शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५० लाखको अफर दिने राजपाका नेताहरु अहिले आन्दोलनकारीलाई भन्छन् – घरजग्गा बेच, मुद्दा लड !

‘नेताहरु हामीलाई नचिनेको जस्तो गर्छन्’
शुक्रबार, १३ असार २०७६, १४ : २३
शुक्रबार, १३ असार २०७६

काठमाडौँ । तेस्रो मधेश आन्दोलन सकिएको तीन वर्ष भइसक्यो तर आन्दोलनको घाउ अझै सुकेको छैन ।

त्यतिबेला आन्दोलनमा सहभागीका भएका कतिपय आन्दोलनकारी जेलमा छन् भने कतिपय भागेर हिँडिरहेका छन् । कतिपय आन्दोलनकारी अहिले पनि अदालतमा तारेखमा धाइरहेका छन् । त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरु जीउमा गोली बोकर हिँड्न बाध्य छन् ।

आन्दोलनका बेला मधेशी नेताहरुले जनतालाई आन्दोलनमा आउन अपिल गर्दै ‘५० लाखसम्म दिने’ अफर गरेका थिए । तर, उनीहरुको बारेमा सोच्ने र सहयोग गर्ने नेताहरुलाई फुर्सद छैन । मृतक परिवार तथा घाइतेलाई शुरुशुरुमा सरकारले सहयोग गरेपनि मधेशी नेताहरुबाट त्यसप्रकारको कुनै सहयोग नपाइरहेको गुनासोहरु आइरहेका छन् ।

अहिले प्रदेश नम्बर दुईमा आन्दोलनको नेतृत्व गरेको समाजवादी पार्टी, नेपाल (तत्कालिन संघीय समाजवादी फोरम नेपाल) र राष्ट्रिय जनता पार्टी, नेपालको संयुक्त सरकार रहेको छ भने केन्द्रमा समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी छ । तैपनि, आन्दोलनमा ज्यान गुमाएका परिवार र घाइतेहरु सहयोगबाट वञ्चित छन् । आन्दोलनका क्रममा मुद्दा लागेकाहरु अदालत धाउन बाध्य छन् ।

तीन युवा दीपक कुशवाहा, शम्भु साह र विनोद साह आन्दोलनमा सक्रियरुपमा सहभागी भए । तर, अहिले उनीहरुको विचल्ली भएको छ । आन्दोलनको क्रममा आगजानीको मुद्दा लागेका उनीहरु न्यायका लागि काठमाडौँमा नेताहरुको घरघर धाइरहेका छन् । तर, सहयोग पाउन त कहाँ हो कहाँ नेताहरुको रुखो जवाफले गर्दा निराश भएका छन्  । उनीहरु भन्छन्, ‘के यसैका लागि हामीले आन्दोलनका गरेका थियौँ ?’

२०७२ सालको मधेश आन्दोलनमा सहभागी यी तीन युवामाथि आगजनीको मुद्दा लागेको थियो । तर उनीहरुले मुद्दा हारे । धनुषा जिल्ला अदालतले एक वर्ष जेल र साढे पाँच लाख रुपैयाँ जरिवाना गरेको छ । २५–२६ वर्षका यी युवाहरु जेल बस्न चाहँदैनन् । उनीहरु भन्छन्, ‘हामी जेल बस्यौँ भने त हाम्रो जीवन नै बर्बाद हुन्छ ।’

उनीहरु पुनरावेदन गर्न चाहेका छन् । पुनरावेदन गर्नका लागि साढे पाँचलाख धरौटी राख्नुपर्ने हुन्छ । तर, उनीहरुसँग त्यति रकम छैन । त्यही रकमका लागि उनीहरु प्रदेशदेखि केन्द्रसम्म मन्त्रालय र मधेशी नेताहरुको घरमा धाइरहेका छन् । उनीहरुले प्रदेशमा सबै मन्त्री तथा नेताहरुसँग भेटिसकेका छन् भने यता केन्द्रमा पनि सबै शीर्ष नेताहरुसँग भेटिसकेका छन् । सबैले आश्वासनबाहेक केही दिएका छैनन् ।


भेटमा आफूहरु मुद्दा हारेको र पुनरावेदनका लागि धेरौटी राख्न रकम नभएको बताउँदै त्यसका लागि सहयोग गर्न उनीहरुले आग्रह गरेपछि सहअध्यक्ष कर्णले ‘तिमीहरु आफ्नो घरजग्गा बेचेर पनि मुद्दा लड्न सक्छौँ नि ! त्यी बेचेर मुद्दा लड,’ भन्ने जवाफ दिएको दिएका थिए ।


अझ केही नेताहरुले भने उनीहरुलाई मुद्दा लड्न आफै व्यवस्था गर्न समेत भनेका छन् । दिपक कुशावहा भन्छन्, ‘राजपा नेपालका सह–अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले त तिमीहरु आ–आफ्नो घर जमिन बेचेर मुद्दा लड भन्नुभयो । पार्टीले केही गर्न नसकिने जवाफ दिनुभयो ।’ तीनैजना युवाले राजपा नेपालको कार्यालयमा सहअध्यक्ष कर्णलाई भेटेका थिए ।

भेटमा आफूहरु मुद्दा हारेको र पुनरावेदनका लागि धेरौटी राख्न रकम नभएको बताउँदै त्यसका लागि सहयोग गर्न उनीहरुले आग्रह गरेपछि सहअध्यक्ष कर्णले ‘तिमीहरु आफ्नो घरजग्गा बेचेर पनि मुद्दा लड्न सक्छौँ नि ! त्यी बेचेर मुद्दा लड,’ भन्ने जवाफ दिएको दिएका थिए ।

यस्तो जवाफ आएपछि उनीहरुलाई यतिबेला निराश छन् । मधेशका लागि ज्यान दाऊमा राखेर आन्दोलनमा सहभागी भएर अहिले बेकारमा मधेश–मधेश भनेर आफ्नो जीवन बर्बाद गरेको जस्तो अनुभव उनीहरुलाई भइरहेको छ । दीपक भन्छन्, ‘वहाँको जवाफ सुनेपछि हामी त्यहाँ रुन मात्र सकेनौँ । यिनै मधेशी नेताका कारण आज हाम्रो यो अवस्था भएको हो ।’

आफूहरुमाथि मुद्दा लागेदेखि नै पार्टीका नेताहरु कहाँ हामीले आफ्नो कुरा राख्यौँ । ‘शुरुदेखि नै नेताहरु चिन्ता नगर मुद्दा फिर्ता हुन्छ, केही हुँदैन भने । नेताहरु जे–जे भने हामीले त्यही गर्यौँ । उनीहरुको भरमा पर्दा आज हाम्रो बिच्चली भएको छ,’ उनीहरु बताउँछन् ।

२१ दिनसम्म थुनामा रहेपछि दीपक अदालतमा ४६ हजार धरौटी राखेर रिहा भएको थिए । रिहा भएको दिन जिल्ला स्तरका सबै नेताहरु भेट्न आएका थिए । त्यतिबेला पनि सबैले केही नहुने आश्वासन दिए । ‘राजपाका जिल्ला अध्यक्ष संजय सिंहले देखाउनु भएको बाटोमा हिँडे । अदालतमा मुद्दा चल्न थालेपछि तारेख लिन थाले,’ उनी भन्छन्, मुद्दा प्रायः पेसीमा नै चढ्थ्यो फैसाल कहिले हुने हो थाहा थिएन । हामीलाई डर पनि लाग्थ्यो । तर नेताहरु भन्नुहुन्थ्यो न डराउ सबै मुद्दा फिर्ता हुन्छ ।’

अन्तिम पेशीको दिन प्रदेश २ का प्रमुख न्याधिवक्ता दीपेन्द्र झालाई पनि उनीहरुले भेटेका थिए । न्यायधिवक्ताले झाले पनि ‘तिमी चिन्ता नगर, न्यायाधीश आफ्नै फेवरका मान्छे हुनुहुन्छ । उहाँलाई मैले एक कल गरेपछि तिमीहरु जित्छौ चिन्ता नगर,’ दीपक भन्छन्, ‘दीपेन्द्र झाको यस्तो कुरा सुनेपछि हाम्रो खुशीको सीमा थिएन । हामी उहाँलाई नमस्कार भनेर हाँस्दै निस्केका थियौँ । तर सबै उल्टो भइदियो । हामीले मुद्दा हार्यौँ ।’

पछि न्यायधिवक्ता झालाई सम्पर्क गर्दा उनले ‘आफूले त फोन गरेर भनेको त हो तर भएन । के गर्ने ? अब जे गर्छन् नेताहरुले गर्छन् । अब नेताहरु कहाँ जानु’ भन्ने जवाफ दिएका थिए ।

राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोसँग भेट्दा त उनले आफूहरुलाई नचिनेको जस्तो गरेको उनीहरुको गुनासो छ । धनुषाबाट चुनाव जितेका कारण पनि उनीमाथि निकै आशा थियो । त्यही भएर ती युवाहरुले महतोसँग पटक–पटक भेटेर आफ्ना समस्या राखेका थिए । हरेक पटक आश्वासन मात्रै पाउँथे उनीहरु ।

तर, हिजो भेट्न जाँदा महतोले चिन्न गाह्रो मात्र मानेनन्, आफ्नो कार्यकक्षबाट बाहिर बस्न समेत भनेको उनीहरुले गुनासो गरे । उनीहरुले यस विषयमा अध्यक्षमण्डलका सदस्यहरु महन्थ ठाकुर र शरतसिंह भण्डारीसँग पनि भेटेका छन् । जवाफमा दुवै नेताले यस विषयमा पार्टीमा सल्लाह गरेर जवाफ दिने आश्वासन दिएका छन् । ‘अब आश्वासन मात्र दिएर भएन,’ अबको १०–१५ दिनमा केही गर्न सकिएन भने जेल बस्नुबाहेक अरु कुनै उपाय नरहेको उनीहरु बताउँछन् ।

उनीहरु समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवलाई पनि उनकै मन्त्रालयमा पुगेर भेटेका थिए । उनले तीनै जनाको नाम र नम्बर टिपेर पछि फोन गर्ने बताएका थिए । तर अहिलेसम्म फोन आएको छैन ।

धनुषा महेन्द्रनगरका उनी तीनैजना प्लस टु पास गरेर बसेका छन् । २०७२ असार ७ गते ‘चलु ढल्केबर, भरु ढल्केबर’ कार्यक्रमको आयोजना थियो । सोही कार्यक्रमको दिन तेल बोकेर गइरहेको मटरसाइकमा आगो लगाइएको थियो । जसको मोटरसाइकल जलेको थियो, ती व्यक्तिले आफूहरुलाई चिनेको भरमा अदालतमा मुद्दा हालेको ती युवाहरुको दाबी छ । ‘त्यो दिन हामीहरु त्यहाँ थिएनौँ । तर, आन्दोलनमा गइरहने भएर होला जानीजानी आफूहरुमाथि मुद्दा लगाइयो,’ उनीहरुको गुनासो छ । यदि मधेशवादी दलले सहयोग नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनीसमेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप