बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सवारी पार्किङका लागि ४ पटक टेन्डर आह्वान, तर कसैले इच्छा देखाएनन्

आइतबार, २२ असार २०७६, १५ : १३
आइतबार, २२ असार २०७६

पोखरा । पछिल्लो समय पोखरा महानगरपालिकाभित्र सवारी पार्किङको समस्या बढ्दै गएको छ  । पार्किङको लागि ठाउँ नहुँदा सवारीलाई सडककै छेउ लगाएर राख्नु पर्ने बाध्यता बढ्दो छ ।

सडकमा पार्किङ गर्न कसैको रोकतोक छैन । महानगरले नै सडक पार्किङको लागि ठेक्का टेन्डर गर्दै आएको छ । गत वर्षमा मात्रै महानगरले सवारी पार्किङका लागि ४ पटक टेन्डरको लागि सूचना निकाल्यो । २ वर्षका लागि । 
तर, टेन्डर रकम बढी भएको भन्दै तेस्रो सूचना प्रकाशित हुँदासम्म पनि आवेदन नै परेनन् । पहिलो र दोस्रो सूचनामा महानगरले ७ करोड ५७ लाखको टेन्डर निकालेको थियो । 

तेस्रो पटक सूचना सार्वननिक गर्दा समेत टेन्डरको लागि आवेदन नपरेपछि महानगरले रकममा केही हेरफेर गर्यो । ७ करोड ५७ लाख बाट घटाएर तेस्रो पटकमा ५ करोड ३९ लाख बराबरको टेन्डर निकाल्यो । 
महानगरले रकममा हेरफेर त गर्यो । तर, तेस्रो पटकमा पनि कसैका निवेदन भने परेन । 

चौथो पटकको टेन्डरमा महानगरले पहिलो पटकको टेन्डरको आधा रकम नै घटाएर सूचना निकाल्यो । तेस्रो पटकको सूचनामा आधा रकम नै घटाएर ३ करोड ५६ लाखको टेन्डर निकाल्यो । टेन्डर निकालेपछि ३ कम्पनीले आवेदन पर्यो । ‘मेन्स बिल्डर्स’, ‘अशेष निर्माण सेवा’ र ‘नाइस नेपाल’ ।

चौथो पटकमा ३ कम्पनीका आवेदन त परे । तर, महानगरले बोलाएको समयमा सम्झौताको ३ वटै कम्पनी सम्पर्कमा आएनन् । पोखरा महानगरका लेखा अधिकृत शिवहरि शर्माका अनुसार ३ कम्पनीले क्रमश ३ करोड ७३ लाख, ३ करोड ६० लाख र ३ करोड ५४ लाखको टेन्डरका लागि निवेदन दिएका थिए । 

उनका अनुसार ठेकेदार कम्पनीले महानगरको नियम, कानुनभन्दा बाहिर रहेर ठेक्का माग गरेकाले सहमति हुन सकेको छैन । ‘उहाँहलाई मौखिक रुपमा र पत्राचार पनि गरि सक्यौं । सहमतिका लागि बोलायौं,’ उनले भने, ‘तर, उहाँहरुको माग महानगरको नियम, कानुनभन्दा बाहिरका छन् । त्यसकारण पनि सम्झौता हुन सकेको छैन ।’ 

पार्किङको लागि सार्वजनिक, नीजि, साझेदारी र सडक ठेक्कामा लगाउने  महानगरका दुवै योजना असफल भए पछि सवारी पार्किङ झनै अस्तव्यस्त बनेको छ । बढ्दो सवारी साधानको चाप, सडकमा अर्को तर्फ सवारी पार्किङ हुँदा सहर अव्यवस्थित देखिदै गएको छ ।   

२०५७ साल देखि पोखरा महनगरपालिकाले पार्किङको लागि सडक ठेक्कामा लगाउदै आएको छ । सडकमा पार्किङ निरुत्साहित गर्न महानगरलाई नागरिक स्तरबाट चर्को दिवाव थियो । तर, पनि महनगरले ठेक्का लगाउने प्रयत्न जारी राख्दै आएको छ ।

ठेक्का नलाग्ने पक्का भए पछि महानगरले सार्वजनिक, निजी साझेदारी शैलीमा पार्किङस्थल बनाउने भन्दै खाली जग्गा खोज्न थाल्यो । तर यसमा पनि महानगर सफल हुन सकेको छैन । खाली जग्गा भाडामा उपलब्ध गराउन महानगरले सुचना जारी गरे पनि कहि कतै बाट जग्गा प्राप्त नभए पछि महानगरको योजना सफल हुन सकेको छैन । 

महानगरका यातायात शाखा प्रमुख सुरेन्द्र पौडेलका अनुसार सहरी क्षेत्रमा खाली जग्गा भेट्टाउनै गाह्रो छ, व्यवसायीक भवन र आवास गृहले खचाखच छन् ।  ‘यसले गर्दा पनि पार्किङको व्यवस्थापन थप चुनौति बन्दै गएको छ,’ उनले भने । 

व्यस्त सडक जाम भइरहँदा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत सास्ती छ । भने पार्किङले सडक साँघुरो बनाउँदा गाडी चलाउन समेत जोखिम बढ्दो छ । सडकका दुवैतिरको छेउमा पार्किङ गर्दा पैदल यात्री र व्यवसायीक प्रतिष्ठानमा समेत नकारात्मक असर परेको गुनासो गर्छन् । पोखराका मुख्य व्यापारीक केन्द्र महेन्द्रपुल, चिप्लेढुङगा, नयाँबजार, न्युरोड, पृथ्वीचोक, लेकसाईडमा पार्किङको समस्या छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप