शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिके राउतमा अझै स्वतन्त्र मधेशको मोह जीवितै ?

राउतका  ‘देश टुक्र्याउने’ सामाग्री अझै पनि निर्वाध सर्वसाधारणको पहुँचमा
मङ्गलबार, १७ असार २०७६, १३ : ३४
मङ्गलबार, १७ असार २०७६

काठमाडौं–जनमत पार्टीका अध्यक्ष सिके राउत स्वतन्त्र मधेशको आन्दोलन त्याग गरी मुलधारको राजनीतिमा आएको पाँच महिना हुन लागेको छ । 

 तर स्वतन्त्र मधेशको नाममा उनले विजारोपण गरेको गतिविधि कायमै रहेको भेटिएको छ । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न, अभिभाज्य राष्ट्र हो र नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न आफ्नो कर्तव्य ठान्ने सिके राउतले स्वतन्त्र मधेशको गठबन्धन पर्चा, पम्पलेट, झण्डा, मधेश देशका लागि बनाइएको राष्ट्रिय गीत लगायत अन्य दस्तावेजहरु प्रचार प्रचारमा राखेकै छन् । 

सिके राउतको अफिसियल फेसबुक डा. सिके राउतमा स्वतन्त्र मधेशका माग उठाइएका सबै दस्तावेजहरु अहिले पनि जस्ताको त्यस्तै राखिएको छ । उनको व्यक्तिगत भनिएको वेवपेज डब्लुडब्लु डट सिकेराउतडट कम (www.ckraut.com)मा पनि ‘स्वतन्त्र मधेश’ का सबै दस्तावेजहरु यथावत रहेका छन् । 

रमाइलो कुरा त के छ भने, राजनीतिको मूलधारमा आइसकेका राउतको फेसबुकमा राखिएको बायोग्राफीमा अहिलेसम्म स्वतन्त्र मधेश गठबन्धनको संयोजकको रुपमा उनकै नाम उल्लेख छ । यसले जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराई त्यसको अध्यक्ष समेत भइसकेका राउतमा अझै स्वतन्त्र मधेशको मोह बाँकी रहेको त हैन भन्ने प्रश्न खडा भएको छ । 

उनले नेता तथा कार्यकर्ताहरुलाई आन्तरिक प्रशिक्षण दिँदा मधेश ‘स्वतन्त्र राष्ट्र’ भइछाड्ने तर त्यसका लागि धैर्य गर्नुपर्छ भन्दै आएको जानकारहरु बताउँछन् । उनले आफ्नो वेवसाइटमा राखेका दस्तावेजहरुको बारेमा नेता तथा कार्यकर्तालाई देखाउँदै प्रशिक्षण दिइरहेका हुन्छन् ।

सरकार र सिके राउतको गठबन्धनसँग भएको ११ बुँदे सम्झौताको ६ नम्बर बुँदामा लेखिएको छ–‘स्वतन्त्र मधेश गठबन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामग्री आदिलाई भविष्यमा कारवाहीको विषय बनाइने छैन । अगामी दिनमा सविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन ।’

यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामग्री आदिलाई भविष्यमा कारवाहीको विषय नबनाइने भनिएकै आधारमा उनले त्यसरी खुलेआम आफ्ना ‘स्वतन्त्र मधेश’सम्बन्धी सामग्रीहरु खुलेआम राखेको हुन सक्ने एकाथरिको टिप्पणी छ । 

तर पनि सविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामाग्री फेसबुक र वेवसाइटमार्फत निर्वाध वितरण भइरहेको छ । 

स्वतन्त्र मधेश गठबन्धनका नेता–कार्यकर्ता तथा समर्थकहरुलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपालभित्र बसोवास गर्ने, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खोल्न वा संगठित भएर मूलधारको राजनीतिक गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन र त्यस्ता कृयाकलपा गरेवापत राज्यद्वारा कुनै प्रकारको कारवाही गरिने छैन सम्झौतापत्रमा उल्लेख छ तर स्वतन्त्र मधेश गठबन्धनको नाम हुने प्रचार प्रसारलाई रोक लगाउने छैन कारवाही गरिनेछैन भनी कहीँ उल्लेख गरिएको छैन । 

स्वतन्त्र मधेश गठबन्धनप्रति लोकतान्त्रिक राजनीतिक शक्तिको रुपमा व्यवहार गर्न सहमत भएको उल्लेख गरिएको छ । 

स्मरण रहोस्, त्यस्तै दस्तावेजहरु र सोहीअनुसारका क्रियाकलापकै कारण ‘विखण्डनकारी’ को आरोपमा सिके राउत विगतमा पटक पटक पक्राउ राज्यद्वारा पक्राउ परेका हुन् । 

तर, गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भन्छन्, सिके राउतले त्यसरी साइट चलाएको, दस्तावेजहरु राखेको कुरा आधिकारिक जानकारीमा आएको छैन । आधिकारिक जानकारी आएमा त्यसको बारेमा कुरा गर्छौ ।’ सुवेदीले ‘सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौता अनुसार अगाडि बढ्नुपर्ने र कसैबाट सम्झौता उल्लघन भए त्यस बारेमा कुराकानी हुने’ बताए । उनले भने, ‘सम्झौतापत्रमा जे छ त्यही हो ।’  
विखण्डनको मुद्दालाई, स्वतन्त्र मधेशको आन्दोलनलाई परत्याग गर्दै राजनीतिको मूलधारमा प्रवेश गरिसकेका सिके राउतको नाममा उनकै फेसबुक र वेवपेजबाट त्यस किसिमको सामग्रीहरु निर्वाध प्रकाशित, प्रशारित भइरहनुको अन्तर्य के हो ? के सिके राउतको राजनीतिमा प्रवेश शक्ति सञ्चयको रणनीति मात्रै हो वा त्यस किसिकमको क्रिया–प्रतिक्रियालाई कडाइका साथ रोक लगाउन नचाहनु नसक्नु सरकारको लुतेपन हो ? स्वभाविक रुपमा प्रश्नहरु उठ्न थालेका छन् ।

यसैबीच जनमत पार्टीका प्रवक्ता चन्दन सिंहले आफूहरु ११ बुँदे सम्झौताअनुसार मूलधारको राजनीतिमा आइसकेको भन्दै सहमतिअनुसार नै अघि बढ्न प्रतिबद्ध रहेको बताए । 

विगतका भएका दस्ताबेजलाई एक इतिहासको रुपमा बुझ्न आग्रह गर्दै उनले अहिले पार्टी सरकारसँग भएको सहमतिअनुसार अघि बढिरहेको बताए । 

‘अहिले हामी राजनीतिको मूल धारमा आएका छौं, यो भन्दैमा पुराना कुरा सबै नष्ट गर्नुपर्छ भन्ने होइन, पुराना दस्तावेजलाई एक इतिहासको रुपमा लिन सकिन्छ’, उनले भने, ‘जनमत पार्टी गठन भइसकेको छ । हामी अहिले पार्टीको एजेण्डाअनुसार गतिविधि गरिरहेका छौं ।

यस्तो थियो ११ बुँदे सहमति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप