शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल पुनर्गठन नहुने भो मन्त्रीमण्डल !

'पार्टीभन्दा बाहिरबाटै कसैले गर्न लागेको भए त्यो हामीलाई थाहा छैन '
शुक्रबार, १३ असार २०७६, १० : ३८
शुक्रबार, १३ असार २०७६

काठमाडौँ । तत्काल मन्त्रमण्डल पुनर्गठनको सम्भावना कम देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उनका सल्लाहकार र नेकपाका नेताहरुका भनाई हेर्ने हो भने तत्कालै मन्त्रीमण्डल पुनर्गठनको सम्भावना छैन । केही समय यता विभिन्न सञ्चारमाध्यममा मन्त्रीमण्डल पुनर्गठन हुने चर्चा चलेसँगै यसबारे प्रधानमन्त्री लगायत अन्य नेताहरुका प्रतिक्रिया आएका छन् ।

बिहीबार अध्यक्ष प्रचण्डसँग भेटेका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अध्यक्षद्वयबीचमा यसबारे छलफल नभएको बताए । ‘अध्यक्षसँग लगभग दिनहुँजसो भेट हुन्छ । तर पार्टी कामको विषयमा छलफल भएका हुन्,’ नेता पौडेलले भने, ‘अहिलेसम्म मन्त्री हेरफेरबारे अध्यक्षले हामीसँग केही कुरै गर्नुभएको छैन । अध्यक्षद्वयका भेटवार्ता दिनहुँजसो हुन्छन् । तर यो प्रशङ्गमा उहाँहरुबीच अहिलेसम्म छलफल नभएको मैले बुझेको छु ।’

त्यस्तै स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभावकरले मन्त्री हेरफेरबारे पार्टीमा कुनै छलफल नभएको प्रतिक्रिया दिए । ‘पार्टीमा मन्त्रीमण्डल पुनर्गठनबारे छलफल भएको छैन । पार्टीभन्दा बाहिरबाटै कसैले गर्न लागेको भए त्यो हामीलाई थाहा छैन । तर पार्टीले यस विषयमा कुनै छलफल चलाएको छैन,’ उनले भने, ‘मैले बुझेअनुसार दुई अध्यक्षबीचमा पनि मन्त्रीमण्डल पुनर्गठन गर्ने बारे छलफल भएको छैन ।’

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार पनि तत्काल मन्त्रीमण्डल हेरफेरको सम्भावना छैन । ‘प्रधानमन्त्रीले चाहेको खण्डमा मन्त्रीमण्डल पुनर्गठन हुने हो । तर बाहिर मिडियाले त आजको भोलिनै मन्त्री हेरफेर गरे । प्रधानमन्त्री आफैँ बोल्नु भएको तत्काल मन्त्रीमण्डल पुर्नगठन गर्ने सोच छैन भनेर,’ रिमालले भने ।

नेकपाका नेता र प्रधानमन्त्रीका सल्लाहकारको भनाईलाई प्रधानमन्त्री ओलीको भनाईले पनि पुष्टि गर्छ । बुधबार आफ्नो साप्ताहिक टेलिभिजन अन्तरवार्तामा तत्काल मन्त्रीमण्डल पुनर्गठनको सोचमा नरहेको बताएका छन् । उनले भनेका छन् ‘मन्त्रीमण्डल भनेको पुनर्गठन गर्दा हुन सक्ने चीज हो । तर अहिले पुनर्गठन सम्बन्धि सोच मैले बनाएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप