बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बिमा लिन चाहनुहुन्छ ? तपाईं भएकै ठाउँमा आउँछन् अभिकर्ता

‘स्वास्थ्य बिमा आजको आवश्यकता हो’
मङ्गलबार, २४ असार २०७६, ११ : ३५
मङ्गलबार, २४ असार २०७६

बिमाबारे हामीले धेरै सुनेका छौँ र धेरैले बिमा गरेका पनि छौँ । नेपालमा जीवन बिमा, निर्जीवन बिमा निकै प्रचलित छ । जीवन बिमा घर जग्गा, सवारी साधन, कलकारखाना, उद्योगधन्दा बिमाको प्रवर्द्धन निकै हुनेगरे पनि स्वास्थ्य बिमालाई खासै चासो दिएको पाइँदैन ।

‘जीवन रहे सबथोक रहन्छ’ भन्ने भनाइलाई आत्मसाथ गर्ने हो भने स्वास्थ्य बिमा पहिलो नम्बरमा आउनुपर्ने हो । ससाना स्वास्थ्य समस्यादेखि ठूला र दीर्घ रोगको उपचारका लागि बिमाले ठूलो सघाउँ पुर्याउँछ भन्नेमा धेरै नेपाली अनभिज्ञ नै छन् ।

विकसित मुलुकहरुमा स्वास्थ्य बिमा अनिवार्य नै हुन्छ । हाल आएर नेपाल सरकारले पनि स्वास्थ्य बिमालाई प्राथमिकतामा राखेको छ । निजी क्षेत्रले विभिन्न स्वास्थ्य बिमालाई प्रोत्साहन गरेको पाइन्छ ।

नेपाल सरकारले आउँदो तीन वर्षसम्ममा देशका सबै नागरिकलाई ‘स्वास्थ्य बिमा कार्यक्रम’मा समेट्ने रणनीति पनि अघि सारेको छ ।

यता निजी क्षेत्रहरुले पनि स्वास्थ्य बिमालाई अगाडि ल्याइरहेको अवस्था छ । निजी क्षेत्रकै ठूलो लगानीमा सञ्चालित ललितपुरको भैँसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य बिमालाई आफ्नो प्राथमिकतामा राखेको छ ।

नेपाल मेडिसिटीले सञ्चालनमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रम कस्तो छ र नागरिकले यो सेवा कसरी लिने ? भन्ने बारे नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालसँग हामीले कुराकानी गरेका छौँ ।

–नेपालमा स्वास्थ्य बिमा कतिको आवश्यक छ ?

आजको आवश्यकता भनेकै स्वास्थ्य बिमा हो । नेपालको सन्दर्भमा भन्नुपर्दा स्वास्थ्य क्षेत्र राज्यको र जनताको प्राथमिकतामा कहिल्यै पनि परेन । यसको कारण हो, हामी रोग लागेपछि मात्र उपचारका लागि जान्छौँ । यसरी जाँदा हामी महँगोमा पर्छौं । एक त स्वास्थ्य क्षेत्र आफैमा पनि महँगो क्षेत्रमा पर्छ ।

प्रविधि, पूर्वाधार र जनशक्तिको हिसाबले स्वास्थ्य क्षेत्र केही महँगो छ । कतिलाई यो सेवा लिनको लागि आर्थिक रूपले धान्न नै गाह्रो हुन्छ ।

रोग लागिसकेपछि उपचार गराउँदा बढी महँगोमा पर्ने भएकाले बिमाको अवधारणा आएको हो । स्वास्थ्य बिमाको अर्थ यो पनि हो कि हरेक नागरिकले सहुलियत उपचार सेवा प्राप्त गर्न सकोस् ।

विदेशतिर स्वास्थ्य सेवा महँगो सेवा भएकाले नै बिमालाई अनिवार्य गरेको छ । हाम्रो जस्तो देशमा पनि स्वास्थ्य बिमालाई अनिवार्य रूपमा अगाडि ल्याउन जरुरी छ । र यसको प्रवर्द्धन गर्नु हाम्रो कर्तव्य पनि हो ।

–स्वास्थ्य बिमालाई मेडिसिटी अस्पतालले कसरी प्रवर्द्धन गरेको छ ?

नेपाल मेडिसिटी अस्पताल एक हजार करोडको लगानीमा स्थापित अस्पताल हो । ठूलो लगानी र विभिन्न कार्यक्रमसहित स्थापना भएको मेडिसिटी नेपालको पहिलो अस्पताल हो । यस अस्पताललाई सबै नेपालीले धान्न सक्ने अस्पताल बनाउने योजना हाम्रो हो ।

नेपाल मेडिसिटी अस्पताललाई सबै नेपालीको अस्पताल बनाउने अभिप्रायसहित कोही पनि उपचारका लागि विदेश जान नपरोस् भन्ने हेतुले काम गरिरहेका छौँ । यसका लागि मुख्य भूमिका खेल्छ स्वास्थ्य बिमाले ।

वार्षिक १२ सय रूपैयाँमा ५० हजारसम्मको क्यासलेस सर्भिस नेपाल मेडिसिटीले दिएको छ । प्रतिमहिना एक सयका दरले पर्न आउने बिमा सेवाले भविष्यमा हुन सक्ने ठूला खालका उपचारमा राहत मिल्छ । हाम्रो स्वास्थ्य सेवाले नेपाली लाभान्वित बन्न सकून् भन्ने अस्पतालको चाहना छ ।

–स्वास्थ्य बिमाले उपचारमा कति राहत मिल्छ ?

वर्षको १२ सयका दरले बिमा रकम भुक्तान गर्दा ५० हजारको क्यासलेस सेवा निकै राम्रो सेवा हो । हामीले के विचार गर्नुपर्छ भने स्वास्थ्य नै मुख्य कुरा भएकाले स्वास्थ्यमा अग्रिम लगानी गर्ने बानी बसाल्नु अत्यन्त आवश्यक छ ।

हरेक नेपालीले वर्षमा एक पटक आफ््नो सम्पूर्ण शरीरको चेकअप गर्नु जरुरी छ । यसले कुनै पनि रोग लाग्नबाट जोगिन र लाग्नै लागेको रहेछ भने पनि अग्रिम जानकारी प्राप्त हुने भएकाले ठूला रोगको जोखिमबाट बच्न सकिन्छ  ।

कुनै पनि रोग लाग्नुअगाडि सचेत हुन हामी सबैमा आग्रह गर्दछौँ । स्वास्थ्यमा अग्रिम लगानी गर्ने व्यक्तिमा स्वास्थ्यबारे सचेतना आफसे आफ जाग्ने भएकाले पनि यो अति महत्त्वपूर्ण छ ।

–नेपाल मेडिसिटीमा स्वास्थ्य बिमा लिनेको सङ्ख्या कति छ र यसलाई नागरिकले कसरी बुझेका छन् ?

स्वास्थ्य बिमाको बारेमा नेपालीहरुमा चेतना एकदमै कम छ । यसलाई उजागर गर्न हामीले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनचेतना जगाउने काम गरिरहेका छौँ ।

नेपालीको स्वास्थ्यसम्बन्धी जागरण निकै नै निराशाजनक छ । हाल स्वास्थ्य बिमालाई सरकारले पनि प्रवद्र्धन गरेको छ र निजी क्षेत्रले पनि यसको प्रवर्द्धनमा सक्रियता देखाएको छ ।

जस्तो नेपालका केही नीतिले पनि स्वास्थ्यलाई जोडेको छ । नेपालको श्रम नीतिले श्रमिकको स्वास्थ्य बिमालाई जोड दिएको छ ।

विभिन्न सङ्घ संस्थामा कार्यरत कर्मचारीको अनिवार्य स्वास्थ्य बिमा हुनुपर्ने कुरा नीतिमा उल्लेख भएकाले पनि यसको विभिन्न सङ्घ संस्थाहरु स्वास्थ्य बिमालाई प्राथमिकतामा राखेका छन् । र अस्पतालले पनि जागरणको काम गर्दै आएको छ । यसबाट निकै राम्रो प्रतिक्रियाहरु पाएका छौँ ।

स्वास्थ्य बिमा गर्नेहरुमा विशेष गरेर यातायात क्षेत्रका मजदुरहरुको सक्रियता प्रशंसायोग्य छ । त्यसैगरी विभिन्न सङ्घ संस्थाबाट पनि बिमाको लागि आउने गरेकाले यसबारे चेतना जाग्रित हुँदै छ भन्न सकिन्छ ।

–स्वास्थ्य बिमाको आवश्यकता कुन क्षेत्रले बढी महसुस गरेको छ ? बिमाबारे चेतना जगाउन मेडिसिटीले कस्तो अभियान चलाएको छ ?

नामै स्वास्थ्य बिमा, यो हरेक व्यक्तिका लागि आवश्यक छ । रोगले यो त्यो हेर्दैन, जसलाई पनि जस्तोसुकै रोग लाग्न सक्ने भएकाले हरेकले स्वास्थ्य बिमा गर्नु अति आवश्यक छ ।

हाम्रो अभिप्राय भनेको देशलाई जोड्नु हो । सहरदेखि ग्रामीण भेग सबै क्षेत्रमा स्वास्थ्यको पहुँच पुगोस् भनेर हामीले अभियान नै सञ्चालन गर्ने गरेका छौँ ।

नेपालका हरेक भेगका जनताले आफ्नो नजिकको अस्पतालमा सहुलियत स्वास्थ्य सेवा लिन सकून् । हाम्रो अभिप्राय स्वास्थ्य सेवाबारे सबैभन्दा पहिला नागरिक आफै सचेत हुनुपर्ने भएकाले जनचेतना जागृत गर्ने काममा हामी लागिरहेका छौँ ।

हामीले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म करिब ४० वटा अस्पतालसँग सहकार्य गरेका छौँ । हरेक अस्पतालबाटै स्वास्थ्य बिमामा आबद्ध हुनुपर्छ भनेर नागरिकलाई चेतना अभिवृद्धि गर्ने काम पनि गरिरहेका छौँ । जस्तो, अभियान स्वरूपम स्वास्थ्य बिमा कार्यक्रम नै सञ्चालन गर्ने गरेका छौँ ।

यो त हाम्रो निजी क्षेत्रले गरेको सानो प्रयास मात्रै हो । अहिले सरकारले पनि स्वास्थ्य बिमालाई प्रवर्द्धन गरिरहेको छ । राष्ट्रिय स्तरमा नै यसलाई अभियानका रूपमा लगिएको छ ।

आर्थिक वर्ष २०७६–७७ को बजेटले पनि स्वास्थ्य बिमालाई छोएको छ । यसले के देखाउँछ भने राज्यको स्वास्थ्य नीतिले नै स्वास्थ्य बिमालाई प्राथमिकतामा राखी अगाडि लैजाने काम भएको छ ।

सहरी तथा ग्रामीण भेगका जनतामा जनचेतना जगाई स्वास्थ्य बिमालाई प्रोत्साहन गर्नु हामी सचेत नागरिक र स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्तिहरुको काम हो ।

हामीले स्वास्थ्यमा अलिकति भए पनि अग्रिम लगानी गर्यौँ भने थोरै भए पनि एक खालको उत्साह र जागरण ल्याउँछ । अहिलेसम्म भएका काम हेर्दा उत्साहपूर्ण नतिजा पाएका छौँ ।

नेपालीहरु स्वास्थ्यको क्षेत्रमा सचेत हुन थालेका छन् । अब पनि स्वास्थ्य क्षेत्रमा गम्भीरतापूर्वक लागिएन भने चाहिँ ढिला हुन्छ भन्ने हामीले महसुस गरेका छौँ ।

–नेपाल मेडिसिटीले स्वास्थ्य बिमामा स्वास्थ्य सम्बन्धी कस्ता सेवालाई समेटेको छ ? बिमा शुल्क कति निर्धारण भएका छन् ?

हामीले स्वास्थ्य बिमा गर्दा अस्पतालले दिने सबै सेवा समेटेका छौँ । कस्मेटिक र सौन्दर्यसम्बन्धी सेवाबाहेक अन्य सबै सेवा मेडिसिटीको बिमा प्याकेजमा पर्छ ।

स्वास्थ्य बिमाभित्र चेकअपदेखि अस्पतालमा भर्ना हुनुपरेमा बेड, ल्याब, अपरेसन, औषधिलगायतका सबै सेवा पर्छ ।

स्वास्थ्य बिमा कार्यक्रम लागू गर्दा वर्षको १२ सयमा ५० हजारसम्मको स्वास्थ्य सेवा उपलब्ध गराएका छौँ । त्यसैगरी १८ सय ७५ मा परिवारका सदस्यहरुको ५० हजारसम्मको स्वास्थ्य सेवा हामीले दिएका छौँ ।

आफ्नो क्षमता र योजनाअनुसार नै स्वास्थ्य बिमामा आबद्व हुन पाइन्छ । वर्षको २५ हजारमा १० लाखसम्मको स्वास्थ्य बिमा योजना लिन सकिन्छ भने वर्षको ३७ हजार ५ सयमा परिवारका सदस्यहरुलाई १० लाखसम्मको स्वास्थ्य बिमा हामीले दिएका छौँ ।

सरकारी स्वास्थ्य बिमा गर्दा सबै परिवार आबद्व हुनुपर्छ भने निजी क्षेत्रमा गर्दा व्यक्तिगत वा परिवार आफूले निर्धारण गर्न सकिन्छ ।

यो सुविधाले गर्दा धेरै नेपालीहरु आकर्षित भएका छन् । हाम्रो स्वास्थ्य बिमा योजनाले बिमितहरु निकै खुसी पनि छन् ।

–स्वास्थ्य बिमाको प्रक्रिया पनि बताइदिनुस् न ?

स्वास्थ्य बिमा सेवाका लागि हामीले विभिन्न तरिका अपनाएका छौँ । नागरिकको जागरणका लागि विभिन्न प्रचार प्रसार गर्नेदेखि ठाउँठाउँमा गएर चेतनामूलक कार्यक्रमहरु गर्ने र प्रतिनिधिहरु मार्फत चेतना जगाउने काम गरिरहेका छौँ । हाम्रै वेबसाइटमार्फत र मिडियाहरुमार्फत पनि स्वास्थ्य बिमाबारे जागरण ल्याउन लागिपरेका छौँ ।

हामीले बिमा सेवा सहज रूपमा जनतासमक्ष पुगोस् भनेर विभिन्न बिमा कम्पनी, अस्पताल, तथा मेडिसिटी अस्पतालमै काउन्टर स्थापना गरी सेवा दिएका छौँ ।

प्रिमियर बिमा कम्पनीका प्रत्येक शाखामा सहजरूपमा नेपाल मेडिसिटीको स्वास्थ्य बिमा सेवा र बिमाबारे जानकारी लिन सकिन्छ । हामीले सीधै फोनकलमार्फत पनि बिमाबारे जानकारी दिने गरेका छौँ ।

सेवा लिन चाहनेहरुका लागि उहाँहरुले चाहेको स्थानमै पुगेर स्वास्थ्य बिमा सेवा दिने गरेका छौँ । यसका लागि हामीले भिन्न तालिम प्राप्त कर्मचारी खटाउने गरेका छौँ ।

–स्वास्थ्य बिमापश्चातका सेवाहरु कसरी लिन सकिन्छ ?

स्वास्थ्य बिमामा आबद्ध व्यक्तिलाई हामीले पोलिसी नम्बर र बिमा कार्ड उपलब्ध गराउँछौँ । बिमितले सेवा लिन परेको खण्डमा अस्पतालको काउन्टरमा आफ्नो कार्ड वा पोलिसी नम्बर देखाएर सेवा लिन सक्छन् ।

अर्को महत्त्वपूर्ण कुरा उपचार अवधिभर बिमितले अस्पतालमा कतै पनि नगद बुझाउनु पर्दैन । अस्पतालबाट जाने बेलामा जम्मा बिलको १० प्रतिशत मात्र बुझाए पुग्छ, बाँकी ९० प्रतिशत बिमाले कभर गर्छ ।

मेडिसिटीले जारी गरेको बिमामा कुनै पनि सिलिङ छैन । जुनसुकै सेवा ढुक्कले लिन सकिन्छ । सामान्यतया रेडियोलोजीमा १० प्रतिशत, ल्याबमा २० प्रतिशत, सर्जरीमा ३० प्रतिशत सिलिङ छुट्याएको हुन्छ । यसले बिरामी आफू ठगिएको भान हुन्छ ।

तर हाम्रो स्वास्थ्य बिमामा उपचार भरी कुनै पनि खालको सिलिङ छैन । यसले हाम्रा धेरै बिरामी तथा ग्राहक सन्तुष्ट देखिनुभएको छ ।

–नेपाल मेडिसिटीले दिने भिन्न सुविधाहरु केके छन् ?

स्वास्थ्य बिमाबाहेक मेडिसिटीले कुनै पनि बिरामीले खर्च पुर्याउन सकेन भने अस्पतालले नै लोनको व्यवस्था गरिदिने गरेको छ ।

उपचारपछि खर्चको समस्या भएमा हाम्रो काउन्टरबाट हामीसँग सहकार्य गरेका विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुबाट लोन उपलब्ध गराउने काम पनि हुन्छ । उक्त लोन किस्ता (ईएमआई)बाट तिर्न सकिन्छ ।

स्वास्थ्य क्षेत्रमा यस्तो सेवा दिने नेपाल मेडिसिटी पहिलो अस्पताल हो । पैसाको अभावमा उपचारबाट वञ्चित हुन नपरोस भनेर हामीले यस्तो सेवाको सुरुवात गरेका हौँ । यसबाट धेरै व्यक्ति लाभान्वित पनि हुनु भएको छ ।

हाम्रो एउटै उद्देश्य हरेक नेपालीले स्वास्थ्य सेवा सहज रूपमा लिन पाउन र अस्पतालसम्म आएपछि उपचार विना फर्कने अवस्थाको अन्त्य नै हो । साथै आर्थिक रूपमा कमजोरहरुलाई सहुलियत दिने व्यवस्था पनि गरेका छौँ ।

नेपाल मेडिसिटीले अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सुविधालाई आत्मसात गर्दै विश्वभरी रहेका नेपाली चिकित्सकले नेपालमै आएर काम गर्ने वातावरण बनाउने हो ।

नेपाल मेडिसिटी अस्पताललाई प्रत्येक प्रदेशमा एक एकवटा अस्पताल स्थापना गर्ने र काठमाडौँ उपत्यकामा अन्य ४ वटा स्थापना गरी स्वस्थ्य सेवालाई सहुलियत दरमा सबैको पहुँचमा पुर्याउने उद्देश्य हाम्रो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप