शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको राष्ट्रपतिले भालु मार्न नमान्दा खेलौना पो बन्यो !

सोमबार, २३ असार २०७६, १६ : ३५
सोमबार, २३ असार २०७६

बालबालिकाहरुले मन पराउने खेलौनाहरु धेरै छन् । तीमध्येका एक टेड्डी बियर– पनि हो । सानो भालु हुने यो खेलौना विदेशतिर त बालबालिकाहरुले धेरै नै मनपराएर खेलाउने गर्छन् । हामै मुलुकमा पनि यस खेलौनालाई बालबालिकाहरुले मन पराउने गर्छन् । यो खेलौना संसारभरि नै सबैभन्दा बढी बिक्ने खेलौनाहरुमध्येको एक हो ।

यो खेलौना कसरी बन्यो भन्ने बारेमा एउटा रमाइलो सत्य घटना छ । त्यो यस प्रकार छः

सन् १९०२ को नोभेम्बरका दिन अमेरिकाका राष्ट्रपति थियोडोर रुजवेल्ट आफ्ना साथीहरुका साथ मिसिसिपी क्षेत्रमा शिकार खेल्न गएका थिए । तर धेरै खोजतलास गर्दा पनि उनीहरुले कुनै पनि जनावर फेला पार्न सकेनन् । त्यत्तिकैमा उनीहरुले एउटा भालु देखे । राष्ट्रपतिका साथ गएका शिकारीहरुको टोलीले भालुलाई चारैतिरबाट घेरा हाल्यो । अब भालु भाग्न पाएन ।

घेरामा पारिएको भालुमाथि गोली चलाउन राष्ट्रपतिलाई अनुरोध गरियो । राष्ट्रपतिलाई खुसी पार्न र स्याब्बासी पाउन त्यसो गरिएको थियो । तर घेरामा पारिएको मायालाग्दो भालुलाई मार्न राष्ट्रपतिको मनले मानेन । उनले घेरामा पारिएको, असहाय भालुमाथि गोली प्रहार गर्न सकेनन् । उनलाई भालुमाथि दया लाग्यो । त्यसरी राष्ट्रपतिको दयाले त्यो भालुको ज्यान बच्यो ।

राष्ट्रपतिले भालुमाथि दया गरेको यो खबर चाँडै नै फैलियो । त्यहाँका अखबार र समाचारपत्रहरुले यो समाचार छापेर देश तथा विदेशभरि फैलाए । त्यसबेलाका चर्चित कार्टुनिस्ट क्लिफोर्ड वेरिम्यानले पनि राष्ट्रपतिले भालुको उद्धार गरेको कथाको कार्टुन चित्र नै बनाए । त्यो चित्र देखेपछि अमेरिकाको ब्रुकलिनका एक जना व्यापारीको मनमा त्यस्तै एउटा खेलौना बनाएर बेच्न पाए कस्तो होला भन्ने लाग्यो । उनले राष्ट्रपति रुजवेल्टसँग भालुलाई नमारेको घटनाको सम्झनास्वरुप खेलौना भालु बनाउन र त्यसको नाम ‘टेड्डी बियर’ राख्नको लागि अनुमति मागे ।

https://api.timeforkids.com/

राष्ट्रपतिले पनि त्यसरी खेलौनाको नाम राख्न अनुमति दिए । ती अमेरिकी राष्ट्रपतिको पूरा नाम थियोडोर टेड्डी रुजवेल्ट (Theodore “Teddy” Roosevelt) हो ।

आजभोलि सबै जनाले यो लोकप्रिय खेलौनालाई टेड्डी बियरको नामले जान्दछन् ।

Photo: https://cdn10.bigcommerce.com

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप