शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेसिया रोजगारी : तोडियो स्वास्थ्य परीक्षणको सिण्डिकेट, ९९ वटा संस्थाले स्वास्थ्य परीक्षण गराउन पाउने

शुक्रबार, २० असार २०७६, १७ : १२
शुक्रबार, २० असार २०७६

अन्ततः एक वर्षभन्दा लामो समयदेखि रोकिएको मलेसिया रोजगारीको एउटा महत्त्वपूर्ण गाँठो अर्थात् स्वास्थ्य परीक्षणको सिण्डिकेट शुक्रबारबाट तोडिएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै ९९ वटा स्वास्थ्य संस्थालाई मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गराउन पाउने गरी स्वीकृति प्रदान गरेको छ ।

यसअघि श्रम मन्त्रालयले २०७५ साल जेठ २ गते मलेसिया रोजगारीमा सिण्डिकेट लागू भएको भन्दै बायोमेट्रिक, आइएससी, ओएससी र भिएलएन अवैध घोषणा गरेको थियो । त्यसलगत्तै मलेसिया रोजगारीको सबै बाटो बन्द भएको थियो ।

मलेसिया रोजगारीमा सिण्डिकेट लागू भएको भन्दै सिण्डिकेट अन्त्य नभएसम्म नेपाल सरकारले मलेसियामा कामदार नपठाउने अडान लिएको थियो ।

त्यसलगत्तै गएको कात्तिक १२ गते नेपाल र मलेसिया सरकारबीच एमओयु भई कामदार पठाउने सहमति भएको थियो ।

सहमतिमा स्वास्थ्य परीक्षण गराउन स्वीकृति पाएका ३९ वटा स्वास्थ्य सस्थाको सिण्डिकेट तोड्ने सहमतिसमेत भएको थियो ।

सहमति अनुसार मलेसिया र नेपाल सरकारको संयुक्त टोलीले संयुक्त अनुगमन गरी मापदण्ड पुगेका स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षणको अनुमति दिने कुरा उल्लेख थियो ।

त्यसै सहमतिअनुसार श्रम मन्त्रालयले गएको चैत १८ गते गोरखापत्रमा सूचना प्रकाशित गरी मलेसिया रोजगारीको स्वास्थ्य परीक्षण गराउन इच्छुक स्वास्थ्य संस्थालाई सुचीकरणमा समावेश हुन आवेदन मागेको थियो ।

मन्त्रालयले मागेको आवेदनमा २ सय ९० वटा स्वास्थ्य संस्थाले आवेदन दिएका थिए । जसमध्ये मन्त्रालय तथा प्राविधिक टोलीको संयुक्त अनुगमनले ९९ वटा स्वास्थ्य संस्थाको मापदण्ड पुगेको भन्दै उनीहरुलाई सुचीकृत गरेको हो ।

मलेसिया रोजगारीका लागि सरकारले ९९ वटा स्वास्थ्य संस्थालाई सुचीकरण गरेसँगै यसअघि कायम रहेको ३९ वटा स्वास्थ्य संस्थाको सिण्डिकेट तोडिएको छ ।

पूराना ३८ संस्थाले अनुमति पाए, एउटाको मापदण्ड पुगेन

अहिले सूचीकरणमा परेका ९९ स्वास्थ्य संस्थामध्ये ३८ वटा स्वास्थ्य संस्था पुरानै स्वास्थ्य संस्था हुन् । मापदण्ड पूरा नभएर अहिले सुचीकरणमा नपरेको एउटा संस्था भने ग्वार्कोको सुनापति पोलिक्लिनिक एण्ड हेल्थ सेन्टर हो ।

मलेसियाको ‘ओके’ भनेपछि मात्रै स्वास्थ्य परीक्षणको सुरुवात

श्रम मन्त्रालयले ९९ वटा स्वास्थ्य संस्थालाई सुचीकरण गरेसँगै मलेसिया रोजगारी खुलिहाल्छ भन्नेचाहिँ होइन । अब श्रम मन्त्रालयले मापदण्ड पूरा गरी सुचीकृत भएका ९९ स्वास्थ्य संस्थाको सुची मलेसियाको प्राविधिक टोलीलाई पठाउनेछ । त्यसपछि मलेसियाबाटै प्राविधिक टोली आउने वा नेपालको प्राविधिक टोलीले दिएको मापदण्डको रिपोर्टलाई नै आधार मानेर ‘ओके’ भनेपछि मात्रै यी संस्थाले मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गराउन पाउनेछन् ।

फाइदा पूराना ३८ संस्थालाई नै

अहिले सरकारले ९९ वटा स्वास्थ्य संस्थालाई सुचीकृत गरेपनि यो नै अन्तिम भने होइन । अब पहिले मलेसियाको प्राविधिक टोलीले ओके गर्नुपर्छ भने यदि सफ्टवेयरमार्फत् रेकर्ड पठाउने हो भने सफ्टवेयर पनि उपलब्ध गराउनु पर्छ । तर हाल सञ्चालनमा रहेको सफ्टवेयर अहिले ३८ वटा स्वास्थ्य संस्थासँग मात्रै उपलब्ध छ । यसकारण यदि बायोमेट्रिकको पुरानै सिस्टम प्रयोगमा ल्याएको खण्डमा यसको प्रतक्ष फाइदा पुराना ३८ वटा स्वास्थ्य संस्थालाई मात्रै हुनेछ ।

यद्यपि श्रम मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मी भने नेपाल सरकारले पुरानो सिस्टम र सिण्डिकेट खारेज गरिसकेको भन्दै यो पुरानो सिस्टमसँग सम्बन्धित विषय नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘यो पुरानो सिस्टमको निरन्तरता होइन । हामीले पुरानो सिस्टमलाई पहिले नै खारेज गरिसकेका छौँ । अबको प्रक्रिया नयाँ ढङ्गबाट अगाडि बढ्छ ।’

श्रम मन्त्रालयले पुरानो सिस्टम बन्द भइसकेको भनेपनि नयाँ सिस्टम प्रयोगमा नआउञ्जेल पुरानै सिस्टमबाट चलाउन चाहेको खण्डमा कम्तीमा ६ महिनाका लागि पुराना स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य परीक्षण गराउन पाउनेछन् ।

मलेसिया सरकारले माइग्राम्सको खोरेजी गरेपनि बायोमेट्रिक स्वास्थ्य परीक्षणका सम्बन्धमा भने अहिलेसम्म कुनै निर्णय लिएको छैन ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप