बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चार महिनामै स्याउ फल्दा किसान हर्षित

बुधबार, १८ असार २०७६, १३ : ५८
बुधबार, १८ असार २०७६

बाजुरा– जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । 

गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिए । सो स्थानमा फुजी, गाला र गोल्डेन जातका स्याउ फल्न थालेको हो । लगाइएको तीन जातमध्ये गोल्डेन र गाला जातको स्याउ फलेको जेटिए कट्टेलको भनाइ थियो ।

प्रतिबोट झण्डै रु एक हजार १०० पर्ने सो स्याउ एग्रो मनाङसँग समन्वय गरी इटालीबाट ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हाल स्याउ, दाँते ओखर, आँप, अनार, जैतुन, लिचीलगायत सुख्खा ठाउँमा हुने फलफूललाई प्राथमिकता दिई उक्त गाउँपालिकाको देउरा क्षेत्रमा रोपिएको जानकारी दिएको छ

कर्णाली करिडोरको बाटो खुलेसँगै गाउँपालिकाले फलफूल खेतीलाई जोड दिँदै माटो परीक्षण गरी ठाउँअनुसार फलफूल खेतीलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । गाउँपालिकाले यो परीक्षण सफल भएपछि आगामी दिनमा थप विस्तार गर्ने तयारीमा रहेको उनको भनाइ थियो । 

यसअघि जिल्लाको गौमुल गाउँपालिकामा समेत सोही प्रजातिको स्याउ फलेको थियो  । उक्त गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश विकका अनुसार स्याउ लगाएको चार महिनामै फलेपछि आगामी दिनमा समेत सोही प्रजातिका स्याउ लगाउनेतर्फ किसान जागरुप भएको विकको भनाइ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप