शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी डाँडो काट्ने तयारी

बुधबार, १८ असार २०७६, २२ : १६
बुधबार, १८ असार २०७६

पोखरा- राष्ट्रिय गौरवका आयोजनामध्ये निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति लोभलाग्दो छ । गएको आर्थिक वर्षभित्र ४० प्रतिशत काम सक्ने विमानस्थलको लक्ष्य थियो । विमानस्थल आयोजनाका अनुसार गएको आर्थिक वर्षमा लक्ष्य भन्दा २ प्रतिशत बढी ४२ प्रतिशत काम सकिएको छ । 

विमानस्थलको निर्माण कार्य तोकिएको समयभन्दा ६ महिनाअघि सकेर उडान भर्ने आयोजनाले लक्ष्य लिएको छ । तर, विमानस्थलका लाागि आवश्यक जग्गा अधिग्रहण लगायतका समस्या भने अझै सुल्झिएका छैनन् । 
सन् २०२१ भित्र विमानस्थल सञ्चालनमा ल्याउने लक्ष्यअनुसार निर्माणको काम भइरहेको विमानस्थल आयोजना बताउँछ । जसका लागि १ सय रोपनी जग्गा चाहिने आयोजना बताउँछ । विमानस्थललाई दिगो रुपमा सञ्चालन गर्न थप पूर्वाधार पनि विकास गर्दै लैजानुपर्ने हुन्छ । त्यसको लागि करिब ४ सय रोपनी जग्गा आवश्यक पर्ने विमानस्थल आयोजनाले बताएको छ । 

भौगोलिक बनावटका कारण पनि सो विमानस्थल सञ्चालनमा ल्याउन समस्या रहेको बताइन्छ । जहाज उडान र अवतरण गर्न विमानस्थलको पूर्वी डाँडो समस्याको रुपमा देखिएपछि सो डाँडो काट्नुपर्ने बताइएको थियो । वातावरणीय प्रभाव मूल्याँकन अध्ययन लगायतका प्रक्रिया सकाएपछि डाँडा कटान सुरु गरिने आयोजनाले जनाएको थियो । 

विमानस्थल सञ्चालनमा ल्याउनका लागि सो डाँडो समस्याको रुपमा देखिएपछि स्थानीयकै सक्रियतामा डाँडो कटान गर्ने तयारी सुरु भएको छ । डाँडा कटानको लागि बेसमेन तयारी थालेको स्थानीय गोविन्द तिमिल्सिनाले जानकारी दिए । 

डाँडा कटानको लागि चाहिने सामान राख्ने ठाउँ बनाउन सुरु गरेको उनले जानकारी दिए । ‘माटो फाल्नका लागि ६०/७० वटा टिप्पर चाहिन्छ । ४०/५० जना लेबरहरु पनि चाहिन्छ,’ उनले भने, ‘ड्राइभर, सहचालक गरी १ सय जनाको लागि बस्ने कटेज बनाउनुपर्ने छ । त्यसको लागि तयारी सुरु भएको छ ।’  

बर्खायाम सुरु भइसकेको हुनाले तत्कालै डाँडा काट्न सुरु नगर्ने उनले जानकारी दिए । ‘दुई महिना भित्रमा डाँडा काट्न चाहिने पूर्वाधार तयार पाछौं,’ उनले भने, ‘अहिले नै डाँडा काट्न सुरु गर्दा पहिरो जाने खतरा पनि हुन् सक्छ ।’

डाँडालाई स्टेप –स्टेप गरेर काट्ने उनले सुनाए । डाँडा वरिपरीका टेलिफोन टावर, बिजुलीको पोल हटि सकेको उनले जानकारी दिए । पोखरा १७ बाँनिया पाछामा रहेको उक्त डाँडो (रिठ्ठेपानी) ३ सय ८१ रोपनी क्षेत्रफलमा फैलिएको छ । जसमध्ये ८१ रोपनी २२ जना व्यक्तिको नाममा छ भने ५७ रोपनी मानव धर्म आश्रमको पर्छ । 

मानवधर्मको आश्रमलाई तल झार्ने तयारी थालेको स्थानीय गोविन्द तिमिल्सिनाले जानकारी दिए । ‘यति गरि सकेपछि मानव बस्तीलाई असर पर्दैन,’ उनले भने । आश्रममा जम्मा ४ वटा गाई र २ वटा मान्छे मात्र बस्न गरेको उनले सुनाए ।

महानगरबाट कागजी प्रक्रिया सबै सकिएको उनले बताए । डाँडो काट्नका लागि सरकारबाट आर्थिक सहयोग नलिएको उनको दाबी छ । डाँडो काट्नका लागि चाहिने खर्च कटान गरि निस्किएको माटो बचेर उठाउने उनले सुनाए । ‘डाँडो काट्दा निस्किएको माटो आवश्यक परेको ठाउँ, प्रोजेक्टमा लिगल्लि गर्भमेन्टसको नम्स अनुसार बिक्री गछौं । बिक्रीबाट उठेको रकम डाँडा काट्न प्रयोग गछौं,’ उनले भने, ‘यसको लागि सरकारबाट हामीले कत्ति पनि आर्थिक सहयोग लिएका छैनौं ।’ 

सिबिल एबिसियन, सांसद, मन्त्रीको आफूँहरुलाई साथ रहेको उनले बताए । ‘पहिला त हामीले मानेनौं,’ उनले भने, ‘पछि उहाँहरुले  राम्रोसँग कन्भिन्स गर्नुभयो । सिबिल एबिसियनले टेन्डर गर्नुपर्यो भने सरकारको ठूलो पैसा जाने थियो, हामीले नै सुरुवात गरेपछि सरकारको पैसा पनि बाँच्यो ।’ 

महानगरलाई पर घनमिटर ७२ रुपैयाँको दरले राजस्व तिर्ने उनले सुनाए । वातावरणीय प्रभाव मूल्याँकन (आइए) रिपोर्टअनुसार डाँडाबाट १० लाख ५० घनमिटर माटो निस्किने उनी बताउँछन् । पोखरामा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बन्नु पोखराबासीको लागि खुसिको कुरा रहेको उनी धारण राख्छन् ।

डाँडाको कारण विमानस्थल नबनि ठेक्कामा नअल्झियोस् भनेर स्थानीयकै पहलमा काम थालेको उनको भनाई छ । महानगरलाई तिर्ने कर र अन्य ट्याक्स माटो बेचेर तिर्ने उनले सुनाए । ‘नपुगेको खण्डमा अरु व्यवस्था गर्ने कुरा छ,’ उनले भने, ‘तर, माटो बेचेकै पैसाले पुग्छ भन्ने अपेक्षा लिएका छौं ।’ विमानस्थल निर्माणको काम पनि द्रुत गतिमा धमाधम भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप