किन चाहिन्छ शरीरलाई 'सुनभन्दा पनि गुनिलो नून' ?
नूनमा क्यालोरी हुँदैन, प्रोटिन हुँदैन, न त यसमा कार्बोहाइड्रेट नै हुन्छ । अप्रशोधित नूनमा चाहिँ केही मात्रामा खनिजहरु हुन्छन् । तर पनि हाम्रो शरीरलाई नून नभई हुँदैन । किन ?
धेरैलाई लाग्न सक्छ– खानाको स्वाद बढाउन वा खानालाई स्वादिलो बनाउन नून चाहिन्छ । एक हदसम्म यो पनि ठीकै कुरा हो । किनभने, नूनबिनाको खानेकुरा हामीलाई स्वादिलो लाग्दैन । त्यसैले हाम्रो प्रायः खानेकुराहरुमा नून कुनै न कुनै रुपमा समावेश भएकै हुन्छ ।
तर नूनको महत्त्व खानालाई स्वादिलो बनाउने अर्थमा मात्र हाम्रो शरीरको लागि उपयोगी छ भन्नु पटक्कै वस्तुसम्मत हुँदैन । वास्तवमा स्वास्थ्यको दृष्टिकोणले नून हाम्रो शरीरको लागि एक अपरिहार्य तत्त्व नै हो । त्यसैले के पनि भनिन्छ भने, नून सुनभन्दा पनि गुनिलो हुन्छ ।
नून एउटा रासायनिक यौगिक हो । यसलाई सोडियम क्लोराइड (रासायनिक सुत्र NaCl) भनिन्छ । हामीले खाने नूनमा सोडियम र क्लोरिन तत्वका अतिरिक्त पोटासियम र इलेक्ट्रोलाइट्सहरु पनि हुन्छन् । मृगौलामार्फत् हाम्रो शरीरमा पानी निश्चित मात्रामा कायम राखिराख्न तथा शरीरमा एसिडको मात्रालाई नियन्त्रण गर्न नूनमा भएका यी पदार्थहरुले पनि हामीलाई मद्दत गर्दछ । शरीरमा नूनको आवश्यक मात्रामा आपूर्ति हुन सकेन भने, मृगौलाले हाम्रो शरीरमा पानीको मात्रालाई नियन्त्रण गर्न सक्दैन । साथसाथै, शरीरमा एसिडको मात्रा पनि बढ्न जान्छ । यसले गर्दा शरीरमा अनेकौं समस्याहरु देखापर्न थाल्छ ।
पोषणविद्हरु एउटा वयस्क मानिसको खानामा दैनिक ३ देखि ८ ग्राम नून हुनुपर्ने सुझाव दिन्छन् । अझ मांसहारीहरुका लागि त यो मात्रा पनि आवश्यक हुँदैन, किनभने, उनीहरुले खाएको मासुबाट नै शरीरको लागि आवश्यक नूनको आपूर्ति भइरहेको हुन्छ । त्यसो त प्रायः मानिसहरु शरीरलाई चाहिनेभन्दा बढी नै नून दैनिक रुपमा खाने गर्ने गर्छन् । त्यसैले यताका वर्षहरुमा नूनको अत्याधिक उपभोगले गर्दा मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएको कुरा अनुसन्धानकर्ताहरु बताउँदछन् ।
नून खाँदा शरीरमा के हुन्छ ?
संसारमा सामान्यतः नून दुईथरिका पाइन्छन् । एउटा हामीले खानेकुराहरु बनाउँदा हालिने नून, अर्को चाहिँ तरकारी फलफूल तथा अन्य खाद्य पदार्थमा प्राकृतिक रुपमा नै पाइने नून । हाम्रो शरीरलाई नूनको आवश्यकता पर्ने भए पनि यो आवश्यकता तरकारी, फलफूल तथा नट्स (बदाम, काजु आदि) बाट नै पूरा हुन्छ । हामीले आफ्नो दैनिक खानामा यी खाद्यपदार्थहरु समावेश गर्ने हो भने शरीरको लागि आवश्यकता पर्ने नूनको आपूर्ति ती खाद्य पदार्थहरुबाट नै हुन्छ, हामीले थप नून खाइरहनै पर्दैन ।
खानेकुरामा पाइने नूनलाई जैविक नून (organic salt or sodium) भनिन्छ । जैविक नूनका मोलेक्यूल्स (molecules) हरु अन्य जैविक पदार्थहरुको भन्दा अलि जटील हुन्छ । त्यसैले हामीले खाएको जैविक नूनलाई हाम्रो आमाशयले अति सुस्त गतिमा सोस्ने गर्छ । तर त्यसको विपरीत, खानेकुराहरुमा अतिरिक्त हालिने नून चाहिँ आमाशयले अति चाँडो सोस्छ ।
यसरी सोसिएको बढी नून शरीरको लागि आवश्यक पर्दैन । यस्तो बढी नूनलाई रगतको माध्यमबाट मृगौलाले छान्ने काम गर्छ । तर अति छिटो सोसिने नून मृगौलाले नछानिन्जेलसम्म शरीरको कोषहरु (cells) का बीचमा संग्रहित हुन्छ । यसरी संग्रहित नूनले कोष वरिपरिका तन्तुहरुलाई जलाउन थाल्छ । त्यस असरलाई रोक्न कोषहरुले कोषभित्र नै पानी पैदा गर्छ जसले नूनलाई घोलेर त्यसको जलन कम पारिदिन्छ । यसरी पानी पैदा गर्दा कोषको तन्काइ हट्न जान्छ फलतः त्यहाँ चाउरी पर्छ । यस क्रियामा कोषहरुमा रहेको पोटासियम समेत घटेर कोषको रासायनिक संरचनामा नै परिवर्तन आउँछ ।
कोषमा पोटासियमको मात्रा कमी भएपछि रगतमा भएको नून अर्थात् सोडियम कोषका भित्ताहरुमा पस्न जान्छ । फेरि त्यहाँ जलन शुरु हुन्छ । त्यसलाई कम गर्न फेरि कोषमा पानी पस्छ । चाउरिएको कोष फेरि फुलिन्छ । यो क्रिया रगतमा रहेको अतिरिक्त नूनलाई मृगौलाले छानेर नफालेसम्म निरन्तर चलिरहन्छ ।
तर हामीले सधैैं बढी नून खाइरह्यौं र शरीरमा माथि उल्लिखित क्रिया–प्रतिक्रिया आवश्यकताभन्दा बढी नै चलिरह्यो भने शरीरका कोषहरुको पानीको मात्राको सन्तुलनमा आउने हेरफेरले मांसपेशी, रक्तसंचार प्रणालीका भल्भहरु र मुटुसम्म रगत पुर्याउने आर्टरीहरुमा अम्लपन बढाउने, कडापन पैदा गर्ने, खाटा बसाउने तथा त्यसलाई नष्ट गर्ने खतरा बढ्छ । कालान्तरमा यसले मुटुलाई नै काम नलाग्ने समेत बनाइदिन सक्छ । उत्तर अमेरिकी क्षेत्रमा मुटुको रोगबाट धेरै मानिसहरुको मृत्यु हुनुको प्रमुख कारण नै पनि यही नूनको अत्यधिक प्रयोग नै मानिन्छ ।
घातक हुन्छ नून
प्राचीन कालमा चीनमा आत्महत्या गर्ने वा अपराधीलाई मृत्युदण्ड दिने उपायहरुमध्ये धेरै नून खाने पनि एक थियो । त्यसको लागि अपराधीलाई पानीमा अत्यधिक बढी नून घोलेर पिलाइने गरिन्थ्यो ।
सामान्यतः एक औंस नूनले हाम्रो शरीरमा ६ पाउण्ड अतिरिक्त पानीको जरुरत पैदा गरिदिन्छ । धेरै मात्रामा नून खाएपछि हाम्रो शरीरमा धेरै नै बढी पानीको जरुरत पर्ने हुन्छ, जुन एकै पटकमा आपूर्ति हुन सक्दैन । फलतः शरीरमा पानीको भीषण कमी हुन्छ । यही कारणले गर्दा नै धेरै बढी मात्रामा खाएको नून घातक हुने गर्छ ।
मान्छेले नूनको प्रयोग कहिलेदेखि गर्न थाल्यो ?
आजभोलि संसारभरि नै खानेकुरालाई स्वादिलो बनाउनको लागि नूनको प्रयोग गर्ने गरिन्छ । मानिसको खानामा नून एउटा अभिन्न अंग बनिसकेको छ । नूनको स्वाद चाखिसकेको कसैले पनि नूनबिनाको खाना रुचाउन सक्दैन ।
तर नूनको बारेमा थाहा नपाएका प्राचीन कालका मानिसहरु चाहिँ के गर्थे होलान् त ? उत्तर सहज छ– उनीहरु नूनबिना नै खानेकुरा खाने गर्थे ।
वास्तवमा, अमेरिका तथा संसारका कतिपय ठाउँका मानिसहरुलाई यूरोपियनहरुले खानेकुरामा नूनको प्रयोग गर्न सिकाएका थिए । अझै पनि मध्य अफ्रिकाका कतिपय स्थानहरुमा नूनलाई विलासिताको वस्तु मानिन्छ । त्यहाँ नूनलाई धनी मानिसहरुले मात्रै उपयोग गर्न सक्छन् ।
हाम्रो शरीरमा नून अति आवश्यक छ । तर दूध खाने तथा मासुलाई काँचै वा पोलेर खाने समुदायको लागि थप नूनको आवश्यकतै पर्दैन । उनीहरुले शरीर विकासको लागि आवश्यक पर्ने मात्राको नून, त्यही दूध र मासुबाट नै पाइरहेका हुन्छन् । तर शाकाहारी तथा मासुलाई उसिनेर खानेहरुका लागि भने थप नूनको आवश्यकता पर्दछ ।
मानिसले घुमन्ते जीवन त्यागेपछि नूनको प्रयोग गर्न थालेको पाइन्छ । विशेष गरेर खेतीपातीको युगमा प्रवेश गरेपछि मानव जीवनमा नून अभिन्न अंग बन्न पुगेको देखिन्छ ।
त्यसो त मानव जीवनमा नूनको महत्त्व खानालाई स्वादिलो बनाउने वा शरीरलाई आवश्यक पर्ने तत्वको अर्थमा मात्र सीमित छैन । यसको आफ्नै सांकेतिक महत्त्व पनि रहेको पाइन्छ । प्राचीन कालमा देउतालाई बली दिँइदा बलीको साथै नून पनि दिने गरिन्छ । त्यसबेला नूनको आफ्नै विशेष धार्मिक महत्त्व रहेको पाइन्छ ।
खानेकुरालाई लामो समयसम्मका लागि सुरक्षित गर्नको लागि पनि मानिसहरुले नूनको प्रयोग गर्ने गरेको पाइन्छ । नूनको यही गुणले गर्दा यसलाई लामो समयसम्म सुरक्षित रहने वस्तुको प्रतीकको रुपमा पनि लिने गरेको पाइन्छ । एक समयमा यूरोपतिर कुनै पनि सम्झौता वा लिखत गर्नुपर्दा नून हालेको खानेकुरा खाएर तथा खुवाएर गर्ने गरिन्थ्यो । यसो गर्दा त्यो सम्झौता वा लिखत पक्का र दिगो कालसम्मको लागि भएको मानिन्थ्यो । हाम्रै नेपाली समाजमा पनि कसैकोमा नून हालेको खाना खाएपछि उसको भलाइ मात्रै गर्नुपर्छ भन्ने मान्यता कायमनै रहेको छ । भनाइ नै छ– नूनको सोझो गर्नू ।
नूनको महत्त्व मानिसले बुझ्दै गएपछि यसको व्यापारिक महत्व पनि स्थापित हुँदै गयो । रोचक त के छ भने, इटालीको एउटा प्राचीन सडकको नाम नै नूनको बाटो (Via Salaria) रहेको छ । यसको नाम यस्तो हुनुको कारण चाहिँ प्राचीन कालमा त्यही बाटो भएर नून ल्याउने गरिनाले हो ।
तलबको रुपमा नून
हामीले कतै काम गरेवापत लिने मासिक तलबलाई अंग्रेजी भाषामा Salary भनिन्छ । यो शब्द पनि नूनबाट नै आएको हो । प्राचीन रोमनकालमा सैनिक वा अफिसरहरुलाई तलबको साटोमा नून नै दिने गरिन्थ्यो । यसबाट पनि त्यसबेला नूनको कति व्यापक महत्व थियो भन्ने अनुमान गर्न सकिन्छ ।
प्राचीन कालदेखि नै मानिसहरुको लागि नूनको ठूलो महत्त्व थियो । प्राचीन मेक्सिकोमा नूनलाई अति नै महत्त्व दिइन्थ्यो । त्यसबेला नून आजभोलिको सून जत्तिकै महत्वपूर्ण र महंगो मानिन्थ्यो । त्यसैगरी, प्राचीन कालमा यूरोपमा ज्यालाको रुपमा पैसाको सट्टा नून नै दिने गरिन्थ्यो । अंग्रेजी भाषामा कामको ज्यालालाई Salary भनिन्छ । वास्तवमा यो Salary शब्द नै ल्याटिन शब्द Salt बाट आएको हो ।
छाला र नून
मान्छेको शरीरमा नून विशेष गरी छालामा आएर जम्मा हुने गर्छ । यदि मान्छेले खानामा नून मिसाउन छोड्ने हो भने, विभिन्न माध्यमबाट रगतमा भएको नून निस्काशन हुँदै जान्छ । यस अवस्थामा हाम्रो छालामा जम्मा भएको नून प्रयोग हुन थाल्छ, ताकि रगतमा नूनको निश्चित मात्रा कायम रहन सकोस् । त्यसो त कतिपय अवस्थामा छालामा जम्मा भएको नून यसरी प्रयोग हुनु पनि फाइदाजनक नै हुन्छ । त्यसैले कहिलेकाहीँ छालाको रोगहरुको उपचार गर्ने क्रममा चिकित्सकले नून नखाने सल्लाह दिने गर्छ ।
नून विशेष गरेर मृगौलामार्फत् शरीरबाट मुत्रसँग मिसिएर शरीर बाहिर निस्कन्छ । त्यसकारण, मृगौलाका रोगीहरुलाई पनि नून कम खान वा खाँदै नखान सिफारिश गरिन्छ ।
Main photo: https://www.goodfoodjobs.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकको कार्यालय भवन निर्माण हुँदै
-
कम्बोडियामा हुने आईक्याप सभामा भाग लिन माओवादी प्रतिनिधिहरू किन गएनन् ?
-
एमाले जग्गा विवाद : पाँचौँ पटक सुनुवाइ सर्यो, आज पनि हेर्न नभ्याइने हुँदै स्थगित
-
नेतन्याहुको नाममा अदालतले पक्राउ पुर्जी जारी गरेपछि रिसायो अमेरिका
-
सौर्यमन्डल बाहिर भेटियो शिशु ग्रह
-
एमालेको र्याली सभामा परिणत, २५ तस्बिरमा हेर्नुहोस्