शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालको सबैभन्दा बढी यी देशसँग छ व्यापारघाटा

१२ खर्ब ९९ अर्बको वस्तु आयात हुँदा भारतबाट मात्र ८ खर्ब ४१ अर्बको आयात
सोमबार, १६ असार २०७६, १७ : ५९
सोमबार, १६ असार २०७६

चालु आर्थिक वर्षको (२०७५/०७६) एघार महिनामा १२ खर्ब बराबरको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार आयात गत वर्षको यसै अवधिको तुलनामा १७.४५ प्रतिशतले वृद्धि भएको हो । चालु आवमा १२ खर्ब ९९ अर्ब ८० करोड २६ लाख ६६ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।  

यस अवधिमा भारतबाट मात्र ८ खर्ब ४१ अर्ब ६७ करोड रुपैयाँ बराबरको आयात भएको छ ।  तर यस अवधिमा निर्यात भने ८७ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ बराबरको भएको छ । आयातको तुलनामा निर्यात निकै न्यून हुँदा देशमा बर्सेनि व्यापार घाटा चुलिँदै गएको छ । 

नेपालबाट निर्यात भएकामध्ये भारतमा ५६ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यस आधारमा मुलुक अहिले १२  खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ बराबरको व्यापार घाटामा छ । 

सबैभन्दा बढी सामान आयात हुने यी हुन पाँच देश 

नेपालमा सबैभन्दा बढी भारतबाट नै वस्तु आयात हुने गरेको छ । ८ खर्ब ४१ अर्ब ६ करोड ७६ लाख रुपैयाँ बराबरको सामान आयात हुँदा नेपालका तर्फबाट ५६ अर्ब ५९ करोड रुपैयाँ बराबरको मात्र वस्तु तथा सामान निर्यात भएको छ । अहिले भारतसँग मात्र नेपालको ७ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ बराबरको ब्यपार घाटा छ । 

अर्को छिमेकी देश चीनबाट नेपालले १ खर्ब ८६ अर्ब ६० करोड ४३ लाख बराबरको सामान आयात गरेको छ । तर यस देशमा नेपालले निर्यात भने निकै न्यून गरेको छ । १ अर्ब ९६ करोड ४९ लाख  रुपैयाँ बराबरको भएको छ । चीनसँग नेपाल १ खर्ब ८४ अर्ब ६३ करोड ९३ लाख रुपैयाँ बराबरको व्यापार घाटा छ । 

तेस्रोमा युनाइटेड अरब इमिरेट्सबाट ३२ अर्ब २८ करोडको ३१ लाखको वस्तु आयात भएको छ । यस देशमा नेपालबाट भने जम्मा ३१ करोड ९५ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ । यस देशसँग नेपाल ३१ अर्ब ९६ करोड रुपैयाँ बराबर व्यापार घाटामा छ । 

नेपालमा चौथो बढी आयात गर्ने देश फ्रान्स रहेको छ । फ्रान्सबाट १९ अर्ब ५२ करोडको वस्तु आयात भएको छ । यस देशमा नेपालबाट १ अर्ब १६ करोडको सामान गएको छ । यस देशसँग नेपालको  १८ अर्ब ३५ करोड रुपैयाँ बराबरको व्यापारघाटामा छ । 

पाँचौँमा सबैभन्दा बढी वस्तु आयात गर्नेमा इन्डोनेसिया रहेको छ । यस देशबाट १६ अर्ब ६२ करोड ७७ लाख  रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस देशमा नेपालबाट १ करोड १७ लाखको वस्तु तथा समान निर्यात भएको छ । 

क्यानडा, मलेसिया, स्विजरल्यान्ड, युनाइटेड स्टेट, भियतनाम, अर्जेटिना, युक्रेन लगायत १५७ मुलुकबाट नेपालमा सामान आयात हुन्छ । 

व्यापार घाटा घटाउन सरकारको कार्ययोजना

बर्सेनि व्यापर घाटा बढ्दै गएपछि सरकारले अबका दिनमा विस्तारै व्यापारघाटा कम गर्दै लैजाने नीति अघिसारेको छ । सरकारले व्यापारघाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजनासमेत पास गरिसकेको छ । यसले अत्यावश्यक वस्तुबाहेक अन्य वस्तु आयात घटाउने नीति लिएको छ ।

यस कार्ययोजनाले विद्युतीयबाहेक अन्य इन्जिनका गाडी खरिद गर्न बैङ्कबाट ऋण नदिने भएको छ । अहिले क्षमताभन्दा बढी गाडी भित्रिएको र त्यसको इन्जिनको पाटपुर्जा आयतले पनि व्यापार घाटा चुल्याउन मद्दत गरेको छ । सवारी साधानमा ऋण नदिँदा पनि आयात कम हुने आँकलन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप