शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी मनाइयो विदेशी पर्यटकहरुसँगै पोेखरामा धान दिवस (फोटोफिचर)

आइतबार, १५ असार २०७६, १७ : ३८
आइतबार, १५ असार २०७६

पोखरा– खासमा असार १५ पोख्रेलीका लागि धान दिवश मात्र होइन् । पछिल्लो समय पर्यटक भित्र्याउने मेसो पनि बनेको छ । यो भनाई कसैले दाबी गरेर भनेका होइनन् । पोखरा पर्यटन परिषद्ले असार १५ को छेको पारेर पोखरा–१५ महतगौंडामा आयोजना गरेको रोपाई महोत्सवमा देखिएको दृश्यले पुष्टि गर्छ । 

पर्यटनको लागि अफ सिजन मानिने बर्खायाममा पनि पर्यटकको बाक्लै उपस्थितिले रोपाई महोत्सवकोे पर्यटकको लागि कत्तिको महत्व छ भन्ने झल्काउँथ्यो । पोखरा पर्यटन परिषद्ले आयोजना गरेको १६ औं रोपाईं महोत्सवको मज्जा पर्यटकहरुले मज्जैले लिए । उनीहरुले एकाआपसमा हिलो मात्र छ्यापेनन् । सद्भाव पनि बाँडे । रोपारेहरुको सिको गर्दै धान पनि रोपे । जानि नजानि असारे भाका पनि गाए । तछाड्मछाड् गर्दै एकाआपसमा हिलो छ्याप्दै । गलामा धानकै माला, निधारमा माटोको टिका लगाएर पञ्चे बाजाको धुनमा मज्जैले नाँचे । 

पर्यटकहरुले हिले दौड, रोपाई प्रतियोगिता, हिलोमा माछा समाउने, गोरु दौड प्रतियोगिताको पनि मज्जा लिन भ्याए । महोत्सव हेर्न गएकाहरु पनि उनीहरुसँगै रमाए । खेतको आलीमा बसेकाहरुलाई हिलो छ्याप्दा छेउमा बस्नेहरु भागदौड गर्दा माहोल निकै रोमाञ्चक बनेको थियो । पर्यटक हिलोले चिन्नै नसक्ने हुँदा पनि खुसी देखिन्थे । 

असारे रोपाई महोत्सवको लागि भनेर आन्तरिक तथा तेस्रो देशका पर्यटक पोखरा आउने गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोख्रेल बताउँछन् । ‘रोपाईं महोत्सवकै लागि मात्र पनि तेस्रो देशका पर्यटकहरु आउँछन्,’ उनले भने, ‘गत वर्षमा जस्तै यस वर्ष पनि उल्लेख्य मात्रामा रोपाईं महोत्सवमा पर्यटकको उपस्थिति छ । यो क्रम बाक्लिँदै पनि गई रहेको छ ।’

फरक संस्कृतिको अनुभव गर्न पाउँदा निकै खुसी लागेको पर्यटकहरुले प्रतिक्रिया दिएका छन् । पोखरा पर्यटन परिषद्ले हरेक वर्ष रोपाईं महोत्सवको आयोजना गर्दै आएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप