शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिष्णु कुँवर : सडकदेखि ‘धर्ती माता’ सम्म

शुक्रबार, १३ असार २०७६, १२ : २६
शुक्रबार, १३ असार २०७६

बुटवल  । यतिबेला  ‘धर्ती माता’ को रुपमा  सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् गुल्मीकी विष्णु कुँवर । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टीका रेश्मीका अनुसार उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस –८ मा रहेको पालुखाको पनाह टोलमा हो ।

उनकी आमाको मृत्यु भइसकेको छ भने उनले बाबुको नाम सञ्चार माध्यममा गोप्य राखेकी छिन् । उनीहरुको परिवार बसाइसराइ गरेर रुपन्देहीतिर गएको ८–९ वर्ष भएको उनका दाजु पर्ने पनाहका बलभद्र कुँवरले बताए ।

‘विष्णुले यहीँ पढेकी हुन्, उनका बाबुले अर्की श्रीमती विवाह गरेका छन् भन्ने सुनेको छु तर देखेको छैन,’ कुँवरले भने ।

विष्णु केही  महिनाअघि  गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा एक महिनासम्म ध्यानमा बसेर बुटवलतिर हिँडेकी थिइन् । उनी तीजको गीत रेकर्ड गराउन भन्दै काठमाडौँ आइपुगेकी हुन् ।

उनकै शब्दमा उनको कथा

मेरी आमा तीन महिनाको गर्भवती रहँदा बुवाले माइतीमा छाडेर हिँडेका थिए । म जन्मेको डेढ वर्ष हुँदासम्म बाबाले यो सन्तान मेरो होइन भनेर जिम्मा लिन मान्नुभएन । खासमा वहाँलाई छोरा जन्मियोस् भन्ने रहेछ । आमाले मलाई माइतमै राखेर स्याहार गर्नुभयो ।

मेरो बाल्यकाल कष्टपूर्ण थियो । मलाई राम्रोसँग खान दिइँदैन थियो । धेरै काम गर्नुपर्ने । पढ्न जान्छु भन्दा मेरो कापी कितावहरु जलाई दिने ।  स्कुल जान्छु भन्दा पर्दैन तँ दुनियाँकी लतारा भनिन्थ्यो । कुटाई खाँदा मुख र नाकबाट रगत आउँथ्यो । सिस्नोले हान्दा खुट्टा सुनिएर तीन दिनसम्म उठ्न नसक्ने हुन्थेँ । एक पटक मलाई पिटेर मरी भनेर फाल्दिएका थिए, आँपको बुटामुनी  । म तीन घण्टा पछि मात्र ब्युझिँएछु ।

एक दिन आफ्नै मान्छेले सात दिनको आटो सिन्कीसँग पकाएर खान दिँदा त्यो आटो किन फालिस भनेर मेरो मुन्टो  खरानीमा गाड्देको मलाई भर्खरै जस्तो लाग्छ । 

त्यो बेलामा धेरै घाँस काट्न नसकेपछि ढिकाबाट घचेडेर तलसम्म झारेको भर्खर जस्तो लाग्छ । सायद त्यही भएर पनि होला भगवानकी प्यारी भएर रुखमुनी बसेर संसारको ज्ञान लेखे, संसारको ध्यान लेखेँ ।

मान्छेहरु ठगी खाने माता भन्छन् । मैले धेरै पैसा बैंकमा राखेको रेकर्ड छैन । दाजु भाईले दिएको चारपाँच तोला सुन छ ।

रोधी घरमा स्वर होइन रुप खोजियो

अवस्था दयनीय थियो । अब आफ्नो लागि केही गर्छु भनेर म काठमाडौँ आएँ । काम खोज्दै मित्रनगरबाट भित्र पर्ने गोँधुली रोधी घरमा पुगेँ । मैले दुई तीन वटा गीत गाएर सुनाए पछि मलाई त्यहाँ काममा राखियो । तर नारीको शत्रु नारी नै हुँदो रहेछन् । मान्छेले मौकाको फाईदा लुट्न खोज्दा रै’छन् ।

स्वर भएर मात्रै हुन्छ र ? मान्छे पनि राम्रो हुनु पर्छ । यस्तीलाई किन राख्ने भन्दै  त्यहाँबाट लखटेको पनि भर्खरै जस्तो लाग्छ ।  त्यसपछि स्वयम्भुको अर्को रोधी घरमा  पुगे । त्यहाँ पनि राम्रोसँग खान दिइँदैन थियो । काठमाडौँका सडकमा कयौँ दिन म भोक भोकै हिँडे ।

त्यसपछि काठमाडौँ छाडेर उनी बुटवलको रोधी घरमा काम शुरु गरिन् । त्यहीँबाट उनको ‘माता’ को शुरु गरेकी थिइन् । त्यहाँ उनले धेरैको रोग निको पारेको दाबी गर्छिन् ।

सामाजिक सञ्जालमा भाइरल हुनअघि उनी गीत रेकर्ड गर्न काठमाडौँ आएकी थिइन् । यसअघि उनले ‘मुस्कान ओठैमा’, ‘एउटै  थालका खा’को’ जस्ता गीतहरु गाइसकेकी छिन्  । ‘म रेसुङ्गामा वैशाख ९ गते तपश्या गर्दा सरस्वती माताले दिनुभएको लय शब्द र संगीत हो,’ उनले भनेकी थिइन्, ‘राम्रो नराम्रो जस्तो भए पनि त्यही तिजको गीत रेकर्ड गराउँदै छु ।’ 

तर, अहिले उनी प्रहरी हिरासतमा पुगेकी छिन् । उपचार गर्ने भन्दै एक किशोरीलाई हातपात गरेको भन्दै विरोध भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप