शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘आइफा’ बारे नेपाली कलाकार  : आयोजना हुनु राम्रो, तर अर्ब खर्च गरेर होइन

मङ्गलबार, १७ असार २०७६, ११ : ४८
मङ्गलबार, १७ असार २०७६

काठमाडौँ– छिमेकी मुलुक भारतको फिल्म नगरी बलिउडको एक प्रतिष्ठित अवार्ड अन्तर्राष्ट्रिय भारतीय फिल्म अवार्ड ‘आइफा’ नेपालमा आयोजना हुने विषयले यतिबेला सडकदेखि सामाजिक सञ्जालसम्म तातेका छन् ।

केही दिन अगाडि सरकारले १ अर्ब खर्च गर्दै नेपालमा ‘आइफा’ अवार्ड भित्र्याउन लागेको समाचारले मिडियामा प्रथामिकता पाएपछि यो विषयमा सामाजिक सञ्जालदेखि सडकसम्म चर्चा हुन थालेको हो ।

‘आइफा’ अवार्ड नेपालमा गरिनु सकारात्मक वा नकारात्मकदेखि ‘आइफा’ आयोजना गर्नुहुन्छ, हँुदैन र सरकारले यसमा लगानी गर्न हुने, नहुनेसम्मका आवाज अहिले चारैतिर गुन्जिन थालेका छन् । आइफा किन र केका लागि भन्ने विषयको बहस अहिले सडकदेखि सरकारसम्म हुन थालेका छन् ।

आइफा आयोजना हुनपर्छ

नेपालमा आइफा अवार्ड आयोजना हुनु सकारात्मक भएको चलचित्रकर्मीले बताएका छन् । बलिउडको प्रतिष्ठित अवार्ड नेपालमा आयोजना हुने नेपाली कलाकर्मीका लागि खुसीको कुरो भएको कलाकार निर्माता नवल खड्काले बताए ।

‘आइफा’ नेपालमा आयोजना गर्न हुन्न भन्ने पक्षमा हामी होइनौँ’ खड्काले भने– ‘राज्यले आइफाको लागि एक अर्ब खर्च गर्न आटेको जुन खबर बाहिर आएको छ, हामीले त्यसको विरोध गरेका हौँ ।’

‘नेपाल सरकारले आइफाका लागि स्थान, सुरक्षा र अवार्डमा आउने कलाकारलाई सम्मान र सत्कार गर्नुपर्छ तर राज्यको ढुकुटी खर्च गर्नु भनेको नेपालका गरिब जनताले राज्यका लागि तिरेको करको दुरूपयोग हो,’ नवलले थपे ।

अभिनेता निर्माता नवलको कुरामा निर्देशक विमल पौडेलले पनि सहमती जनाए । आइफा मात्र होइन विश्वका अन्य फिल्म अवार्ड पनि नेपाल आउनु र ल्याउनुपर्ने पौडेलले बताए ।

‘यस्ता अवार्ड आउँदा विभिन्न देशका कलासंस्कृतिलगायत धेरै कुरा हामीले सिक्न सक्छौँ र पाउँछौँ पनि’ पौडेलले भने ‘हाम्रो विरोध राज्यले खर्च गर्न आटेको कुरामा हो । नेपाली चलचित्रको गिर्दो अवस्थालाई थाँती राखेर राज्यले विदेशी चलचित्र अवार्डमा लगानी गर्छ भने विरोध हुनु स्वाभाविक हो ।’ यस्ता अवार्डबाट नेपाल र नेपालीकलाकर्मीले धेरै सिक्न सक्ने पौडेलको भनाइ रहेको छ ।

वरिष्ठ निर्माता छविराज ओझा पनि ‘आइफा’ आयोजना गर्ने विषयको विरोध गर्न नहुने बताउँछन् । ‘म व्यक्तिगत रूपमा अवार्ड आयोजनाको विरोधको पक्षमा छैन । साथीहरुको विभिन्न धारणा होला’, ओझाले भने– ‘हाम्रो चलचित्र उद्योगका लागि के पुगेको छैन, के चाहिन्छ, सरकारसँग राखेर अगाडि बढ्ने हो । सरकारको कदमको विरोध गर्ने होइन ।’ सरकारले आइफा उपयुक्त देखे हुनपर्छ भन्ने भनाइ आफ्नो रहेको ओझाले सुनाए ।

उनले थपे, ‘नेपालमा आइफा आयोजना हुँदा केही न केही हामीलाई फाइदा नै हुन्छ ।’

देशमा ठुलाठुला अन्तर्राष्ट्रिय अवार्ड आयोजना हुनु, देश विदेशका कलासंस्कृतिको आदान प्रदान हुनु र विश्वमा देशको बारेमा सकारात्मक सन्देश जानु, प्रचार प्रचार हुनु राम्रो विषय भएको निर्माता निर्देशक केपी पाठकले बताए । ‘देश अभावमा छ । जनतालाई राज्यले न्यूनतम पनि आवश्यकता परिपूर्ति गर्न नसकेको अवस्थामा राज्य आफै आयोजक किन बन्ने, खर्च किन गर्ने भन्ने मेरो भनाइ हो’, केपीले थपे ।

पर्यटनमा के फाइदा ?

सरकारले ‘आइफा’को आयोजना देशको कलासंस्कृति अन्तराष्ट्रिय स्तरमा चिनाउन र पर्याटनको वृद्धि गर्न भन्दै आएको छ । ‘आइफा’ आयोजनाले नेपालको पर्याटन वृद्धि गर्छ र हुन्छ भन्ने पक्षमा आफूहरु नरहेको कलाकर्मी बताउँछन् ।

‘आइफा’ आयोजना हुँदैमा पर्यटन वृद्धि हुन्छ भन्ने भ्रम सरकारलाई भएको चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले बताउँछिन् । ‘पहिलेदेखि अहिलेसम्म हिन्दी फिल्म नेपालमा सुटिङ भइरहेको छ’, श्रेष्ठले भनिन्, ‘तर यसमा कुनै लगानी गर्नुपरेको छैन । सुटिङका लागि नेपाल उपयुक्त देख्यो, अनि सुटिङ युनिट आयो ।’ जति पनि बलिउड फिल्म नेपालमा सुटिङका लागि आएका छन् ती सबैलाई नेपाल सरकारले गाइड नगरेको उल्लेख गर्दै श्रेष्ठले हिन्दी फिल्म देशको राम्रो र महत्त्वपूर्ण क्षेत्रमा सुटिङ गराउन सक्यो भने मात्र पर्यनमा वृद्धि हुने बताइन् ।

‘आइफा’ आयोजना गर्दैमा पर्यनट वृद्धि हुन्छ भन्ने पक्षमा आफू पनि नरहेको निर्माता निर्देशक केपी पाठक बताउँछन् । ‘नेपाल मात्र चिनाएर पर्यटन वृद्धि हुने होइन । सगरमाथा र गौतम बुद्धको देश भनेर नेपाल चिनिदै आएको छ’, पाठकले भने ‘नेपालभन्दा पनि नेपालको पर्यटकीय स्थानहरु चिनाउनु अति आवश्यक छ ।’

‘अवार्ड काठमाडौँ बाहिर नजाने र हामीले प्रचार गर्नुपर्ने देशको विभिन्न भाग भएकाले राज्यले अवार्डका लागि भन्दा पनि वर्षको १० वटा फिल्म निर्माणमा लगानी गरेर विश्वका जुनै देशका फिल्म मेकरलाई नेपाल भित्र्याउने पहल गर्नुपर्ने धारणा पाठकको छ ।

अवार्डले पर्यटन र नेपाली चलचित्रको विकास हुन्छ भन्नु गलत रहेको कलाकार निर्माता नवल खड्काले बताए । ‘आइफा आयोजना गरेर नेपाल चिनाउने तर्क अगाडि सारिएको छ । त्यो सुन्दा हाँसो लाग्छ’ खड्काले अगाडि भने– ‘यो सीता, बुद्ध जन्मेको भूमि हो । संसारको सबैभन्दा उच्च हिमाल भएको भूमि हो । यसले त चिनेको छैन भन्नुहुन्छ भने विदेशी चलचित्रको अवार्ड गर्दैमा कसरी चिनिन्छ देश ? ‘यो भनाइ गैरजिम्मेवारी भनाइ भएको हो’, खड्काले थपे ।

सडकमा प्रदर्शन

‘आइफा’ अवार्ड आयोजनाको विषयमा सडकमा प्रदर्शनमा लागि विद्यार्थीदेखि कलाकर्मीसम्म उत्रिएका छन् । आइफा अवार्डमा नेपाल सरकारले लगानी गर्यो भने राष्ट्रघाती कदम हुनेसमेत धारणा उनीहरुले राखेका छन् ।

गत आइतबार माइतीघर मण्डलामा अखिल छैटौँले विरोध कार्यक्रम आयोजना गरेको थियो । कलाकार नवल खड्का, निर्देशक विमल पौडेल लगायतले आइफा नेपालमा आयोजना हुँदा पर्यटन वृद्धि हुन्छ भन्ने कुनै आधार नभएको धारणा राखेका थिए ।

कार्यक्रममा अखिल छैठौँका केन्द्रीय अध्यक्ष विमल पोखरेलले ‘आइफा’को नाममा खर्च गर्न खोज्नु पनि ओली सरकारको राष्ट्रघाती कदम भएको बताएका थिए । गुठी विधेयक भर्खरै फिर्ता भएको उल्लेख गर्दै उनले अवार्डका नाममा गर्न आँटेको खर्चको निर्णय पनि फिर्ता हुनुपर्नेमा जोड दिएका थिए ।

उनले अवार्डको नाममा सरकारले लगानी गर्यो भने भारतीय कलाकारका अगाडि नेपाली कलाकारहरुको अपमान हुनेसमेत तर्क राखेका थिए ।

आइफाको विषयमा सरकारको धारणा के ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा नेपालमा गर्न दिने सरकारले निर्णय मात्र गरेको गरेको भए पनि बजेट भने नछुट्याइएको स्पष्ट पारेका छन् । चलचित्र विकास बोर्डको १९ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले आइफाले नेपालमा कार्यक्रम गर्ने भनेर ठाउँ मागेकाले ठाउँ उपलब्ध गराउने निर्णय गरिएको बताए । हलिउडले प्रस्ताव ल्याए पनि सरकार सकारात्मक रहेको उनको भनाइ रहेको थियो ।

मन्त्री बाँस्कोटाले आइफा नेपालमा आयोजना गर्दा देशलाई घाटा नहुने भन्दै देशकै प्रचार प्रसारमा सहयोग पुग्ने पनि दाबी गरेका थिए ।

अर्थ मन्त्री डा. युवराज खतिवडाले पनि आइफाको विषयमा केही दिन पहिले नेपाल सरकारले ‘प्रायोजन’ गर्ने र यसका लागि तत्काल ४४ करोड रूपैयाँ दिनेबारे बारे अर्थ मन्त्रालय ‘बेखबर’ रहेको बताएका छन् । आफूले पनि अवार्डलाई नेपाल सरकारले पैसा दिन लागेको मिडियाबाट थाहा पाएको बताएका मन्त्री खतिवडाले पैसा दिने प्रस्ताव अर्थ मन्त्रालयमा नआएको जानकारी दिएका थिए ।

नेपाल टुरिजम बोर्डले सरकारले अवार्डका लागि अनुमति दिए पनि बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पारेका छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आइतबार एक कार्यक्रमको आयोजनासहित अवार्ड आयोजनाका लागि अनुमति दिए पनि सरकारले त्यसका लागि बजेट दिने कुनै पनि निर्णय नगरेको प्रष्ट्याएका हुन् ।

प्रर्यटन प्रवद्र्धनका लागि ठूलो अवसर

आइफा अवार्डले प्रर्यटन प्रवद्र्धनमा खासै फरक नपर्ने कलाकर्मी तथा बुद्धिजीवी बताउँछन् । तर सरकार तथा सरकारका निकायले भने यो पर्यटन प्रवद्र्धनका लागि यो ठूलो अवसर भएको धारणा राख्दै आएको छ ।

नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पनि अवार्डले देशमा पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो धारणा राखेका थिए । उनले अवार्ड नेपाली कला, संस्कृतिको आदान प्रदान गर्ने र अन्तर्राष्ट्रिय कलाकर्मीसँग नेपाली कलाकर्मीले विभिन्न कुरा सिक्न पाउने अवसरका रूपमा चर्चा गरेका थिए ।

नेपाल पर्यटन बोर्डले पनि अवार्ड प्रर्यटन प्रवद्र्धनका लागि ठूलो अवसर भएको बताउँदै आएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अवार्ड नेपालको पर्यटन प्रवद्र्धनका लागि अवसर भएकाले पनि नेपालमा गर्ने निर्णयमा सरकार पुगेको जनाएको छ ।

बलिउडका कलाकारहरु सहभागी हुने सो अवार्ड पर्यटन प्रवद्र्धनका लागि अति उपयोगी हुने भएकाले बोडले आयोजना गर्न लागेका प्रमुख कार्यकारी अधिकृत जोशीले बताउँदै आएका छन् । अवार्डको आयोजनाबाट नेपाल र राजधानी काठमाडौँको परिचय विश्वमाझ पुग्ने पनि बोर्डको विश्वास रहेको छ ।

अवार्डको खर्च कति ?

पर्यटन बोडले अवार्डका लागि करिब ४ सय मिलियन अमेरिकी डलर नेपालले व्यवस्था गर्नुपर्ने प्रस्ताव आएको र त्यसलाई बोर्ड, काठमाडौँ महानगरपालिका र निजी क्षेत्रले मिलेर व्यहोर्ने विषयमा छलफल भइरहेको जनाएको छ ।

बोडका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अवार्ड आयोजना गर्ने मिति र त्यसका लागि बजेट व्यवस्था गर्ने काम आगामी दिनमा छलफलबाट तय हुने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले सो अवार्डको आयोजकको रूपमा नेपाल पर्यटन बोर्डलाई अनुमति दिने निर्णय गरेको र काठमाडौँ महानगरपालिकाले सहआयोजकको भूमिका निर्वाह गर्ने जोशीले जानकारी दिएका छन् ।

आइफामा कलाकारसहित एक हजारभन्दा धेरै भारतबाट मात्रै सहभागी हुने बोडको अनुमान छ । उनीहरूका लागि बस्ने व्यवस्थाका लागि होटल एसोसियसन नेपाल (हान)ले ८ करोड ४० लाख रूपैयाँ खर्च गर्नेछ ।

त्यस्तै कार्यक्रममा सहभागी कलाकारलाई जहाज मार्फत काठमाडौँसम्म ल्याउने जिम्मा नेपाल एयरलाइन्सलाई दिने योजना छ । कलाकार बिजनेस क्लासमा नै आउने भएकाले नेपाल एयर लाइन्सको ४ करोड २० लाख रूपैयाँ खर्च हुनेछ ।

काठमाडौँमा उत्रिसकेपछि उनीहरूलाई होटलसम्म लैजान र ल्याउन सुविधा सम्पन्न गाडीका लागि ३ करोड ६० लाख रूपैयाँ खर्च हुनेछ ।

मुख्य आयोजक बोर्ड र सहअयोजक काठमाडौँ महानगरपालिकाले गर्ने भनिएको ४४ करोड रूपैयाँ भने मञ्च निर्माणमा प्रयोग हुनेछ । मञ्च निर्माणका लागि दुबईबाट अत्याधुनिक र सुविधा सम्पन्न डोम ल्याउने भनिएको छ ।

कार्यक्रममा सहभागी कलाकारको खाना तथा खाजाको प्रवन्धका लागि बोर्डले सोचेको छैन । सहयोगीका रूपमा रहेका नेपाल चलचित्र विकास बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, चेम्बर आफ कमर्स, नेपाल उद्योग परिसङ्घलगायतका सङ्घ संस्थाबाट यसमा लाग्ने खर्च जुटाउन सकिने बोर्डको भनाइ रहेको छ ।

के भन्छ चलचित्र विकास बोर्ड

आइफा अवार्ड आयोजनाको खर्च कसले गर्ने भन्ने बारे टुङ्गो लाग्न बाँकी रहेको नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताएका छन् । खर्चको विषयमा आइफा प्रतिनिधि र बोड बीच छलफल भइरहेको भट्टराईले जानकारी दिए । आईफा अवार्डको प्रस्ताव बोर्डमार्फत सरकारमा पुगेको जानकारी दिएका भट्टराईले खर्च विषयमा सबै पक्षसँग सरसल्लाह र सुझाव लिन बाँकी रहेको जानकारी दिए ।

के हो आइफा ?

‘इन्टरनेसनल इन्डिया फिल्म एकाडेमी अवार्ड (आइफा)’ वार्षिक रूपमा प्रदान गरिने बलिउड सिने अवार्ड हो । यसमा बलिउड फिल्म क्षेत्रका उत्कृष्ट काम गर्ने कलकार र प्राविधिकलाई सम्मान गरिन्छ । सन् २००० बाट प्रदान गर्न सुरु भएको यो पुरस्कार भारतभन्दा बाहिर विश्वका विभन्न सहरमा आयोजना हुने गरेको छ ।

सन् २००० मा आयोजना भएको पहिलो अवार्ड बेलायतमा आयोजना भएको थियो । त्यसपछि अवार्ड विभिन्न विदेशी स्थलमा अयोजना भयो । यसो गर्नुको उद्देश्य बलिउड फिल्मको अन्तर्राष्ट्रिय विस्तारलाई सङ्केत गर्नु रहेको आयोजकको भनाइ रहँदै आएको छ । 

प्रारम्भमा पुरस्कार वितरण एक रातमा सम्पन्न हुने गरेकामा हाल आएर कार्यक्रमलाई तीन दिन लम्ब्याइएको छ । थपिएका दिनमा बलिउड उद्योगसँग जोडिएका विभिन्न कार्यक्रम आयोजना हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप