शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

आइतबार, १५ असार २०७६, २२ : ११
आइतबार, १५ असार २०७६

कैलाली-प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरु अनुपस्थित भएपछि आज बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको छ । 

बैठक प्रारम्भ हुनासाथ सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थिति नभएकाले बैठक स्थगन गर्दै अर्को बैठक असार १७ गते दिउँसो ३ बजे बस्ने जानकारी गराए । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट विधि पद्धति मिचेर अपारदर्शी ढङ्गले ल्याइएको र कार्यकर्तामुखी भएको भन्दै प्रतिपक्ष नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीले विरोध गर्दैै आएका छन् । उनीहरु बजेट नसच्याएसम्म निकास ननिस्कने अडान राख्दै आएका छन् ।  

सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले प्रतिपक्षलाई समेटेर लैजाने विषयमा सत्तापक्ष सकारात्मक रहेको बताए । उनले असार १७ गतेसम्म वार्ता गरी समस्याको समाधान निस्किने बताउनुभयो । काङ्ग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले आफूहरु मुख्यमन्त्रीसँग वार्तामा रहेको समयमा आजको बैठक स्थगन गर्न उनले आग्रह गर्नुभएकाले आजको बैठकमा अनुपस्थित रहेको बताए ।

राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरी प्रतिपक्षलाई नटेरेर सरकारले दुई तिहाइको दम्भ देखाएकाले समस्या उत्पन्न भएको बताउँछन् । छलफलद्वारा समस्याको समाधान गर्न प्रतिपक्ष र सत्तापक्षबीच यस अवधिमा चार पटक वार्ता भए पनि निकास निस्कन सकेको छैन । असार १२ गते बोलाइएको बैठक प्रतिपक्षको विरोधका कारण स्थगन भएको थियो । यसअघि असार ५, ८ र ११ गतेका लागि तोकिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप