केन्द्रीय संस्करण

नेकपामा बिचौलियाको बिगबिगी

person explore access_timeअसार १४, २०७६ chat_bubble_outline0

कुनै पार्टी विचार सिद्धान्तका सवालमा अलमलमा पुगेपछि सिद्धान्तमा चल्ने कम्युनिस्ट पार्टी नै पनि पिँधबिनाको लोहोटा हुनपुग्छ । यस्ता अलमलले पार्टी गन्तव्यहीन हुनेछ । 

अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा टड्कारो रूपमा देखापर्दैछ । यसले निक्कै ठूलो सङ्कट ल्याउने पनि देखिन्छ । होस नपुर्याए बल्लबल्ल प्राप्त अवसर गुम्न पनि सक्छ ।  साम्राज्यवादी शक्ति दुई तिहाइको कम्युनिस्ट सरकार बनेदेखि चिन्ताले छटपटाएको छ । यसले पैसाको खोलो बगाएर भए पनि यसलाई समूल समाप्त पार्ने योजनामा निर्लिप्त देखिन्छ ।

 तर कतिपय उपल्ला र माथिल्ला तहका नेताहरु यस्ता विषयमा त्यति गम्भीर देखिँदैनन् । सरकारका २, ४  मन्त्रीहरुको दूरदर्शी दृष्टिकोण देखिन्न । सेन्डिकेट हटाउने सवालमा नै तिनको व्यहोरा देखियो । तिनमा  सांस्कृतिक दृष्टिचेत शून्यप्राय देखिन्छ । नेपालको संविधानले धर्मलाई जनताको मौलिक अधिकार सुनिश्चित गरेको छ तर धर्मका नाममा अब अन्याय, असमानता र शोषण गर्न पाइन्न भनेको छ तर त्यही कुरा पढेका र जानेका नेता र यस विषयलाई कलात्मक हस्तक्षेपपूर्वक उजागर गर्ने नेता कति होलान्, छैनन् वा कम छन् । 

यस लेखकले अशोक राईलाई नै उहिले तपाईंहरुले पार्टीमा गरेको सबै लगानी असुली सक्नुभयो अब तपाईंहरुलाई देश र जनताका लागि केही गरौँ भन्ने कुरा कति पनि छैन भनिदिएको हो । अहिले केही शीर्षस्थ नेताको त्यही हालत देखिन्छ ।

कतिलाई देश र पार्टी भड्खालमा गए पनि एकपल्ट प्रधानमन्त्री बन्ने भूत सवार भएको छ । यसमा अवरोध आउँदा तिनले चरम अवसरवादी चरित्र प्रदर्शन गर्न थालेका छन् । 
कतिलाई आफैभित्र रहेका चरम सामन्तवादी अवशेषका कारण ऐनमौकामा मदन भण्डारीको योगदान र भूमिकालाई सम्पूर्ण रूपमा किनारा लगाउनु पनि छ । अनि केहीलाई जेजे भज्छ र भँजाउन सकिन्छ,  त्यही भजेर र भँजाएर पार्टीमा र आगामी सरकारमा हालीमुहाली गर्नुछ ।

 यस्तो अवस्था देख्दा प्रचण्ड, ओली, माधव, झलनाथ, बामदेवले पार्टी र सरकारको कार्यकारी नभएर अभिभावकत्व सम्हालेर बस्नु जाती हुन्छ । 

तुलनात्मक रूपमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली कमजोरीसहित पनि एक्ला अग्ला सावित हुनुभयो । सरकारका केहीबाहेक अनेक सकारात्मक काम, कदम र अभियानहरु छन् तर जुन सरकारले लुकेको भ्रष्टाचार र बालुवाटारको जग्गा खोज्न र  अनुसन्धान गर्न समिति बनाएर देशमा व्याप्त विगत विरासत स्वरूपका तमाम भ्रष्टाचारजन्य क्रियाकलाप सतहमा ल्यायो, उसैलाई भ्रष्ट देख्ने मोतियाबिन्दुहरुको प्रलाप  मिडियाहरुमा भाइरल भएको देख्दा अचम्म लाग्छ । 

त्यति मात्र कहाँ हो र त्यही गोेयबल्स भाइरल समाचारको भलमा बगेर विराटनगरे प्रगतिशील एक कविले अहिले नै यो देशमा राक्षसको अवतार भएजस्तो पाराको कविता लेखे र सुनाए ।

अब त हद भइसक्यो जनता जाग्ने र जगाउने बेला नै टर्न आँट्यो प्रचण्ड कमरेड । लाखौँ अमेरिकी सेनाले गर्न नसकेको काम एक पत्रिकाले गर्छ तर त्योभन्दा शक्तिशाली जनता हो र जनशक्ति हो । के सरकार र पार्टी विरोधी  तमाम गोयबल्सशैलीलाई चिर्न र निमिट्यान्न पार्न पार्टीले  राष्ट्रव्यापी पार्टी सुदृढीकरणसहित जनअभियान सञ्चालन गर्न ढिला भइसकेन ?

 बरु यो कुरामा बेलैमा ध्यान पुगे पार्टीको साख भुइँतहदेखि नै अलि बलियो हुने थियो होला ।   पार्टी र सरकारका मुद्दा मिलाउने न्यायाधीश नै वादी प्रतिवादीको तहमा ओर्लिएर सडकमा बहस गरिरहेको देख्दा अर्को उदेक लाग्छ । प्रमुख नेताले कुनबेला के र कुन लोलीबोली बोल्ने भन्ने नै  नजानेको हुँदै होइन बरु भाँती पुर्याएर पार्टीका आन्तरिक विषय दुनियाँ हँसाउने गरी असरल्ल पारेको हो ।

 घमण्ड पनि अति भएपछि कुरूप र भद्दा हुन्छ । यो कुरा दुईवटै अध्यक्षले स्मरण गरे कति राम्रो हुन्थ्यो । 

सकेसम्म हिजोका दिनमा कतिपय नेताहरुले नै पार्टीलाई कमजोर बनाएका हुन् । बरु तमाम कार्यकर्ताहरुले यस पार्टीलाई जगाएका र जोगाएका हुन् । तर अब कार्यकर्ताहरुमा  पनि विचार र सिद्धान्तलेस मात्र पनि बाँकी होला जस्तो लाग्दैन  ।

 विराटनगर त प्रगतिशील विचारको मृत सहर हो भन्दा हुन्छ । विराटनगर  मृत आत्माको चिर शान्तिको कामना गर्छ, बोक्सीमा विश्वस्त छ । कार्यक्रममा प्रमुख अतिथिको भाउ र भेउ नै थाहा नपाएर बिट मार्न नजानेर हरिबिजोक चाला देखाउँछ । सतीले सरापेको देश भनेर प्रगतिशील कविता भट्याउँछ । भाग्यवाद र पुर्पुरोवादमा सिरानी हालेर कविता लेख्छ । यसमा आलोचनात्मक दृष्टि राख्दा उल्टो रिसाउँछ ।

प्रगतिशील कविगोष्ठीको भव्य आयोजना गर्छ अनि गैरप्रगतिशीललाई कार्यक्रमको प्रमुख अतिथि बनाएर उसैबाट प्रगतिशीलको धज्जी उडाउँदा सन्च मानेर सुन्छ । 

 यस्ता भुत्ते कार्यकर्ता, लेखक र बुद्धिजीवीबाट जनताको जनवाद, बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादको सही निक्र्याैल हुने  अवस्था पटक्कै  देखिन्न ।

नेता समग्र आन्दोलन नै बुझ्दैन । कला, साहित्य र संस्कृतिको मर्म, महत्त्व र सामयिकता त झन् पटक्क बुझ्दैन । बिचौलियाको प्रभावमा पुरस्कार, पदक र प्रतिष्ठाको त पाँडेपजनी हुन्छ भने अरू क्षेत्रको दुरवस्था के होला र ? अनि अज्ञ, प्रज्ञ र विज्ञले समेत  अवसर हेरी बोल्ने र खेल्ने दाउ गरेपछि देश रहला र ? 

पूर्वएमालेमा सातौँ महाधिवेशनमा उही बहुपदीय संगठन प्रणालीका बारेमा सत्तो सराप गर्नेहरु आठौँमा त्यही विषयमा बोल्दा तीन बित्ता उफ्रिएर समर्थनमा बोलेको देखेपछि राजनीतिक अवसर छोपुवा नेताहरुको चरित्र उजागर भएकै हो । 

    पार्टी एकीकरणका समयमा जनताको जनवाद मात्र भनियो । तर यसको समग्र व्याख्या,विश्लेषण र विवेचनामा जनताको बहुदलीय जनवादको सविस्तार र एक्काइसौँ शताब्दीको जनवादलाई त्यसको अन्तर्वस्तु अनुसार उल्लेख गरियो । यी दुवै विचार उस्तै उस्तै जस्तै तस्तै परिस्थितिमा निर्माण भएकै होइनन् । यी दुवै विचार उस्तै उस्तै लागे पनि यिनमा समानता भिन्नता पनि  छ । जबजलाई आग्रह पूर्वाग्रह रहित समग्रतामा बुझ्ने पूर्व एमालेमै कति होलान् र ? बुझेका भए तिनले किन बुझ पचाएर बोलिरहेका होलान् । 

अहिले आएर यस पार्टीमा तात्कालिक कार्यनीतिको विषयको बहस तीव्र  रूपमा सतहमा आएको देखिन्छ । तर यो तीव्रता केही मिडियामार्फत् उछालिएको पनि अनुभूत हुन्छ । नेपालका कतिपय मिडियाहरुमा त नेपाल विरोधी लेखहरु पनि पर्याप्त नै छापिएका थिए । जब नेपाली  मिडिया बाह्य लगानीका भरमा चल्छन् तिनले जसको सिता खान्छन्, त्यसकै गीत गाउने नै भए । यहाँ विचौलिया त झन् खतरनाक देखिन्छन् । 
पार्टीमा सिद्धान्तको सबालमा तर तथापि परन्तु र किन्तुको गुन्जायस हुँदैन । जननेता मदन भण्डारीले जुन तर्क, तथ्य, आधार तथा दूरदृष्टिकोणका साथ जबजको समग्र प्रतिपादन गर्ने कामको अगुवाइ गर्नुभयो । त्यसबेलाका कतिपय ढुलमुले नेताहरुलाई आफू एक्लै भए पनि यस विचारमा अडिग रहने अडान मदनले राख्नु भएको सम्झना होला  । 

कम्युनिस्ट आन्दोलनका धेरै अग्रजहरुले सिद्धान्तको सबाललाई लिएर दोचारे, दुईजिब्रे र ढुलमुले विचारविरुद्ध आफ्ना सुस्पष्ट दृष्टिकोणहरु अगाडि सारेका थिए र छन् । सिद्धान्त र विचारका सबालमा सबकोही नेता सक्षम हुन्छन् भन्ने छैन । किन पनि छैन भने कतिपयमा त्यस खालको दूरदृष्टि, आग्रह रहित सोच, आन्दोलन केन्द्रित दीर्घ कालीन ध्येय र उद्देश्य नै हुँदैन । 

पूर्ण प्रकाश नेपाल यात्रीसित वनारसमा अध्ययन गर्दा नै मदन भण्डारीले एउटा सफल व्यक्तिमा एक होइन दस विशेषता  अपरिहार्य हुने कुरा बताउनुभएको थियो । भण्डारीले सुविचारित रूपमा त्यो कठिन कालखण्डमा जबजको प्रतिपादन  गर्नुभयो । त्यो दुनियाँको कम्युनिस्ट आन्दोलन र नेपाली सन्दर्भलाई मिहीन रूपमा अध्ययन गरेर गर्नु भएको थियो । तर उहाँलाई नै अनेक तरिकाले अस्वस्थ्य रूपमा उचालपछार गर्ने र उहाँको तेजोबध गर्ने खालको अराजनैतिक कुरूपता र कृत्य नभएका होइनन् ।

त्यस खालका कुरूप नायकहरु दुवै मैनाली भाइ समेत अहिले सडक किनारमा उभिन पुगेका छन् । आन्दोलन आगो हो यसमा खेल्न नजान्दा अहिलेका कतिपय नेताको हालत त्योभन्दा गतिलो हुने देखिन्न ।   
 यहाँसम्म कि  मदनको  षडयन्त्रपूर्वक हत्या गरिएपछि पनि कतिपयले मदन भण्डारीको हार्दिकतापूर्वक सकारात्मक स्मरण नगरेको पनि यस लेखकलाई थाहा छ । तत्कालीन पार्टी उपाध्यक्ष विद्या भण्डारीले मदन भण्डारी फाउन्डेसनको राष्ट्रिय भेलामा स्वागत मन्तव्यका क्रममा यही पृष्ठभूमि स्मरण गर्दा बोली नै बन्द भएर  भक्कानिएको यस लेखकलाई अहिले पनि ताजैछ । 

केही वर्षअघि सुनसरी जिल्लाको धरानमा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा तत्कालीन महासचिव ईश्वर पोखरेलले आदरणीय पार्टी अध्यक्ष तथा अग्रज नेताहरूप्रति नकारात्मक सोच नराख्न आग्रह गर्नुभएको थियो । दिवङ्गत नेताहरुले जेजे योगदान गर्नुभयो र जीवित नेताहरुले जे गर्दै हुनुहुन्छ ती सबै आगामी आन्दोलन, हामी हाम्रै लागि  र  नयाँ पुस्ताका लागि हो भन्ने यथार्थ सत्य स्मरण गराउनुभएको थियो । अहिले राजनीतिक बिचौलियाहरुको पार्टीमा बिगबिगी देखिन्छ । जबजको च्याप्टर क्लोजलाई सीधा वा घुमारो पाराले जसरी पनि विरोधै गर्ने दुष्प्रवृत्ति देखिन्छ ।

जबज वा एक्काइसौँ शताब्दी कुन कस्तो परिस्थिति, सन्दर्भ र समग्रतामा प्रतिपादित भए भन्ने कुरालाई मिहीन रूपमा ख्याल नगरी तिनको सम र विषम औचित्य, सामयिकता र दूरगामिता निक्यौल गर्न सकिन्न । त्यसैले पार्टीमा यस विषयमा सघन बहस, छलफल, चिन्तन र विश्लेषण अपरिहार्य देखिन्छ ।

तर सरकार विषयविज्ञ चयन गर्न नसेकेर पटक पटक थला परेको देखिन्छ । बिचौयाहरु भने दिव्य बाह्र वर्षसम्म पनि पाँडेपजनीमा परिरहन्छन् । अभर परेका बेला कहिल्यै काम नलाग्नेहरु नै सत्ता र सरकारका वरिपरि झिँगाझैँ भन्किन्छन् तर तिनीहरु जहाँ जहाँ पुग्छन्, औँसाहा पनि पार्छन्, पार्छन्  । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...