राष्ट्रिय स्वास्थ्य नीति सार्वजनिक : निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जीवनशैलीका लागि साइकल लेन !
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय स्वास्थ्य नीति–२०७६’ सार्वजनिक गरेको छ । गत जेठ १० गते मन्त्रिपरिषद्बाट पारित भएको नीति मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
मुलुक संघीय संरचनामा गएपछि मन्त्रालयले पनि सोही अनुसार स्वास्थ्य नीति बनाएको हो । जसअनुसार ६ वटा उद्देश्य, २५ वटा नीति तथा १४६ वटा रणनीति रहेका छन् ।
स्वास्थ्य नीतिमा सबै तहका स्वास्थ्य संस्थाहरुबाट तोकिए बमोजिमका निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य बिमामार्फत विशेषज्ञ सेवाको सूलभ पहुँच प्रदान गर्ने, सबै नागरिकलाई आधारभूत आकस्मिक स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उल्लेख गरिएको छ ।
यस्तै हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने, हरेक स्थानीय तहमा प्राथमिक अस्पताल स्थापना गर्ने, प्रदेश अन्तर्गत द्धितीयतहको अस्पताल र प्रादेशिक अस्पतालहरु तथा संघअन्तर्गत रहने गरी अति—विशिष्टिकृत अस्पतालका साथै एक स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सरकारको योजना रहेको छ ।
संघीय संरचना अनुसारको स्वास्थ्य प्रणालीमार्फत संविधानप्रदत्त नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हक र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्न यो नीति प्रतिपादन गरिएको उल्लेख गरिएको छ ।
यसअघि राष्ट्रिय स्वास्थ्य नीति २०४८ ले गाउँ गाउँमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्नेगरि संरचनागत विकास, विस्तार तथा स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी र सहभागितालाई प्रवर्द्धन गरेको थियो । यस्तै राष्ट्रिय स्वास्थ्य नीति २०७१ ले नेपालको अन्तरिम संविधान २०६३ को मर्म तथा भावना अनुरुप जनसहभागितामुलक निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई जोड दिएको थियो ।
स्वास्थ्य नीतिमा समेटिएका नौला तथा विशेष नीति तथा रणनीतिहरु यस्ता छन्ः
—सबै तहका स्वास्थ्य संस्थाहरूबाट तोकिएबमोजिमका निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने
—स्वास्थ्य बिमामार्फत विशेषज्ञ सेवाको सुलभ पहुँच ।
—सबै नागरिकलाई आधारभूत आकस्मिक स्वास्थ्य सेवाको पहुँच ।
—हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, हरेक स्थानीय तहमा प्राथमिक अस्पताल प्रदेशअन्तर्गत द्वितीय तहको अस्पताल, प्रादेशिक अस्पतालहरू र संघअन्तर्गत रहने गरी अति–विशिष्टिकृत अस्पतालहरू र संघअन्तर्गत नै रहने गरी हरेक प्रदेशमा कम्तीमा एक विशिष्टिकृत अस्पताल र एक स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना ।
—प्रत्येक प्रदेशमा एक रिफरेन्स प्रयोगशाला तथा निदान केन्द्र स्थापना ।
—संघ, प्रदेश तथा स्थानीय तहमा फिजियोथेरापी सेवासहितको पुनर्स्थापना तथा सेवा केन्द्र स्थापना ।
—राष्ट्रिय रोग नियन्त्रण केन्द्रको स्थापना ।
—स्वस्थ रहनु नागरिक स्वयंको जिम्मेवारी हो भन्ने तथ्यलाई स्वास्थ्य सचेतनामार्फत अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली प्रवर्द्धन
—स्वास्थ्यमा सर्वव्यापी पहुँचको अवधारणाअनुरूप प्रवर्द्र्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्र्थापनात्मक तथा प्रशामक सेवालाई एकीकृत रूपमा विकास तथा विस्तार ।
—नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि व्यक्ति, परिवार, समाज तथा सम्बन्धित निकायहरूलाई जिम्मेवार बनाउँदै एकीकृत स्वास्थ्य प्रणालीको विकास तथा विस्तार ।
—बहुक्षेत्रीय समन्वयमार्फत लागू पदार्थको नियन्त्रण तथा मदिराको प्रयोगलाई निरूत्साहित गर्दै सूर्तीजन्य पदार्थको बिक्री, वितरण तथा प्रयोगको प्रभावकारी नियमन गरिने ।
—सबै किसिमका वातावरणीय प्रदूषण तथा विकास निर्माणको कारणले जनस्वास्थ्यमा हुने नकारात्मक प्रभाव न्यूनीकरण लागि तथा स्वस्थ जीवनशैलीका लागि साइकल लेन, सार्वजनिक पार्कको निर्माणलगायत विषय कार्यान्वयन गर्न सरोकारवाला निकायहरूसँग समन्वय तथा पैरवी ।
—प्रमुख लोकमार्गहरुमा ट्रमा सेवा केन्द्र संचालन ।
—प्रत्येक स्थानीय तहमा न्यूनतम एक सुबिधासम्पन्न एम्बुलेन्सको व्यवस्था ।
