कारागार कि होटलको कोठा ? नख्खु जेलभित्रै लागूऔषध कारोबारीको ‘इन्टरटेनमेन्ट जोन’ (भिडियोसहित)

काठमाडौं । लागूऔषध ओसारपसारमा पक्राउ परेका सन्तोष गुरुङलाई जिल्ला अदालत काठमाडौँले ६ वर्षअघि पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारा पठाउने आदेश दियो । गुरुङ यसअघि पनि पटक–पटक पक्राउ पर्दै आएका व्यक्ति हुन् ।
अदालतको फैसलापछि केन्द्रीय कारागार पठाइएका उनी त्यहाँ २ महिना पनि टिक्न सकेनन् । त्यसपछि उनलाई ललितपुरस्थित नख्खु जेल सारियो । नख्खु जेलबाट पनि गुरुङलाई मकवानपुरको भीमफेदी पठाइयो । भीमफेदीबाट गुरुङलाई करिब १ वर्षअघि डिल्लीबजार कारागार ल्याइयो । अन्ततः डिल्लीबजार कारागारबाट फेरि ‘शक्ति’को प्रयोग गर्दै उनी नख्खु जेल आए ।
जेल प्रशासनले गुरुङको कारागार पटक–पटक परिवर्तन हुनुमा ‘सुरक्षा’ बताए पनि डिल्लीबजार कारागारमा टिक्न नसक्नुको प्रमुख कारण, त्यहाँ अर्को समूहको ‘दबदबा’ रहनु नै हो ।
यता, नख्खु जेलभित्र भने स्थिति फरक छ । नख्खु कारागारको नयाँ ब्लकको चौकीदार छन्, सन्तोष गुरुङ । गुरुङकै खटनपटनमा चल्छ नख्खु कारागारको नयाँ ब्लक ।
यदि गुरुङले भनेको नमाने, उनको रजगजमा साथ र सहयोग नगरे वा उनको विरोध गरेमा त्यहाँ उनले अन्य कैदीबन्दीलाई रामधुलाई गर्छन् । जसको कारण जेलभित्र गुरुङले जे गरे पनि अन्य कैदीबन्दीले सहनुको विकल्प छैन ।
जेलबाटै गुरुङको कमाउ धन्दा
त्यसो त नख्खु जेलबाटै गुरुङले कमाउ धन्दा र अझै पनि लागूऔषधको कारोबार गरिरहेको एक कैदी बताउँछन् । उनले स्मार्ट वाचमा सिमकार्ड राखेर फोन गर्ने गरेको र त्यहीँबाटै इन्टरनेट चलाउने गरेको समेत एक कैदीले रातोपाटीलाई बताए ।
उनको धन्दाबारे बोल्दा एक कैदीले पिटाइ खानुपरेको भन्दै जेल प्रशासनकै मिलेमतोमा उनले धन्दा चलाइरहेको ती कैदीले बताए ।
नख्खु जेलमा ३ वटा ब्लक छन्– नयाँ ब्लक, सीआरसी ब्लक र डीआरसी ब्लक । गुरुङ नयाँ ब्लकका चौकीदार (मुख्य नाइके) हुन् ।
नख्खु जेलका जेलर हुन्, वेदप्रसाद अर्याल । नख्खु जेलको सुरक्षाको जिम्मा भने सशस्त्र प्रहरीका डीएसपी हर्कराज पन्तको हातमा छ ।
गुरुङ चौकीदार रहेको नख्खु जेलमा डीएसपी पन्त भने दुई साताअघि अर्थात् असार ७ गते सरुवा भएर आएका हुन् ।
जेलभित्रै अनशन
चितवन कांग्रेसका युवा नेता शिव पौडेलको हत्यामा संलग्न व्यक्ति हुन्, सोचेन्द्र राई । राईमाथि यातना दिएको र अमानवीय व्यवहार गरेको भन्दै गुरुङलाई कारवाहीको माग गर्दै उनी नख्खु कारागारभित्रै अनसन बसेका थिए । तर उनी अनशन बसेपछि हाल उनलाई केन्द्रीय कारागारमा सरुवा गरिएको छ ।
नख्खु जेलमा अनशन सुरु गरेका राईलाई जेलर अर्याल र चौकीदार गुरुङको मिलेमतोमा सेन्ट्रल जेल सरुवा गरिएको बताइएको छ । सेन्ट्रल जेलमा पनि उनी अनशनमै छन् ।
कारागार नियमवालीमा के छ ?
चौकीदार, नाइके, सहनाइके खाली भै भर्ना गर्नुपर्दा जेलरले सबै कैदीबन्दी वा थुनुवा चिन्न सक्ने, असल चालचलन भएको भरसक लामो अवधिको लागि कैद परेको कैदी वा थुनुवा मध्येबाट भर्ना गर्नुपर्छ ।
भर्ना भैरहेको चौकीदार, नाइके, सहनाइकेले कानुनको बर्खिलाप गरेमा ऐन र प्रचलित नेपाल कानुन बमोजिम निजको ठाउँमा अर्को भर्ना गर्नुपर्छ ।
तर पटक–पटक लागूऔषध कारोवारमा संलग्न रही जेल जीवन बिताएका र चालचलन खराब रहेका कैदीबन्दी गुरुङलाई नै नयाँ ब्लकमा चौकीदार राखिएको छ ।
चौकीदार बनेपछि सिधादेखि विभिन्न शीर्षकमा पैसा पाउने भएकाले चौकीदार बन्न गुरुङले विभिन्न उपाय अपनाएर उनी चौकीदार बने ।
तर लागूऔषध मुद्दामा जेल चलान भएका गुरुङ भने जेलर अर्याल र डीएसपीको मिलेमतोमा चौकीदार पदमा छन् ।
यता सीआरसी ब्लकका मुख्य नाइके (चौकीदार) पनि लागू औषध मुद्दाका व्यक्ति छन्, अर्जुन महर्जन । सीआरसी ब्लककै बैदार न्यायाधीश रणबहादुर बमको हत्याकाण्डमा संलग्न शिव चौधरी रहेका छन् । बैदार चौकीदार पछिको पद हो ।
यस्तै डीआरसी ब्लकका मुख्य नाइके सिजन यादव छन् ।
गुरुङको कोठा सुविधासम्पन्न होटलको जस्तै
नख्खु कारागारमा जेल जीवन बिताइरहेका कैदी गुरुङको कोठा हेर्ने हो भने बन्दीको कोठा भन्दा पनि कुनै सुविधासम्पन्न होटलको कोठा जस्तै देखिन्छ ।
उनको कोठामा आकर्षक बेड, अट्याच बाथरुम, स्मार्ट टिभी, ल्यापटप, मोबाइल आदि सबै सुविधा उपलब्ध रहेको छ ।
जबकि जेलजीवन बिताइरहेकाहरुले जेलमा मोबाइल, इन्टरनेट, ल्यापटप आदि सामग्री प्रयोग गर्न पाउँदैनन् । तर नख्खु कारागारका चौकीदार गुरुङलाई भने यो सबै सुविधा उपलब्ध गराइएको छ, जेल प्रशासनकै सहयोगमा ।
जेलभित्र बस्दै आएका गुरुङको कोठा कुनै तारे होटलको भन्दा कम छैन । सानो खाट, ३२ इन्चको स्मार्ट टिभी, कपडा राख्ने र्याक, महंगो पर्दा, जुत्ता राख्ने र्याक, अट्याच बाथरुम, मोबाइलको सिमकार्ड राखेर चलाउन मिल्ने स्मार्ट वाचसहितले सजिएको छ, उनको कोठा ।
जेलको कोठामा कन्डमका प्याकेट र ‘पोर्न मुभी’ !
नख्खु कारागारमा जेल जीवन बिताइरहेका कैदी गुरुङको कोठाको गोप्य भिडियो रातोपाटीलाई प्राप्त भएको छ ।
रातोपाटीलाई प्राप्त गोप्य भिडियोमा सन्तोषको बेडको सिरानीमुनि कन्डमको प्याकेट देखिन्छ भने उनको कोठामा ३२ इञ्चको स्मार्ट टिभीमा ‘पोर्न मुभी’ चलिरहेको छ ।
त्यसैगरी उनको रुममा मोबाइल चलाउन मिल्ने स्मार्ट वाच देखिन्छ भने ल्यापटपको दृश्य ‘सिन्क’ गरेर टिभीमा हेरिरहेको देख्न सकिन्छ । टिभीमा उनको प्रेमिका वा आफन्तसँगको तस्वीर तथा केही अन्तरङ्ग दृश्य पनि देख्न सकिन्छ ।
हेर्नुहोस् रातोपाटीलाई प्राप्त केही सम्पादित दृश्य ।
रातोपाटीलाई नख्खु कारागारभित्रको गोप्य दृश्य प्राप्त भएपछि हामीले कारागार व्यवस्थापन विभागका महानिर्देशक डा. हरिप्रसाद मैनालीलाई उक्त दृश्य देखायौँ । उनले तत्कालै आफूले अनुगमनमा पठाउने आश्वासन दिए ।
असार १३ गते शुक्रबार हामीले उक्त दृश्य देखाए पनि त्यसको तीन दिनपछि ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन टोली नख्खु कारागार पुगेको थियो । यद्यपि उक्त अनुगमनमा मिडियाका प्रतिनिधि भने लगिएन ।
सहायक सिडियो भन्छन्, : ‘अनुगमनमा केही देखिएन’
जिल्ला प्रशासन कार्यालय लतिलपुरका निमित्त सीडीओ डमर प्रसाद निरौलाले घटनाबारे थाहा पाएपछि तत्कालै नख्खु जेल अनुगमन गर्न गएको रातोपाटीलाई बताए ।
अनगुमनको क्रममा चौकीदार गुरुङ सुत्ने कोठा सिंगल नभएको र त्यहाँका कैदीहरुले पनि आफूलाई सोही कुरा जानकारी गराएको निरौलाले बताए ।
उनले भने, ‘गुरुङको भनिएको कोठा अनुगमन गर्दा न टिभी भेटियो । न त एउटा खाट नै । अन्य कैदीहरुले गुरुङ हामीसँग नै सुत्ने जानकारी गराए ।’
त्यस्तै डीएसपी हर्कराज पन्तले यदि त्यस्तो भिडियो बाहिर आएको हो भने सत्यतथ्य छानबिन हुनुपर्ने बताए ।
उनले भने, ‘केही दिनअघि मात्र यहाँ आएको हुँ । घटनाबारे त्यति धेरै जानकारी छैन । तर यदि भिडियो नै बाहिर आएको हो भने, त्यसबारे गम्भीर छानबिन हुनुपर्छ ।’
रातोपाटीले घटनाबारे बुझ्न खोज्दा नख्खु कारागारका जेलर वेदप्रसाद अर्याल सम्पर्कमा आउन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण