शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वाकयुद्धदेखि मन माझामाझसम्म

यसरी साँघुरियो ओली–प्रचण्डबीचको विवाद
मङ्गलबार, १७ असार २०७६, १३ : २४
मङ्गलबार, १७ असार २०७६

काठमाडौँ । सत्ता साझेदारीसम्बन्धी पूर्ववत् सहमतिलाई लिएर नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच केही दिन अघिसम्म सिधासिधा ‘वाकयुद्ध’ थियो ।

बालुवाटारमा भएको सत्ता साझेदारीसम्बन्धी पाँच बुँदे सहमतिलाई प्रचण्डले एक टीभी अन्तर्वार्तामार्फत् जोड दिएर कार्यान्वयन हुनुपर्ने विषय उठान गरेपछि प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष ओली झस्किएका थिए ।

त्यसपछि पार्टी एकता हुनुभन्दा ठीक एक दिन अगाडि अर्थात् २०७५ जेठ २ गते तत्कालीन एमाले नेता विष्णु पौडेल र तत्कालीन माओवादी नेता जनार्दन शर्मालाई साक्षी राखेर ओली र प्रचण्डले गरेको सहमति पुनः बहसमा आएको थियो । प्रचण्ड र उनी निकटले लगातार केही दिनसम्म सहमति कार्यान्वयन हुनुपर्ने अडान राखे । तर, ओली र उनी निकट नेता चाहिँ सहमति कार्यान्वयनवारे हतार नगर्न र अनावश्यक हल्ला नगर्न प्रचण्डलाई ‘चेतावनी’ नै दिएका थिए ।

तर, केही दिन अगाडिसम्मको तिक्तता भुलेर ओली र प्रचण्डले अब मिलेर काम गर्ने अभिव्यक्ति दिएका छन् । दुई अध्यक्षबीचको मतभेद साँघुराउन निर्णायक बन्यो गत बुधबार दुई अध्यक्षबीचमा ‘वान टु वान’ वार्ता । अर्थात् उक्त छलफलबाट दुई अध्यक्षबीचमा समझदारी बन्यो, पूर्व सहमति अनुसार अगाडि बढ्ने ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि अध्यक्ष प्रचण्डले आफू निकट केही नेताहरुलाई छलफलबारे ब्रिफिङ गरेका थिए । प्रचण्डनिकट एक नेताका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीलाई भनेका थिए, ‘पार्टी भत्के बिग्रे त्यसको जिम्मेवारी तपाईं एक्लै लिनुहुन्छ कि ? दुवै जनाले लिने हो ? दुवै जनाले लिने हो भने अहिलेसम्म भएका कमिकमजोरी स्वीकार गर्दै पूर्व सहमति अनुसार अगाडि बढौँ ।’

प्रचण्डले यस विषयमा अडान नछाडेपछि प्रधानमन्त्री ओली सहमत भए । र, दुवै अध्यक्षबीचमा पूर्व सहमति अनुसार अगाडि बढ्ने समझदारी बन्यो । भेटपछि तत्कालका लागि वैचारिक बहसमा नउत्रन दुवै अध्यक्षले आफू निकटका नेताहरुलाई निर्देशननै दिएका थिए ।

त्यसपछि भने औपचारिक रुपमै ओली प्रचण्डका भनाईहरु फेरिएका छन् । फेरिएको बोलीसँगै दुई नेताबीचको विवाद पनि साँघुरो भएको छ । ओली र प्रचण्ड कसरी नजिक बनेका छन्, अर्थात उनीहरुबीचको विवाद कसरी साधुरो भएको छ भन्ने उदाहरण मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले असार १४ गते आयोजना गरेको कार्यक्रममा पनि देखिएको थियो । यहाँ ओली र प्रचण्डले एक–अर्काको प्रशंसा गरे, मिलेर अगाडि बढ्न् प्रतिबद्धता जनाए ।

‘नेपालको कम्युनिष्ट आन्दोलनका दुईवटा प्रमुख धार नेकपा एमाले र माओवादी केन्द्र, हामी सबैलाई थाहा छ, ०७४ साल असोज १७ गते यसै ठाउँबाट हामी चुनावी तालमेलका साथ अगाडि बढ्यौँ र पार्टी एकता गरेर एउटै पार्टी निर्माण गर्छौं भन्ने उद्घोष प्रचण्डजीले र मैले गरेका थियौँ,’ ओलीको भनाई थियो, ‘त्यसपछि हामीले चुनावी तालमेलबाट नेपाली जनतामा आशा विश्वास भरोसा पनि जगायौँ । एउटा राष्ट्रिय आत्मविश्वास जगाउने काम पनि गर्यौँ । यस निर्वाचन प्रणालीबाट बहुमत प्राप्त गर्नु सजिलो छैन, साधारणतः यो बहुमत प्राप्त नहुने खालको प्रणाली हो । यस्तो अवस्थामा हामीले बहुमत ल्याएर देशलाई स्थिरता र स्थायित्व दिएका छौँ ।’

ओली यतिमा मात्र रोकिएनन् र नेकपाभित्रको सैद्धान्तिक विवादमा प्रचण्डसँग भएको सहमतिबारे भनेका थिए, ‘पार्टी एकता एकीकरण गरेर त्यसलाई सिमेन्टेड गरेका छौँ । र, हामीले भनेका छौँ, अहिलेको अवस्थामा जनताको जनवादलाई कार्यक्रमको नाम दिने । अथवा, हाम्रो कार्यक्रमलाई जनताको बहुदलीय जनवादका विशेषताहरुमा फरक परेको छैन, तिनै विशेषता हुन् । ती विशेषता भन्दा पर जान सकिँदैन । तर, अहिले हामीले कार्यक्रमको नाम जनताको जनवाद राखेका छौँ । र, त्यसै जनताको जनवादबाट हामी अगाडि बढ्छौँ ।’

यसबाहेक रोकिएका पार्टी एकताको काममा चाँडै नै प्रगति हुने ओलीको दाबी थियो । ‘एउटा प्रश्न, अलिअलि मान्छेहरुले आशंका उठाउने मौका पाएका छन् र अलिकति हामीलाई खिसीट्युरी पनि गरेका छन् । एकता गरेको यत्रो समय भो तर एकीकरणको प्रक्रिया टुङ्गिएको छैन । शायद हामीले धेरै ठूलो काम गरेका छौँ, त्यो ठूलो काम गर्दाखेरि यस्तो अलमल त नहुनुपर्ने तर त्यही ठूलो कामले अलिकति अलमल सिर्जना गरेको हो कि ? तर, केही अलमल सिर्जना भएको छ ।’

हलमा सहभागी नेता–कार्यकर्तालाई आश्वस्त पार्दे ओलीले भनेका थिए, ‘तर, म तपाईंहरुलाई भन्न चाहन्छु, तपाईंहरुलाई मात्रै होइन, देशका तमाम नेता कार्यकर्ता साथीहरुलाई भन्न चाहन्छु, आम नेपाली जनतालाई भन्न चाहन्छु, निराश हुनुपर्ने कुनै कारण छैन । यो आर्थिक वर्षभित्र एकीकरणको प्रक्रिया पूरा हुन्छ । अर्को आर्थिक वर्षमा नयाँ उत्साहका साथ हामी अगाडि बढ्ने छौं ।’

त्यसदिन प्रचण्डको पनि भावुक भाषण थियो । प्रचण्डले ओली र आफूबीचको सहमतिको महत्त्ववारे भनेका थिए, ‘मलाई चिन्ता भएर मैले अलि जोड गरेर भनिराखेको छु, यो कुरा तपाईंहरु सबैले बुझिदिनु भएन भने हुँदैन । अब दुईटा नेताले मात्र बुझेर हुँदैन । हिजो त चुनावको बेला थियो, दुईटा नेताले एउटा घोषणा गरिदिएपछि ‘मिलेर चुनाव लड्ने, चुनाव जित्नुपर्छ’ भन्ने कुराले सहजरुपमा कुदायो । तर, अब पार्टी निर्माण, सरकारलाई सफल बनाउने, जनताका आकांक्षाहरुलाई सम्बोधन गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरुलाई सन्तुलनमा राख्ने प्रक्रियामा सबैको समान बुझाई र सामुहिक चिन्ता भएन भने दुईटा नेता असफल हुने खतरातिर जान सक्दैन भन्न सकिँदैन ।’

प्रचण्डले दुई नेता मिले फेरि पहाडै बोकेर हिँड्न सकिने भन्दै ओलीसँग विवादभन्दा सहमतिमै काम गर्न खोजेको सन्देश दिए । ‘हामी अलिकति पनि यो पार्टीलाई सुदृढ गर्ने, सरकारलाई सफल पार्ने, जनआकांक्षा सम्बोधन गर्न असफल भयो भयौँ भने त्यो दुई नेताको मात्र, नेपाल कम्युनिस्ट पार्टीको मात्र असफलता हुने वाला छ । यो पटक हामीले साहस वा दुस्साहस जे ग¥यौँ, हामीले पार्टी एकता ग¥यौँ । यो असफल भयो भने कम्युनिस्ट आन्दोलन यही रुपमा अगाडि आउन शायदै सम्भव होला ।’ प्रचण्डको भनाई थियो, ‘तपाईहरु राम्रो गर्नुस्, हामी छौँ भनेर प्रेरित गर्ने हो भने फेरि पहाडै बोकेर हिँड्न पनि हामी तयार छौँ ।’

मदन भण्डारीको ६८औँ जन्मजयन्ती अवसरमा मदन भण्डारी फाउण्डेशनले गरेको कार्यक्रममामा सँगै देखिएका ओली र प्रचण्ड त्यसको दुई दिनपछि सोमवार अर्थात असार १६ गते नेकपाका संसदीय दलको बैठकमा दुई नेता सहभागी भए । यहाँ पनि ओली र प्रचण्डले नेकपाका सांसदलाई आफूहरु मिलेर अगाडि बढ्ने सन्देश दिने कोशिष गरे । ओली र प्रचण्ड दुवैले पार्टी एकताबाट तलमाथि गर्न खोजे सबै सिद्धिने बताए । दुई अध्यक्षबीच दुरी बढेको जस्तो देखेका नेकपाका सांसदले संसदीय दलको बैठकमा अध्यक्षद्वय बोलीमा एकमत देखे ।

‘हामीसँग अर्को विकल्प छैन, यो सरकार सफल भएन भने हामी सिद्धिन्छाँै । पार्टी एकतालाई पनि टुङ्ग्याइन्छ । सरकारलाई पनि प्रभावकारी बनाउछाँै । अरुले कुरा उठाए भनेर तिनका पछि पछि लाग्नहुन्न् । नराम्रा कामहरुको सुझाव दिनुहोस्, हामी सच्याउँछाँै । तर राम्रा कामको प्रतिवाद गर्नुस्,’ संसदीय दलको बैठकमा ओलीलको भनाई थियो, ‘हामी एउटै डुङ्गामा छौँ, डुवे सबै डुब्छौँ, भेलले बगाए सबैलाई बगाउँछ । एकतालाई टुङ्गोमा पुर्याउनुको विकल्प छैन । केही दिनमा हामी यो काम सक्छौँ ।’

ओलीभन्दा अगाडि बोलेका प्रचण्डले पनि मेरो आफ्ना कुराहरु राख्ने सन्दर्भमा पनि पार्टी एकतामै अर्को अर्थ लाग्ने केही भनेको रहेछु भने फिर्ता लिएको भन्दै विश्वासको वातावरण बनाउन खोजे । ‘पछिल्लो केही दिनमा अलिअलि हामी दुई अध्यक्षबीचमा परेकै हो । तर हामीले छलफल गर्यौँ र एकअर्कामा विश्वासमा छाँै अझैपनि । म आफुबाट अभिव्यक्त हुँदा वा गर्दा केही अप्ठ्यारो परेको भए त्यसको जिम्मेवारी लिन्छु । मैले रियलाईज गर्छु । तर अब यो पार्टीलाई बलियो बनाएर अगाडि जाने हो,’ प्रचण्डले भनेका थिए, ‘पूर्व एमाले माओवादीको नकारात्मक कुरा खोज्दै हिँड्ने, पूर्व माओवादीले एमालेको नकारात्मक कुरा खोज्दै हिँडेर कोही पनि भेटिदैन । त्यसले हामी कँहि पुगिदैन । हाम्रो लक्ष्यमा पुग्न सकिँदैन ।’

पछिल्लो समय के विषयमा थियो ओली–प्रचण्डबीच मतभेद ?

अध्यक्ष प्रचण्डले अचानक पूर्व सहमतिको कुरा सार्वजनिक गरेसँगै दुई अध्यक्षबीचमा मतभेद देखिएको थियो । हुन त दुई अध्क्षबीचको विवाद यो पहिलो थिएन । यस अघिपनि दुई अध्यक्षबीचकोे मतभेद सार्वजनिक रुपमै देखिने गरेका थिए । एक अर्कालाई छेडछाड गर्न पछि नपर्ने दुई अध्यक्षबीचमा पछिल्लो विवादको कारण बन्यो राजनीतिक प्रतिवेदन । पूर्व सहमति विपरित प्रधानमन्त्री ओलीले प्रतिवेदनमा ‘जनताको बहुदलिय जनवाद’ लेखेर जाने प्रस्ताव गरेसँगै विवाद झनै बढ्यो ।

विवादको अर्को कारण पार्टी एकताका बाँकी काम टुंगाउनेबारे र नेताहरुको कार्यविभाजन पनि बन्यो । प्रधानमन्त्री ओलीले एकतालाई धकेल्न खोजेको र कार्यविभाजनमा आफ्नो अडान नछाडेपछि एकतानै रोकिएको थियो । अर्थात् नेताहरुको कार्यविभाजनलाई लिएर दुई अध्यक्षबीचमा पनि विवाद देखियो ।

त्यसबाहेक पार्टीमा समान हैसियतका दुई अध्यक्ष भनिएपनि पार्टीका निर्णय र बैठक सञ्चालनमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै प्रचण्ड असन्तुष्ट बनेको पुष्टी उनका अभिव्यक्तिबाटै देखिए । सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीले समन्वय नगरेकोमा पनि प्रचण्डलाई चित्त बुझेको थिएन ।

पूर्व माओवादी निकटका मन्त्रीहरुले सम्हालेका मन्त्रालयमा हुने नियुक्तिमा पनि प्रधानमन्त्रीले हस्तक्षेप गरेकोमा पनि प्रचण्डलाई मन परेको थिएन । उदाहरणका लागि प्रचण्डले बेला–बेला मन्त्री हेरफेर हुने बताउँदा प्रधानमन्त्री ओलीले हेरफेर नहुने अभिव्यक्ति दिँदै आए ।

तर, अहिले दुई अध्यक्षबीचको मतभेद भने हटेको छ । यो कति दीर्घकालिन हुन्छ त्यो भन्न भने अहिलेनै हतार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप