शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीको ठाडो प्रस्ताव : भारतको तीव्र दबाबपछि विषादी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय

शुक्रबार, २० असार २०७६, १६ : ४२
शुक्रबार, २० असार २०७६

काठमाडौँं– भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने  तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत आफ्नै निर्णय परिवर्तन गरेको छ । 

सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिँदै आएको थियो । 

भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दिएको दबाबपछि आफ्नो निर्णबाट पछि हटेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाकामा विषादी जाँच नगर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । 

पूर्वएमाले निकट ती मन्त्रीका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेका थिए । 

‘हाम्रो राष्ट्रवाद कस्तो हो भन्ने यसैबाट बुझिन्छ । यो भन्दा अरु के भन्न सकिन्छ र !’ व्याङ्ग्यात्मक शैलीमा ती मन्त्रीले भने, ‘जतिसुकै ठूला र चर्का कुरा गरेपनि भारतको दबाब थेग्न मुस्किल रहेछ ।’ 

मन्त्रिपरिषद्को यो निर्णयसँगै भन्सार नाकामा शुक्रबारबाटै भारतबाट नेपाल भित्रिने तरकारी र फलफुल जाँच नगरी नेपाल पठाउन सर्कुलर जारी गरेको भन्सार विभागका एक उच्च अधिकारीले बताए । 

गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो । 

सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु भएको थियो । 

कालीमाटी बजारमा आउने तरकारी तथा फलफूल ४० प्रतिशत भारतबाटै आउँछ । बाँकी ६० प्रतिशत बजार स्थानीय उत्पादनले ओगटेको छ । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६ अर्ब ४६ कोड ७५ लाख रूपैयाँ बराबरको तरकारी र १७ अर्ब ३ करोड ९६ लाखको फलफूल आयात भएको छ भने नेपालबाट यही अवधिमा १ अर्ब २२ करोड ९९ लाख बराबरको मात्र तरकारी तथा फलफूल निर्यात भएको रेकर्ड छ । 

तरकारीको विषादी जाँच नगर्न भारतीय दबाब, के गर्दैछ नेपाल ?

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

१० प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप