बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस निकट जनप्रतिनिधिले लगाए पोखरा महानगरको मुख्य गेटमा ताला

बिहीबार, १२ असार २०७६, १३ : ३७
बिहीबार, १२ असार २०७६

पोखरा– काँग्रेस निकटका जनप्रतिनिधिले पोखरा महानगरपालिकाको मुख्य गेटमा ताला लगाएका छन् । महानगरको वार्षिक बजेटमाथि असन्तुष्टि जनाउँदै उनीहरुले गेटमा ताला लगाएका हुन् । बुधबारको नगरसभा बैठकमा काँग्रेसनिकट वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । पोखरा ४ का अध्यक्ष शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफासमेत हुत्याएका थिए ।  नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए । 

तालाबन्दीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछाने सबैलाई समटेर समान बजेट आउनुपर्छ, भेदभाव गर्न पाइँदैन भनेर पटकपटक मेयरलाई सचेत गराउँदा पनि एकलौटी ढंगले बजेट ल्याएको आरोप लगाए । ‘बजेट समान रुपमा आउनुपर्छ, कसैलाई भेदभाव गर्नु हुँदैन भनेर पटक–पटक सचेत गराउँदा पनि एकलौटी बजेट ल्याइयो,’ उनले भने, ‘पहिला हुन्छ हुन्छ भन्नुभयो । पछि एकलौटी ढंगबाट बजेट ल्याइयो ।’ महानगरमुखि बजेट ल्याउन खोजेको भन्दै उनले आरोप लगाए । 

रेडबुकमाथि छलफल नै नभई पारित गरिएको र त्यसबारे कुरा राख्दा मेयर जीसीले ‘योजना माग्न त मै कहाँ आउनुपर्ला’ भनेर धम्कीपूर्ण अभिव्यक्ति दिएको उनको आरोप छ । ‘हामी जनताले चुनेर जनप्रतिनिधि भएका हौं । उहाँले त्यसरी भन्नुहुन्थेन,’ वडाध्यक्ष रामराज लामिछानेले भने, ‘जनताबाटै उठेको रकमले त आएको हो बजेट । हामीले नै माग्न नपाउने ?’ बजेट र अभिव्यक्ति नसच्याएसम्म आन्दोलन गर्ने र अटेर गरे आन्दोलन थप सशक्त बनाउने लामिछानेले बताए ।

‘रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि दिइएन,’ उनले भने, ‘हामीले रेडबुक आइसकेपछि छलफल गरौं भनेका थियौं । ३ बजेमात्रै रेडबुक आयो । त्यसमा पनि हामीलाई बोल्ने मौकै दिइएन ।’ बजेट पनि समान रुपमा वितरण नभएको उनको आरोप छ । 

‘रेडबुक नै ढिलो आयो । ढिलो आएको रेडबुकको छलफलका लागि समय दिनुपथ्र्यो,’ उनले भने, ‘पछि बोल्ने भनेर बोल्नै दिइएन ।’ एक्कासी मेयर सा’बले पारित गर्ने भनेर भन्नुभो ।’ जीसीको प्रस्तावपछि पोखरा ११ वडाध्यक्षसहित ४८ जनाले रेडबुक च्यातेर फालेका थिए । बजेट वडास्तरीय आए पनि नगरस्तरीय नआएको उनीहरुको आरोप छ ।

 मेयर मानबहादुर जीसीले विवादको लागि विवाद गर्नुको कुनै अर्थ नरहेको बताए । ‘हामीले ७ दिन भित्रमा कार्यक्रमको पुस्तिका प्रकाशन गरेर पु¥याई दिन्छौ भनेको हो,’ उनले भने, ‘साथीहरुले के सोच्नु भो थाहा छैन । त्यसपछि पुस्तिका च्यातेर फाल्नु भो ।’  धेरै मेहेनत गरेर बनाएको रातो किताब च्यातेर के आधारमा बजेट माग्न आउने भन्दै उनले आक्रोश पोखे । ‘मेहेनत गरेर बनाएको रातो किताब च्यातिसकेपछि कुन आधारमा बजेट माग्न आउने ?’ उनले भने । 

वडामा जाने पैसा वडामै जाओस्, वडाका सानातिना काम वडाले नै गरोस् भन्ने सोचेको उनले प्रस्ट्याए । ‘कम्तिमा पनि पोखरालाई राम्रो र हाम्रो बनाउन भनेर हामीले हाई बजेट छुट्याएका हौं,’ उनले भने ।  स्थानीय तह सञ्चालन ऐन, संविधानले प्रतिपक्ष रहित बनाएको तर उहाँहरुले यहाँ पनि प्रतिपक्ष छ है, प्रतिपक्ष मान्नुपर्छ भनेर देखाउन खोजेको उनको आरोप छ । ‘हामीले त स्थानीय तहमा प्रतिपक्ष छैन, सबै समान छ भन्ने सोचेका थियौं,’ उनले भने, ‘असमान वितरण भएको छैन । उहाँहरुको वडामा पनि हाई बजेट विनियोजन भएको छ । त्यसो भएको कारण वाइगतको, तुक नभएको र अध्ययन बिनाको कुराले कुनै अर्थ राख्दैन, यसो गर्नु भनेको पोखरालाई बिगार्नु हो, पोखरा अघि बढ्न थाल्यो भनेर चिन्ता गर्नु हो ।’ 

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।

महानगरले पाँचौं नगरसभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेडबुक) र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै उनीहरुले महानगरको मूलद्वारमा ताला लगाएर महानगर अघि धर्नामा बसेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप