शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजेटको लक्ष्य हासिल गर्न अब दैनिक २३ अर्ब खर्च गर्नुपर्ने

शनिबार, १४ असार २०७६, ०६ : ४४
शनिबार, १४ असार २०७६

सरकारले चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब १६ करोडको बजेट ल्याएको थियो । तर, वर्ष सकिन १९ दिन बाँकी रहँदा ६६.८४ प्रतिशत अर्थात् आठ खर्ब ७९ अर्ब ३३ लाख मात्रै खर्च भएको छ । सरकारले बजेटको लक्ष्य पूरा गर्न बाँकी १९ दिनमा चार खर्ब ३६ अर्ब १५ करोड सकाउनुपर्छ । यसका लागि दैनिक २२ अर्ब ९५ करोड खर्च गर्र्नुपर्ने हुन्छ । तर, सरकारले अहिलेसम्म दैनिक औसत दुई अर्ब ५४ करोड मात्रै खर्च गरिरहेकाले लक्ष्य पूरा नहुने निश्चित छ । 

संशोधित बजेटको ७३.३०% खर्च 
सरकारले गत फागुनमा मध्यावधि समीक्षा गर्दै बजेटको आकार ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाख रुपैयाँमा झारेको थियो । संशोधित बजेटको अहिलेसम्म आठ खर्ब ७९ अर्ब ३३ लाख खर्च भएको छ । यो रकम ७३.३० प्रतिशत हो । संशोधित बजेट पनि पूरै खर्च गर्न बाँकी १९ दिनको अवधिमा दैनिक १६ अर्ब ८४ करोड खर्च गर्नुपर्छ । 

संशोधित बजेटमा चालू खर्च सात खर्ब ९८ अर्ब ४४ करोड ६ लाख उल्लेख छ । त्यसमध्ये ६ खर्ब ४३ अर्ब २६ करोड ७६ लाख रुपैयाँ खर्च भएको छ । यो रकम ८० प्रतिशत हो । असार मसान्तभित्र चालू बजेट पूरै सक्न दैनिक आठ अर्ब १६ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

त्यस्तै, संशोधित पुँजीगत खर्च दुई खर्ब ६५ अर्ब २६ करोड ५७ लाख तोकिएको छ । तर, अहिलेसम्म एक खर्ब ६५ अर्ब ९० करोड ५० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो रकम ६२ दशमलव ५४ प्रतिशत मात्रै हो । चालू आर्थिक वर्षको १९ दिनमा पूरै बजेट सक्न दैनिक पाँच अर्ब २२ करोड ९५ लाख खर्च गर्नुपर्ने हुन्छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप