शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा विकासका काम तीव्र

सोमबार, २३ असार २०७६, ११ : १२
सोमबार, २३ असार २०७६

बुटवल– स्थानीय तहमा सञ्चालित विकास आयोजनाहरु एकपछि अर्को ढिला हुने गरेका उदाहरण प्रशस्तै छन् । 

स्थानीय तह,प्रदेश र संघले समेत पटक पटक म्याद थप गर्दै र लागत बढाउदै लगेको पाइन्छ । अझ एडीवी र नेपाल सरकारबीच भएका सम्झौतामा सुरु भएका विकासे काममा त बेलाबेला विवाद समेत हुने गरेका छन् । 

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकोअटो भिलेज, फोहर व्यावस्थान र खानेपानी आयोजनामा  एडीबी विावदकै कारण पछी हटेको छ । तर, यहि जिल्लाको सिद्धार्थनगरमा सञ्चालित विकासे आयोजनाको काम उत्साहजनक रुपमा भइरहेको छ । 

नगरमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना लक्ष्यभन्दा करिब ६ महिना अघि सकिँदै छ ।

सन् २०१७ मा एडीबी र नेपाल सरकारबीच सम्झौता भई सिद्धार्थनगरसहित ४ नगरपालिकामा क्षेत्रीय सहरी विकास आयोजना लागू गरिएको थियो । 

सन् २०२२ सम्मका लागि एडीबीसँग अनुदान÷ऋण सम्झौता गरिएको हो ।

 तर, सिद्धार्थनगरले भने ०१७ मै चाइना गोन्जाउ शर्मा जेभी निर्माण कम्पनीसँग २०२० को जनवरी भित्रै सक्ने गरी ठेक्का सम्झौता गरेको थियोे । २ अर्ब ३८ करोडको ५ वर्षे आयोजना साढे दुई वर्ष अघि नै सकिँदैछ । 

अहिले निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना व्यवस्थापक बरिष्ठ इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले बताए । 

अहिलेसम्म ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजनाअन्तर्गत ३५ किलोमिटरका ४२ वटा सडक पुनर्निर्माण र दुवैतर्फ नाला, फुटपाथ, ७० किलोमीटर खानेपानीको पाइप विछ्याउनु पर्ने र १२ किलोमिटर सतह ढल निर्माण गर्नुपर्ने सम्झौता हो ।

के के भए काम  ?
रुपन्देहीको सिदार्थ नगरपालिका पुरानो नगरपालिकामध्ये पर्दछ । यो नगरपालिकामा अहिलेसम्म ४० वटा सडक बनिसकेका छन् । ‘बाँकी दुईवटा सडकको काम पनि छिट्टै सुरु हुँदैछ, साउन १५ भित्रै आयोजनाका सबै काम सकिन्छ’, ईन्जितियर श्रेष्ठले भने । 

नगरमा अहिले चौडा सडकहरु क्षेत्रीय सहरी विकास आयोजनाबाट बनाइएको छ भने त्यसभन्दा साना सडक सघन सहरी कार्यक्रम अन्तर्गत र आन्तरिक स्रोतबाट बनिरहेका छन् । सघन र सहरी विकास अन्तर्गत १ अर्ब १३ करोडमा ३७ किमी सडक बनाइँदै छ । 

यस्तै, आन्तरिक स्रोतबाट १३ करोडमा ८ किमी सडक बनाइएको छ । यसअघि सन् २०१२–०१७ सम्म एडीबीले सरकारसँग ऋण तथा अनुदान सम्झौता गरी नगरपालिकामा एकीकृत सहरी विकास आयोजना संचालन गरेको थियो ।

 उसबेला करिब ८० करोड लागतमा नगरमा १० किलोमीटर जीर्ण सडक पुनर्निर्माण, ४१ किलोमिटर सतह ढल निर्माण, सडकको दुबैतर्फ गरी २० किलोमिटर खानेपानी पाइप विस्तार गरिएको थियो । यो आयोजना पनि चाइना गोन्जाउ शर्मा जेभीले सम्पन्न गरेको थियो । 

पञ्च वर्षे एकीकृत सहरी विकास आयोजना तोकिएको समयमै सम्पन्न गरेको भन्दै एडीबीले सरकारसँग नयाँ सम्झैता गरी ०१७ बाटै क्षेत्रीय सहरी विकास आयोजना संचालन गरेको हो । 

दोस्रोपटक आयोजना संचालित भएपछि नगरका सडक चिटिक्क परेका छन् । मुख्य सडकहरु फराकिलो बनाइएको छ । सडक ६ मिटरदेखि २८ मिटरसम्म चौडा बनाइएको छ । ४ फिटदेखि ६ फिटसम्मको सतह ढल बनाइएको छ । ‘प्राविधिक हिसावले सडकको आयु ३ वर्ष दिइन्छ तर नगरमा बनेका सडक १० वर्षभन्दा धेरै टिक्छन्’, आयोजना उप–व्यवस्थापक यमलाल पाण्डेले भने । आयोजनाबाट बनेका सडकको पिच भागमुनी राखिएका खानेपानी र टेलिफोनका संरचनाहरु निकालेर सडक छेउ फुटपाथको भागमा दुवैतर्फ सारिएको छ । यसले अब खानेपानी जडानका लागि सडक भत्काउनु पर्ने छैन । यसअघि पिचमुनी यी संरचना राखिँदै आएको थियो । यसले पटक–पटक सडक भत्काउनु पर्ने र मर्मत गर्नुपर्ने बाध्यता थियो । 

माटोको गुणअनुसार कमजोर माटो भएको सडकमा आरसीसी ढलाई गरिएको छ । मजबुत माटो भएको सडकमा पिच गरिएको छ । विद्युत् र टेलिफोनको पोल व्यवस्थित गरिएको छ । सडक सेन्टरलाइन पेन्टिङ, पार्किङ यरिया मार्किङ, कर्नस्टोन पेन्टिङ समेत गरिएको छ । विमानघाट पथ र रंगशाला पथमा वृक्षारोपण गरिएको छ । रंगशाला पथमा साइकल ट्रयाक समेत बनाइएको छ । ‘आयोजना समय अगाबै सकिँदैछ, नगर सुन्दरीकरण भएको छ । यसलाई दिगो बनाउन हामीले विशेष योजना बनाएर अघि बढ्दै छौं’, नगर प्रमुख हरिप्रसाद अधिकारीले भने, ‘जथाभावी फोहोर नफाल्ने, सडकै निर्माण सामाग्री र मोविलहरु नपोख्ने गरेमा दिगो हुन्छ । यसका लागि नगरबासीलाई सचेत गराउँछौं । नटेर्नेलाई कारबाही गर्छौं ।’

अब नगरमा बनेका सतह ढलले २४ करोड लिटर पानी बहन सक्ने क्षमता राख्छन् । प्रति घण्टा १ सय ५० मिलीलिटर पानी परे थेग्न सक्ने क्षमता यसको छ । सबै नाला बनिसके पछि नगरपालिका डुवानमुक्त हुनेछ । नगरपालिकाले निर्माण भएका सडक छेउमा सम्भव भएसम्म वृक्षारोपण गर्ने जनाएको छ ।

‘कतिपय ठाउँमा वृक्षारोपण गरिएको छ र संरक्षणका लागि विभिन्न संघसंस्थाले जिम्मा लिएका छन् । बाँकी ठाउँमा पनि वृक्षारोपण गरी हरियाली नगर बनाउने योजना हाम्रो छ’, उपप्रमुख उमा काफ्लेले भनिन् । नगरमा ३ सय किमी सडक छ । क्षेत्रीय सहरी, आन्तरिक स्रोत, सघन सहरी र यसअघि सम्पन्न एकीकृत सहरी विकास आयोजनाबाट अहिलेसम्म ८० किमी सडक फराकिला बनाइ आरसीसी तथा कालोपत्रे गरिएको प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाले बताए । बाँकी सडक ग्राभेल गरिएको छ । ‘बाँकी सडक पनि केही वर्षभित्रै कालोपत्रे हुन्छन्’, नगर प्रमुख अधिकारले भने ।

उत्साहित व्यापारीहरु 
केही वर्ष अघिसम्म बढ्दो सहरीकरण, अव्यवस्थित बस्ती, साँघुरा सडक, त्यसमाथि सामान्य वर्षाले पनि डुवान हुने समस्या नगरभित्र थियो । नगरको आन्तरिक स्रोत बलियो नहुँदा नगरपालिकाले चाहेर पनि नगरबासीको यथेष्ट समस्याहरु समाधान गर्न सकिरहेको थिएन ।

तर अहिले नगरभित्र आयोजना सञ्चालित भएपछि नगरको मुहारै फेरिएको छ । फराकिला सडकले दुर्घटनाको दर समेत घटाउँदै लगेको छ । व्यवसायीलाई व्यवसाय संचालनमा समेत निकै सहज भएकोउद्योग व्यापार संगठन रुपन्देही अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप