केन्द्रीय संस्करण

सङ्ग्रहालय स्थापना र इतिहासको पुनर्लेखन

person explore access_timeअसार १९, २०७६ chat_bubble_outline0

एउटा सङ्ग्रहालय देशको ऐना हो । जसले विगतको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, ऐतिहासिक स्थिति झल्काउँछ । अनि यो धेरै पढे लेखेका विद्वानहरूले लेखेका अप्ठ्यरा शब्दहरूले भरिएका पुस्तक होइनन् । यो भारी बोक्ने भरिया, निरक्षर, केटाकेटी, शिक्षित, विदेशी सबैले बुझ्न सक्ने ‘विश्व भाषा’ जस्तै खुला विद्यालय हो । दोस्रो विश्वयुद्धपछि उपनिवेशबाट स्वतन्त्र भएका सानाठूला मुलुकहरूले आआफ्ना संस्कार संस्कृतिलाई खोजिरहेको अवस्थामा सङ्ग्रहालयको आवश्यकता अझै बढेको छ । लडाइँ, द्वन्द्व, उपनिवेश आदिको कारणले एउटै देश पनि विभिन्न टुक्रामा विभाजित भई विभिन्न मुलुकहरू धेरै मुलुक बनेको अवस्थामा समेत सङ्ग्रहालयले ती बेमैत्री बनेका देशबीच पनि उनीहरूको सभ्यता, संस्कार, संस्कृतिको समानता देखाएर मित्रतामा पुनः फर्काउने सम्भावना प्रष्टै रहेको छ । त्यसैगरी एउटै देशभित्र पनि सयौँ भाषा, जात, संस्कार हुन सक्छन् । उदाहरणका लागि नेपालमा १ सय २० भन्दा बढी भाषा र १०० भन्दा बढी जात छन् । ती सबै जाति र भाषीहरू आआफ्नो जात, भाषा, संस्कार, संस्कृतिका लागि थाहा पाउन उत्सुक छन् । कुनै जमनादेखिका शासक, भारदार, सेनापति, प्रधानमन्त्री, मन्त्री बनेर आएका व्यक्तिहरू र तिनकै वरिपरि मात्र देशको इतिहास, संस्कृति, संस्कार, सङ्ग्रहालय खडा गर्दा र लेखिँदा त्यो देशको जनता खुसी छैनन् । उनीहरू समावेशी चरित्रको जनताको इतिहास, संस्कार, संस्कृति र सङ्ग्रहालय तथा इतिहास मागिरहेका छन् । आआफ्नो गाउँ सहरमा आफ्नो जात–भाषाको संस्कार, संस्कृति दिलाउनु राज्यको कर्तव्य पनि हो । यो आवश्यकता धनीभन्दा गरिब र द्वन्द्वग्रस्त मुलुकहरूमा नितान्त आवश्यक भइसकेको छ । यसको लागि थोरै लागतका, जनताको सहभागितमा ससाना सङ्ग्रहालय खोलिनु नै उत्तम विकल्प हुनेछ । त्यसैगरी धनी र विकसित मुलुकमा समेत साना सङ्ग्रहालय खोलिँदा देशको राष्ट्रिय एकता र पहिचानमा समानताका लागि झनै फाइदा पुग्नेछ । तसर्थ, यस प्रस्तुतीकरणले दिगो सञ्चालनसहितको साना सङ्ग्रहालयहरूको स्थापनामा जोड दिएको छ । साथै यसमा मेरो देश नेपाललाई साना सङ्ग्रहालयको नितान्त खाँचो रहेको बारेमा पनि उदाहरण दिएको छु ।

मैले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सङ्ग्रहालयलाई द्वन्द्व समाधानका लागि शान्ति केन्द्रको रूपमा खडा गर्न सकिन्छ भनेर प्रस्तुतीकरण गर्दै आएको पनि छु । यो सम्भव छ । दुर्भाग्यवस, हरेक युद्धहरूमा सबैभन्दा पहिलो ती देशका सांस्कृतिक, धार्मिक, ऐतिहासिक धरोहरहरू लगायत सङ्ग्रहालय समेत नष्ट पारिन्छन् । सङ्ग्रहालय भत्काइन्छन् अनि त्यहाँ रहेका अमूल्य र मूल्यवान सामानसमेत लुटेर लगिन्छ । हाल भइरहेको इराक, अफगानिस्तान, सिरिया, लिबिया द्वन्द्वहरू नै उदाहरणका लागि काफी छन् । पहिलो र दोस्रो विश्वयुद्धमा ध्वस्त भएका सङ्ग्रहालय त कति हो कति ? तसर्थ त्यस्ता संस्कार र सांस्कृतिक धरोहरहरूलाई विभिन्न युद्धबाट जोगाउन नसक्नु संयुक्त राष्ट्र सङ्घसमेतको कमजोरी प्रष्टै देखिन्छ । आजको पुस्ताले आफ्ना पुर्खाले बनाएका सङ्ग्रहालय, मठ, मन्दिर, चर्च, स्मारक आदिलाई जोगाउन सकेनौँ भने हामीले भोलि आफै कला र संस्कृतिको अस्तित्व गुमाउने छौँ । अनि हाम्रै सभ्यताको विकासक्रम मेटिनेछ । २१औँ शताब्दीमा हाम्रा सैनिक युद्धहरूले प्राचीनकालदेखिका हाम्रा संस्कृति, धरोहरलाई भत्काउँछन्, नष्ट पार्छन्, लुट्छन भने हामी पशुभन्दा माथिल्लो दर्जामा कसरी उभिन सक्छौँ होला ? धन र शक्तिले हामी महान देशका नागरिक भए पनि अर्काको सभ्यता र संस्कृतिलाई नष्ट पार्न, भत्काउन र लुट्न खोज्छौं भने हामी बास्तवमा ढुङ्गे युगका लुटेराका झुन्डभन्दा फरक हुन सक्तैनौँ । यो अति संवेदनशील विषय हो । अनि यो पक्ष कलाप्रेमी, संस्कृतविद, इतिहासकारलगायतका विद्वानहरूको विषय हो । शक्ति देशका बन्दुक, बम, मिसायलदेखि  हामी डराएर हाम्रा कलाकृति संस्कृति भत्काउँदा हामी चुप लागेर बस्ने हो भने आफैलाई धिक्कार गरे हुन्छ । अब हाम्रो आवाज संसारभर उठाऔँ र भनौँ “युद्धको नाममा अर्को देशको संस्कृतिक लुट गर्न पाइँदैन” । भइरहेका कला, संस्कृति, इतिहास जोगाऊँ अनि नयाँ नयाँ सङ्ग्रहालय तथा सांस्कृतिक केन्द्रहरू खोल्दै जाऊँ । त्यसमा पनि युनेस्को लगायतका शक्ति संस्थाहरूले विकसित राष्ट्रहरूमा साना सङ्ग्रहालय स्थापना गर्ने नीति र सहयोग बढाओस् ।

अर्को महत्त्वपूर्ण पक्ष के हो भने संसारभरका झण्डै ८० प्रतिशत द्वन्द्व गरिब अर्थाथ अति कम विकसित राष्ट्रमै भइरहेको छ । द्वन्द्वका मुख्य कारणमा धर्म, भाषा, जात, क्षेत्र, सभ्यता, गरिबी, स्रोतमा पहुँच आदि हुन् । आधारभूत आवश्यकताको भन्दा पहिचानमा आधारित द्वन्द्व अत्यधिक छन् । माथि उल्लेख भएझैँ आआफ्नो जात, धर्म, वंश, रगतको नाता, रङ्गभेद, सभ्यता, संस्कृतमा समानुपातिक स्वामित्व खोजको पाइन्छ । यस्तो द्वन्द्व अति नै खतरनाक हुन्छन् र अन्ततः जातीय–धार्मिक नरसंहार भएका दृष्टान्त थुप्रै छन् । अर्को शब्दमा भन्नुपर्दा यो सङ्घर्ष आफ्नो पहिचानको लागि हो भने त्यसको रोकथाम गर्न प्रयासमा आंशिक क्षतिपूर्ति साना सङ्ग्रहालयको स्थापना र इतिहासको पुनः लेखनबाट पनि सम्भव छ । विभिन्न जातजाति समेटिएको सङ्ग्रहालयहरूमा ती क्षेत्रका जनताको माया र लगानी हुनेछ भने त्यसमा उनीहरूले अपनत्व लिनेछन् । त्यसमा सरकारको तर्फबाट सानो तिनो सहयोग माग भएमा पनि यस्ता साना सङ्ग्रहालयहरू दिगो रूपले सञ्चालित हुनेछन् ।

वास्तवमा  इन्टरनेसनल कमिटी अफ म्युजियम, पेरिसले पनि सङ्ग्रहालय विकासका लागि गर्ने सम्मेलनहरू र स्थलगत भ्रमण तथा केस स्टडीको लागि विकसित राष्ट्रभन्दा अतिकम विकसित राष्ट्रहरूमा गरेमा फलदायी हुनेछ भने ती देशहरूमा साना सङ्ग्रहालयको उपदेयता बुझ्न सकिन्छ । खास भन्नुपर्दा धनी र शक्ति राष्ट्रहरूलाई साना सङ्ग्रहालयको आवश्यकता नहुन पनि सक्छ । उनीहरूको क्षमता सुहाउँदा ठूला र आरामदायी अनि अत्याधुनिक सङ्ग्रहालयकै आवश्यकता परेको हुन्छ । एकै वाक्यमा भन्नु पर्दा संसारको बहुसङ्ख्यक जनसङ्ख्याका लागि युनेस्कोले कम्तीमा पनि २ दसकका लागि साना सङ्ग्रहालयहरू स्थापना गर्ने प्राथमिकता र पहलता लिनुमै समयानुकूल योगदान पुग्ने देखिन्छ ।

अर्को उल्लेख गर्नुपर्ने पक्ष भनेका गरिब देशमा हुने भौगोलिक कठिनता, छरिएका बस्ती र आवतजावतमा सीमितता हुनेगर्छ । उदाहरणको लागि नेपाल अग्ला हिमाल, अग्ला पहाड, मझौला पहाड, समथर इलाका, ठाडा र बाढी आउने ठूला नदीहरू, पहिरो आउने जमिन, ठाडा भीर भएका प्राकृतिक विविधताले धनी देश हो । तर विकास नभएपछि ती प्राकृतिक सुन्दरताको  पनि सीमिततामा बदलिँदा रहेछन् । यस्तो सुन्दर देशमा संसारका मान्छे रमाएर फर्कन्छन् । नेपालको सबै ठाउँमा मोटर बाटो नपुगेको, खोला तर्न पुलहरू नबनेको, बिजुली बत्ती नभएको, हवाइजहाज उत्रिने विमानस्थल धेरै नभएको, छरिएर बसेका पातलो बस्ती भएको, रोजीरोटीका लागि खेती किसानी गर्नेहरूले घर छाडेर टाढा जान नसक्ने जस्ता परिस्थितिमा उनिहरूकै वरिपरि २, ४ गाउँलाई पाएक पर्ने गरी राष्ट्रिय महत्त्वलगायतका उनीहरूकै भाषा, संस्कृति, संस्कार, भेषभूषा झल्कने साना सङ्ग्रहालय स्थापना गर्ने हो भने अवश्य पनि उनीहरूको लागि बरदान सावित हुनेछ । खुसीसाथ ती समूह तथा समुदायले त्यस्ता सङ्ग्रहालय बनाउन, दिगो सञ्चालन गर्न र त्यसको संरक्षण गर्न हातमा हात मिलाउने छन् । ती सङ्ग्रहालयले उनीहरूको सम्मान बढाउनेछ भने पहिचानगत द्वन्द्वमा साम्य बन्नेछ । अन्ततः यस्ता सङ्ग्रहालयहरू खुला विद्यालय तथा शान्ति केन्द्र बन्नेछन् । विगतलाई सम्झाउनुपर्दा पनि सन् १९९५ देखि २००५ सम्म नेपालमा माओवादी जनयुद्धको नामले देशभित्रै ठुलै लडाइँ भयो । १७ हजारभन्दा बढी मान्छे मरे । त्यो युद्धमा विभिन्न जाति–धर्मले आफ्नो पहिचान पनि खोजेका थिए । हाल युद्ध सकिएर शान्तिमा आएपछि पनि नेपालका करिब १२० भन्दा बढी जातिहरू आआफ्नो पहिचान समानुपातिक अधिकारका लागि आवाज उठाइ नै रहेका छन् । यो अवस्थामा नेपालका कुना काप्चा, अप्ठ्यारा बस्तीहरूमा समेत साना सङ्ग्रहालय स्थापना गर्ने हो भने उनीहरूको असन्तुष्टिलाई सम्बोधन गर्न आंशिक सहयोग अवश्य पुग्नेछ । यही परिस्थितिलाई मनन गरेर हामीले अफ्रिकी मुलुक, बाल्कन क्षेत्र, मध्यपूर्वका कमविकसित र अल्पविकसित क्षेत्रहरूमा समेत साना सङ्ग्रहालयहरू स्थापना गर्नुपर्ने महसुस गरिन्छ ।

अर्को छुटाउन नहुने पक्ष के हो भने विकसित देशका ठूला सङ्ग्रहालयहरू देशको शान र मान हुन । विकसित राष्ट्रले आफ्ना इज्जतका लागि धेरै ठाउँमा बनाएका छन् । यो सरकारी नीति नै बनेको छ । तर गरिब मुलुकमा पहिलो प्राथमिकता गाँस, बास र कपास नै भएकाले ठूला सङ्ग्रहालय बनाउन सक्तैनन् र भएमा पनि २, ४ वटा राजधानी वा ठूला सहर केन्द्रित हुन्छन् । त्यसबाट आम देशवासीले फाइदा लिन सक्तैनन् । यस्ता देशको लागि अरू प्रकारकाभन्दा संस्कृति, कला, इतिहास झल्कने सङ्ग्रहालयको स्थापना मै जोड दिनु उचित हुनेछ । जसको सुरुवात साना सङ्ग्रहालयको विकास र विस्तारबाट गर्नु नितान्त जरुरी छ ।

अन्तमा, विद्या–ज्ञान–सीप जति धेरैलाई बाढ्यो उति नै परोपकारी बन्नेछ । उदाहरणका लागि एउटा मैनबत्तीले सयौं मैनबत्ती बाल्छ । तर त्यो मैनबत्ती त्यक्तिकै उज्यालो रहेको हुन्छ । यही तथ्यलाई आधार मानी विकसित राष्ट्रहरूका ठूला सङ्ग्रहालयहरूले पनि संसारको विभिन्न क्षेत्रमा कम विकसित देशहरूमा सहयोग स्वरूप वा आफ्नो शाखा बिस्तार गरेर भए पनि साना सङ्ग्रहालय खोल्ने थालनी किन नगर्ने ? त्यसरी खोलीने सङ्ग्रहालयहरू कसरी चलाउने, त्यहाँ केके प्रदर्शनी गर्ने भन्ने कुरा द्विपक्षीय सम्झौताबाट गर्न सकिनेछ ।  सङ्ग्रहालयको साथी सङ्ग्रहालय  भन्ने अन्तर्राष्ट्रिय पहल किन नगर्ने ? एउटा देशको बैङ्कले अर्को देशमा, एउटा देशको उद्योगले अर्को देशमा, एउटा देशको आईएनजीओले अर्को देशमा शाखा खोल्ने दृष्टान्तलाई मनन गर्ने हो भने धनी देशका सम्पन्न सङ्ग्रहालयहरूले आफ्नै शाखा विस्तार गरेर भए पनि विपन्न देशहरूमा साना सङ्ग्रहालय खोल्न र धनी देशभीत्र सहरमा रहेका ठूला र धनी सङ्ग्रहालयहरूले आफ्नै देशका कुनाकाप्चामा साना शाखा सङ्ग्रहालय विस्तार गरी त्यसको दिगो विकासमा काम गर्न सक्ने विकल्प प्रचुर मात्रामा देखिन्छ । यो कल्पनालाई साकार पार्न ‘सबैका लागि एक र एक सबैका लागि’को हातेमालो हुनु जरूरी छ । हाम्रो पारीप्रेक्ष्यमा नेपाल सरकार सङ्ग्रहालय रहेका गाउँपालिका र नगरपालिकाले थप सङ्ग्रहालय बनाउने र नभएका गाउँ र नगरपालिकाले अनिवार्य एक एकवटा सङ्ग्रहालय बनाउने नीति घोषणा गर्नु ढिला गर्नु हुँदैन । यो देशको गौरव हो । हाल सम्मा यस पक्षमा नेपालले पटक्कै ध्यान दिएको छैन भने पुरतत्व विभागअन्तर्गत सङ्ग्रहालय राखेर अर्को गल्ती गरेको छ । अनि पुरातत्वको कर्मचारीले सङ्ग्रहालयमा जागिर मात्र खाने तर सङ्ग्रहालयको विकास नगर्ने पारिपाटीको अन्त्य गरेर यसको विकासका लागि संस्कृति मन्त्रालयअन्तर्गत सीधै ‘सङ्ग्रहालय निर्देशनालय’  खडा गरी नेपालमा सङ्ग्रहालयको विकास, स्यहार सम्भार गरिनुपर्छ ।

(लेखक नेपाल म्युजियम एसोसिएसनका अध्यक्ष हुन् ।)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...