—हवाई उद्धारका लागि हवाई एम्बुलेन्सको विकास ।
—आकस्मिक स्वास्थ्य उपचार कोषको व्यवस्था ।
—आयुर्वेद, पञ्चकर्म, योग तथा प्राकृतिक चिकित्साको विशिष्टिकृत सेवासहितको राष्ट्रिय आयुर्वेद, योग तथा पञ्चकर्म केन्द्रको स्थापना गरी यी क्षेत्रलाई स्वास्थ्य पर्यटनमा टेवा पुर्याउने गरी क्रमशः संघीय संरचनाबमोजिम विस्तार ।
—स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताका लागि एक संघीय नियमनकारी संयन्त्रको (प्रत्यायन निकाय) स्थापना तथा विकास ।
—उच्च माध्यमिक विद्यालयसम्म प्रत्येक विद्यालयमा न्यूनतम १ जना स्वास्थ्य जनशक्तिको व्यवस्था गर्ने ।
—तोकिएका उद्योग, व्यवसाय तथा आयोजनाको जनस्वास्थ्य प्रभाव मूल्यांकनको लागि मापदण्ड, संयन्त्र तथा तहगत कार्यक्षेत्रको निर्धारण ।
—‘एक चिकित्सक र स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ को अवधारणालाई सबै सरकारी स्वास्थ्य संस्थाहरूमा क्रमशः लागू गर्ने तथा सरकारी अस्पतालहरूमा विस्तारित अस्पताल सेवा कार्यान्वयन ।
— समयानुकूल मिडवाइफ, अस्पताल व्यवस्थापन, मेडिकल लिडरसिप, स्वास्थ्य अर्थशास्त्र जस्ता विशिष्टिकृत जनशक्ति उत्पादनका लागि आवश्यक प्रबन्ध गर्ने ।
—स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको विकास तथा विस्तारका लागि एकीकृत छाता ऐनको व्यवस्था गर्ने ।
—स्वास्थ्यसम्बन्धी व्यावसायिक परिषद्हरूलाई एकीकृत छाता ऐन बनाइ संघीय ढाँचाअनुरूप विकास तथा प्रदेश तहमा विस्तार ।
— स्वास्थ्यकर्मीलाई आफ्नो कार्य र सेवाप्रति जवाफदेही बनाउन कार्यदक्षताका आधारमा पारिश्रमिक र सुविधाको व्यवस्था गर्ने ।
— मानव अंग प्रत्यारोपण तथा अंगदान सेवालगायत, मस्तिष्क मृत्यु भएकाबाट अंगदान सेवालाई व्यवस्थित गर्ने ।
—जेनेरिक प्रिस्क्रिप्सन र दक्ष प्राविधिकसहितको अस्पताल फार्मेसीको सञ्चालन गर्ने ।
—ई–हेल्थलाई संस्थागत गर्दै मोबाइल हेल्थ, टेलिमेडिसिनलगायत अन्य आधुनिक प्रविधिको विकास, विस्तार तथा नियमन गरिने साथै सेवाग्राहीको स्वास्थ्य सेवा सम्बन्धी विवरणको विद्युतीय अभिलेखन ।
—प्राथमिक मानसिक स्वास्थ्य, मुख, आँखा, नाक, कान, घाँटी स्वास्थ्य सेवालगायतका विशेष उपचार सेवालाई पालिकास्तरसम्म विकास र विस्तार ।
—पोषणको अवस्थालाई सुधार गर्न, मिसावटयुक्त तथा हानिकारक खानालाई निरूत्साहित गर्दै गुणस्तरीय एवं स्वास्थ्यवर्धक खाद्यपदार्थको प्रवर्धन, उत्पादन, प्रयोग र पहुँचलाई विस्तार ।
—जीवनपथको अवधारणा अनुरूप सुरक्षित मातृत्व, बालस्वास्थ्य, किशोर–किशोरी तथा प्रजनन स्वास्थ्य, प्रौढ तथा जेष्ठ नागरिकलगायतका सेवालाई पालिकास्तरसम्म विकास र विस्तार गर्ने ।
— स्वास्थ्य सेवामा व्यक्तिगत खर्च कम गर्ने र लागत प्रभावकारिताका आधारमा स्वास्थ्यमा वित्तीय स्रोतको परिचालन गर्ने विषयलाई समेट्दै एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तीय रणनीति तर्जुमा ।
—सूर्तीजन्य, मदिराजन्यलगायतका स्वास्थ्यलाई हानि गर्ने अन्य पदार्थबाट प्राप्त हुने राजस्वको अधिकतम हिस्सा जनस्वास्थ्य प्रवर्धनलगायतका कार्यक्रममा लगानी गरिने ।
—बढ्दो सहरीकरण, आन्तरिक तथा बाह्य बसाइसराइजस्ता विषयहरूको समयानुकूल व्यवस्थापन गर्दै यसबाट हुने जनस्वास्थ्यसम्बन्धी समस्याहरूको समाधान ।
—प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्दै संक्रामक रोग नियन्त्रण तथा व्यवस्थापनका लागि एकद्वार स्वास्थ्य पद्धतिको विकास तथा विस्तार गरिनुका साथै वायु प्रदूषण, ध्वनि प्रदूषण, जल प्रदूषण लगायतका वातावरणीय प्रदूषणका साथै खाद्यान्न प्रदूषणलाई वैज्ञानिक ढंगले नियमन तथा नियन्त्रण ।
—आप्रवासन प्रक्रियाबाट जनस्वास्थ्यमा उत्पन्न हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न तथा विदेशमा रहेका नेपाली नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि समुचित व्यवस्थापन तथा आवश्यक संयन्त्रको व्यवस्था ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई साढे ५ बजे काठमाडौँ ल्याइने
-
मध्यरातदेखि मौन अवधि सुरु हुँदै : के-के गर्न पाइँदैन ?
-
रुसले गर्यो युक्रेनको ऊर्जा सञ्जालमा प्रहार, १० लाखभन्दा बढी युक्रेनी जनता अन्धकारमा
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज