बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अवैतनिक महावाणिज्यदूतहरुलाई प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

बिहीबार, १२ असार २०७६, १३ : ४८
बिहीबार, १२ असार २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुलाई नेपालको आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले काठमाडौंमा भेला भएका विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुलाई बिहीबार विहान आफ्नै सरकारी निवास बालुवाटारमा सामूहिक भेट गरी सरकारले उच्च प्राथमिकतामा राखेको नेपालको आर्थिक विकासका लागि पूँजी र प्रविधि भित्र्याउने गरी प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकताको सेवा र सुरक्षाको उचित व्यवस्था गर्न पनि महावाणिज्यदुतहरुलाई सचेत गराएका छन् । त्यसैगरी उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने गरी विदेशस्थित महावाणिज्य दूतहरुलाई गतिविधि अघि बढाउन पनि आग्रह गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए । 

परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुको दुई दिने सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो । सोही सम्मेलनमा भाग लिन आएका अवैतनिक महावाणिज्यदुतहरुले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले अवैतनिक महावाणिज्यदूतले निर्वाह गर्दै आएको भूमिकाको पनि प्रसंशा गरेका थिए । 

नेपालले हाल १६६ वटा मूलुकमा कूटनीतिक सम्बन्ध कायम राखेको छ । त्यसमध्ये ३२ वटा मुलुकमा मात्रै नेपालले राजदूतावासको व्यवस्था गरेको छ भने अन्य मूलुकहरुमा अवैतनिक महावाणिज्यदूतहरुको व्यवस्था गरेको छ । ती महावाणिज्य दूतहरुको भूमिकालाई प्रभावकारी बनाउन पनि नेपालमा सो सम्मेलन आयाजना गरिएको हो । सम्मेलनमा मूलतः नेपालको आर्थिक विकासका लागि आवश्यक पूँजी र प्रविधि भित्र्याउने विषयमा विस्तृत छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप