँ थोरै भएपछि उत्पादन घट्ने निश्चित भएको छ ।
‘धेरैजसो स्थानमा आकाशे पानीमा भर पर्नुपर्ने भएकाले सोचेअनुसार असार तेस्रो सातासम्म पनि धान रोपाइँ हुन सकेन’, बाली विकास महाशाखाका निर्देशक सवनम सिवाकोटीले रातोपाटीसँग भनिन्, ‘धान रोपाइँ हुने नेपालको ४० प्रतिशत भूभागमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको भनिए पनि वास्तविकता त्यस्तो नभएकाले पनि धान रोपाइँको प्रतिशत घटेको हुनसक्छ ।’
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार २२ गतेसम्म नेपालमा औसत २३ दशमलव ७६ प्रतिशत धानखेतमा मात्रै धान रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ५२ दशमलव ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।
गत वर्षको तुलनामा यो वर्ष यो अवधिमा झण्डै ३० प्रतिशतले कम धान रोपाइँ भएको हो ।
नेपालको भौगोलिक अवस्थाअनुसार उच्च पहाडमा सबैभन्दा बढी प्रतिशतले धान रोपाइँ भएको छ । उच्च पहाडमा ३४ दलशमलव ६४ प्रतिशत धान रोपाइँ भएको छ भने दोस्रोमा मध्य पहाडी क्षेत्रमा ३१ दशमलव १५ र तराईमा २० दशमलव ६१ प्रतिशत धान रोपाइँ भएको छ ।
गतवर्षको सोही अवधिमा उच्च पहाडमा ६१ दशमलव ६५, मध्य पहाडमा ५५ दशमलव ६१ र तराईमा ५१ दशमलव ५८ प्रतिशत रोपाइँ भइसकेको थियो ।
कुन प्रदेशमा कति प्रतिशत धान रोपाइँ ?
प्रदेश १
यो प्रदेशका १४ जिल्लामा प्रतिशतका हिसावले यो वर्षको असार २२ सम्म जम्मा १८ दशमलव ४५ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा ४१ दशमलव ५९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यो प्रदेशका धेरै धान फल्ने जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा समेत क्रमशः गत वर्षको तुलनामा आधा मात्रै रोपाइँ भएको छ । गत वर्षको यो अवधिमा झापामा ४८ प्रतिशत धान रोपाइँ भइसकेको भए पनि यो वर्ष अहिलेसम्म २२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । त्यस्तै गतवर्ष मोरङ र सुनसरीमा ४२ र २५ प्रतिशत धान रोपाइँ भएकोमा यस वर्ष १७ र १३ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । यो प्रदेशमा सबैभन्दा कम धान रोपाइँ धनकुटा जिल्लामा भएको छ । यो जिल्लामा असार २२ सम्म ४ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको छ ।
प्रदेश २
अन्न भण्डारका रुपमा रहेको तराई क्षेत्रको प्रदेश २ मा यो वर्षको हालसम्मको धान रोपाइँ अत्यन्त निराशाजनक देखिन्छ । प्रदेश २ मा औशतमा १० दशमलव २५ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको छ । जब कि गत वर्षको सोही अवधिमा ५३ दशमलव ५७ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो । यो प्रदेशका ८ जिल्लामध्ये असार तेस्रो सातासम्म सबैभन्दा कम धान रोपाइँ सकिनेमा धनुषा जिल्ला रहेको छ । यो जिल्लामा अहिलेसम्म ५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । धनुषामा गत वर्षको यही अवधिमा २५ प्रतिशत धान रोपाइँ सकिएको थियो । यो वर्ष बारा र पर्सामा क्रमशः १७ र १५ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यो अवधिमा बारा र पर्सामा ७७ र ८५ प्रतिशत धान रोपाइँ सकिएको थियो ।
प्रदेश ३
प्रदेश ३ मा असार तेस्रो सातासम्म २० दशमलव ९९ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । जबकि गत वर्षको यो अवधिमा ४६ दशमलव ९३ प्रतिशत धान रोपाइँ सकिइसकेको थियो । प्रदेश ३ को धेरै धान फल्ने जिल्ला चितवनमा १० दशमलव ६६ प्रतिशत धान रोपाइँ भएको छ । अघिल्लो वर्ष यो अवधिमा चितवनमा ४० प्रतिशत धान रोपाइँ भइसकेको थियो । त्यस्तै सिन्धुली, काभ्रे, धादिङ लगायतका जिल्लामा पनि गत वर्षको तुलनामा कम मात्रामा रोपाइँ भएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा गत वर्षको यो अवधिमा ७२ दशमलव २५ धान रोपाइँ भएकोमा यस वर्ष २८ दशमलव ५३ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ ।
यो प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी तनहुँ र पर्वतमा ५० प्रतिशत र कम लमजुङ, गोरखा र नवलपुर जिल्लामा २० प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । यो प्रदेशका मनाङ र मुस्ताङमा भने धान रोपाइँ हुने गरेको छैन ।
प्रदेश ५
प्रदेश ५ का १२ जिल्लामा यो वर्षको अहिलेसम्म २९ दशमलव ५१ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ सकिएको छ । जबकि गत वर्ष यो प्रदेशमा ५६ दशमलव १८ प्रतिशत धान रोपाइँ भइसकेको थियो ।
यो प्रदेशमा बाँके, बर्दिया, रूपन्देही दाङ लगायतका जिल्ला धेरै धान उत्पादन हुने जिल्लामा पर्छन् ।
यो प्रदेशको सबैभन्दा बढी धान रोपाइँ दाङमा भएको छ, जहाँ प्रतिशत धान रोपाइँ सकिएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा जम्मा ५१ दशमलव ४२ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष यो प्रदेशमा यो अवधिमा ६५ दशमल ८८ प्रतिशत रोपाइँ भएको थियो ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिमका नौ जिल्लामा ४४ दशमलव ४१ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो प्रदेशमा यही ८० दशमलव ४५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो । यो प्रदेशको सबैभन्दा बढी धान फल्ने जिल्ला कैलालीमा यो वर्ष ४० प्रतिशत मात्रै धान रोपिएको छ । जबकि यो अवधिमा गत वर्ष ९५ प्रतिशत धान रोपाइँ सकिएको थियो ।
बाली विकास महाशाखाकी प्रमुख सिवाकोटीले मनसुन भर्खर सक्रिय भएकाले तराई क्षेत्रमा अझै पनि रोपाइँ गर्न सकिने भए पनि विगत वर्षको तुलानमा क्षेत्रफल र उत्पादन दुवै घट्ने बताइन् । ‘नेपालको ७० प्रतिशत धान फल्ने क्षेत्र तराई हो । त्यही तराई क्षेत्रमा धान रोपाइँ कम भएकाले उत्पादन घट्ने निश्चित छ’, सिवाकोटीको भनाइ छ ।
कहिले हुने धान उत्पादमा आत्मनिर्भर ?
रोपाईको यो प्रतिशत हेर्दा देशको प्रमुख अन्नबालीको रूपमा रहेको धान उत्पादनमा तीन वर्षमा आत्मनिर्भर हुने सरकारी लक्ष पुरा नहुने देखिएको छ । सरकारले सन् २०२० सम्ममा धानमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । तर सिँचाइ, मल र गुणस्तरीय बीउ अभावका कारण उत्पादन वृद्धि दिगो पार्न समस्या भइरहेको छ ।
नेपालमा वार्षिक करिब ६० लाख मेट्रिन टन धान खपत हुन्छ ।
त्यसमध्ये बर्षेनी करिव १० लाख मेट्रिक टन धान अन्य मुलुकबाट आयात गरिन्छ । यसका लागि बर्षेनी २२ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा
-
दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा