‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९’को काठमाडौं अडिसन सम्पन्न
काठमाडौं – नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्देश्यका साथ सुरु भएको ‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९’को काठमाडौं मेगा अडिसन सकिएको छ ।
हात्तीसारस्थित गसिप क्याफेमा आयोजित अडिसनमा काठमाडौंस्थित अधिकांश होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी अध्यापन गराउने कलेजका करिब २ सय प्रतिस्पर्धीको सहभागीता रहेको थियो । शुभदिन मिडियाद्वारा आयोजित प्रतियोगिताको आयोजक समितिकी संयोजक तथा पूर्व मिस नेपाल सुगरिका केसी रहेकी छन् ।
अडिसमा शिक्षाविद तथा एआटीए एचएम कलेजक प्रिन्सिपल बसन्त जोशी, युवा व्यवसायी तथा मोजो बुटिक होटलका संस्थापक मनिस ढकाल , पर्यटन व्यवसायी तथा पलेटी होलीडेका संस्थापक किशोर घिमिरे र सुगारिका केसी समेत निर्णायक थिए ।
यसअघि असार १५ गते इटहरी अडिसन सम्पन्न भइसकेको छ । जसमा धरान, इटहरी र विराटनगरका प्रतियोगीले सहभागिता जनाएका थिए । काठमाडौं अडिसनको नतिजा एक सातामा आउने संयोजक केसीले जानकारी दिइन् । नतिजा प्रकाशनपछि साउन १ गतेबाट फाइनल अडिसनका लागि प्रशिक्षण सुरु हुने समेत केसीको भनाई रहेको छ ।
पर्यटन, होटल तथा एयरलाईन्समा आवद्ध जनशक्तिलाई अझै सक्षम बनाई समग्र पर्यटन क्षेत्रमा टेवा पुर्याउने र भिजिट नेपाल २०२० को लक्ष्यलाई सफल पार्ने प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जनाएको छ ।