शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
मान्छेका कथा

मान्छेका कथाहरुको हत्याको विरोधमा

बिहीबार, १२ असार २०७६, ११ : ०६
बिहीबार, १२ असार २०७६

आजदेखि म रातोपाटीमा नियमित रूपमा मेरो स्तम्भ ‘मान्छेका कथा’ लेख्दैछु । यहाँ मैले ‘पङ्क्तिकार लेख्दैछ’ भनिनँ किनकि मलाई आफ्नो लेखनीको स्वामित्व लिन मनपर्छ । त्योभन्दा अझ महत्वपूर्ण– किनकि म ‘पङ्क्तिकार’भन्दा बढी ‘मान्छे’ हुँ । पङ्क्तिकार मान्छेजस्तो सम्पूर्ण हुँदैन । 

मैले मलाई ‘म’बाट पङ्क्तिकारमा झारेँ भने वा पंङ्क्तिकारमा उठाएँ भने– दुईमध्ये के भन्ने अझै मलाई यकिन भएको छैन– ‘म’बाट केही भत्किन सक्छ । केही चोइटिन सक्छ र म ‘म’ नरहन सक्छु । आगोले पोल्ने, पानीले छोइने, दुःखमा रुने, सुखमा हाँस्ने ‘म’ले हो । ‘पङ्क्तिकार’ त्यसमा अभ्यस्त नहुन सक्छ । 

पङ्क्तिकार त एउटा विचारक हो । कम्प्युटरको किबोर्डमा उसका औँलाहरु तर्क, बुद्धि र विचार पड्काउँछन् । त्यस्तो विचरैले मात्र औँला दौडाउने ‘म’ हुन सक्दैन किनकि म मान्छे हो र मान्छेका मनमा भावनाका छाल आइरहन्छन् । मान्छेका भावनाका छाल पङ्क्तिकारका विचारभन्दा कमजोर हुँदैनन् । 

पङ्क्तिकारले अक्सर पत्रिकाका ‘विचार’ पानामा लेख्छ । विचार पानामा भावना लेख्ने कुरा पनि भएन । पङ्क्तिकारले सायद ‘म’भित्र पैदा भइरहने विभिन्न जीवरसका कारण मेरा मनमा आउने खुसी, दुःख, हाँसो र आँसुलाई नछोप्न सक्छ । रातमा आएका सपना, सपनामा भएको चिच्याहट, दिउँसै देखिएका सपना, अनि कैयौँ सपना भत्किएर खण्डहर भएका मान्छेको विपना महसुस नगर्न सक्छ । मान्छेका कथा लेख्न मान्छेभन्दा एक तह माथि उठेको पङ्क्तिकारलाई मुस्किल हुनसक्छ । 

इतिहासमा ‘विचार’ परम्पराको मुहान महान् जर्मन दार्शनिक कान्ट हुन् । एकथरी मान्छेहरुका अनुसार उनले जब उनका कृतिहरु लेख्न थाले, त्यतिबेला उनको दिमागमा एउटा ठूलो ट्युमर उम्रेको थियो । त्यो ट्युमरले उनलाई भावना महसुस गर्ननसक्ने बनाएको थियो । कतिपयको दाबी छ– उनको पूरै दर्शन त्यही ट्युमरबाट निःसृत थियो । यो कति सही हो, कति गलत म भन्न सक्दिनँ । 
तर के कुरा चाहिँ सत्य हो भने भावना महसुस गर्न छाडेको विचारक निकै डरलाग्दो हुन्छ । पूरै बीसौँ शताब्दी त्यसको साक्षी छ । कहालीलाग्दो बीसौँ शताब्दी । अझै बीसौँ शताब्दीमै रुमल्लिरहेको मेरो देश र मेरा देशका मन्छे त्यसका साक्षी छन् । 

मान्छेका कथा ‘म’ले मात्र लेख्न सक्छ । त्यसैले ‘पङ्क्तिकार यस्तो ठान्छ’, ‘पङ्क्तिकार उस्तो मान्छ’ भन्नेमा तपाईँ अभ्यस्त हुनुहुन्छ भने मलाई कृपया माफ गरिदिनुहोला । म तपाईंलाई पनि ‘पाठक’ भन्दिनँ । तपाईं मान्छेबाट पाठकमा उक्लिनुभयो भने— यहाँनिर दुविधा छ मलाई– ‘उक्लिनुभो भने भनौँ वा ओर्लनुभो भने भनौँ— वा ओर्लनु भो भने मेरा भावनाका छालहरु तपाईंका लागि छोइने नहुन सक्छन् । त्यसैले म एकजना ‘मान्छे’ तपाईं रातोपाटी अनलाइनको चौतारीमा सुस्ताउन आउने मान्छेहरुसित मान्छेका कथा सुनाउने कोसिस गर्दैछु । 

मैले यी मान्छेका कथा यहाँहरुसामु यसै पस्कन खोजेको पक्कै होइन । मान्छेहरु मात्रै होइन, मान्छेका कथाहरु पनि दिनदिनै मारिन नरोकिएकाले हो । मान्छेका शरीरहरु इन्काउन्टरमा पुलिसको गोली दागिएर मारिन्छन् । मान्छेका कथाहरु विचारकका तर्कका चक्कुले रेटिएर मारिन्छन् । मान्छेका मृत शरीर मात्र होइन, मान्छेका कहालीलाग्दा कथाहरु पनि अरबका खाडीबाट बन्दबाकसमा नेपाल फर्काइन्छन् । अनि लाससँगै दिनदिनै ती मान्छेका कथा पनि चिहानघारीमा दफनाइन्छन् । त्यसैले फेरि एक पटक मान्छेका कथाहरुलाई उभ्याउन खोजेको हुँ । भ्यएसम्म जहाजमै बाकसबाट । नभ्याए, चिहानघारीमा माटोबाट । 


मान्छेहरु मान्छेलाई नायक र खलनायक बनाउँछन् । अनि मान्छेहरु नायकका गर्धनमा सयपत्रीका माला पहि¥याउँछन् र खलनायकका गलामा जुत्ताका माला । मान्छेहरुका गला रित्तै हुन्छन् । मान्छेहरु नायकका गालामा अविर धसिदिन्छन् र नायकलाई काँधमा बोक्छन् । मान्छेहरु खलनायकका गलामा कालोमोसो घसिदिन्छन् र उसलाई लात्तीले गर्धनमा भकुर्छन् । मान्छेहरुका गाला खालि हुन्छन् । तर मान्छेका कथा नायक र खलनायकको बारेमा होइनन् । मान्छेका कथा नायक र खलनायकले लेख्दैनन् । मान्छेका कथा मान्छे मात्रका कथा हुन् । ती मान्छे जसका मनभित्र रात र दिनको, अँध्यारो र उज्यालोको, शिव र अशिवको निरन्तर कुस्ती चलिरहन्छ, हो तिनै मान्छेका बारेमा हो मान्छेको कथा । 

मान्छेले कथाहरुको हत्या, अझ भनौँ आमहत्या अनेक तरिकाले गर्छ । उदाहरणका लागि मेरो आफ्नो क्षेत्रको कुरा गरौँ सबभन्दा पहिले । म पश्चिमी दुनियाँको एउटा नामी विश्वविद्यालयमा पढ्छु । अझ भनौँ, शोध गर्छु । पट्यारलाग्दा शोधमूलक लेख  पढ्नु, तिनलाई निचोर्नु, चिराचिरा पार्नु र सिउनु मेरो पेसा हो । म मान्छेका नैतिक द्विविधाबारे, मान्छेका रङबारे रुचि राख्छु, मेरा शोधहरुमा । म कसरी आकाशमार्ग हुँदै पश्चिमी गोलार्दमा झरेँ, यसको झन् लामो कथा छ । तपाईंहरु हिन्दी फिल्म हेरेर कहिल्यै रुनु भएको छ भने, तपाईंले कहिल्यै झुम्पा लाहिरीको ‘लो ल्यान्ड’ पढ्नु भएको छ र उदयन मारिएपछि गौरीको दुःख पढेर मजस्तै रुनुभएको छ भने, यो अर्को कथाले पनि तपाईंका अश्रुग्रन्थी रसाउन सक्छन् । तर त्यो लामो कथाका लागि आज समय र ठाउँ भएन । कथाहरु मलाई लेख भन्दै हाम्रासामु आउँछन् भनेर अरुन्धती भन्छिन् । पक्कै पनि त्यो लामो कथा पनि लेखिने छ एक दिन । 

तपाईंहरु रातोपाटीको चौतारीमा सुस्ताउन आइरहनुभयो भने, कुनै रात हामी लामा कथाहरु पनि सुन्ने छौँ । सुनाउने छौँ । कथाहरुलाई गर्भमै मर्न दिने छैनौँ । कसैले मार्न भ्यासकेको रहेछ भने पनि हामी ती कथालाई फेरि एक पटक चिहान उदिनेर उभ्याउने छौँ । 

मेरो शोधक्षेत्र समाज विज्ञान हो । समाज र राजनीतिबारे चासो राख्नु मेरो काम हो । मेरो यो क्षेत्रमा पनि दिनदिनै मान्छिन् मान्छेका कथाहरु । मान्छेहरुलाई मानचित्रबाट मोटिन्छ र अङ्कमा, अझ भनौँ ‘स्ट्याटिस्टिक्स’मा परिणत गरिन्छ । मान्छे स्वयम्लाई अङ्गभङ्ग बनाएर शोधपत्रका पानामा पोतिन्छ । एकथरीले मान्छेलाई उपभोक्ता बनाउँछन् । अर्काथरीले मान्छे सामाजिक जनावर हो भन्ने ठान्छन् । अनि अर्काथरीका लागि मान्छे अरू केही होइन, बरु तर्कशील व्यक्ति हो । ‘¥यासनल इन्डिभिजुअल’ हो भन्छन् अङ्ग्रेजीमा । उनीहरुका लागि मान्छे कि त उदारवादी विचारवादी हो । कि त मान्छे सामाजवादी, साम्यवादी विचारवादी हो । अझ कसै कसैका लागि त मान्छे, पूरै ‘नयाँ विचार’ हो । तर ती कसैका लागि पनि मान्छे ‘मान्छे’ होइन । 

एउटा अजीवको भूत वा सङ्कल्प चढेको छ– गएका पाँच वर्षदेखि ममा– मान्छेलाई फेरि मान्छेको तहमा खडा गराउने । ऊ जमिनमुनि झरेको भए तानेर जमिनमा ल्याउने । ऊ आकाशतिर उठेको भए तल गिराउने । त्यही ध्याउन्नमा आज म दुईजना मेरा सबभन्दा प्यारा मान्छेहरुलाई काठमाडौँका भीडभाडमा एक्लै छाडेर सात समुद्रपारि आएको छु । 

ती दुईजना प्यारा मान्छेको सम्झनाले मलाई हरेक रात रुवाउँछ । ती दुईजना पवित्र प्राणीको सम्झनाले हरेक बिहान अफिस जाने र पट्यारलाग्दा शोधपत्र पढ्ने रुची र जाँगर जुराउँछ । हरेकपट ती दुईजनाको यादले मलाई मान्छे बनाउँछ । 

ती दुईजना हरेक पटक मलाई एअरपोर्टका लागि बिदा गर्दा अँगालो हालेर रुन्छन् । त्यसपछि कति रुन्छन्, त्यो मैले सुन्न पाउन्न । बिदा हुनेबेला तिनले लगाइदिने अक्षता ठेगानमा पुगेपछि पुछ्दा वा नुहाएर पुछिँदा मलाई ननिको लाग्छ । ती दुईजनासित हरेक साँझ फेसटाइममा कुरा हुन्छ । 

ती दुईजनामध्ये एउटासित मेरो आँधी आइरहँदा, चट्याङ परिरहँदा भेट भएको थियो । चट्याङ परेर कतिको ज्यान गयो । हामीले भने काललाई जितेछौँ, त्यो समयमा । 
बाह्र वर्षअघि उनको सिउँदोमा सिन्दूर नछरी हाम्रो विवाह भयो । विवाहको नाम पनि अर्कै थियो– प्रत्यय जोडिएको । चलनचल्तीको भाषामा हामी श्रीमानश्रीमती हौँ । उनी मेरी जीवनसाथी हुन् । तर हाम्रो सम्बन्ध अझ गहिरो छ, अझ अनौठो छ । तर मान्छेले बनाएका शब्दले मान्छेका सम्बन्धका गहिराइलाई व्यक्त गर्नै नसक्ने । शब्दसम्म आइपुग्दा हाम्रा सम्बन्धका गहिराइ नै पुरिने । तैपनि ‘जीवनसाथी’ शब्दले काम चलाइरहेका छौँ । 

ती दुईमध्ये अर्को मान्छे हामीलाई भेट्न आएको नौ वर्ष पहिले हो । उनको मेरोजस्तै नाक छ । त्यो मान्छे, मेरी छोरी हो । काटिकुटी बाबाजस्तै छ छोरी, भन्छन् मान्छेहरु । छोरी हरेक दिन पाँचबजे स्कुलबाट एक्लै घर फर्किन्छे । आमा प्रायजसो साँझ ६ बजेतिर आइपुग्छिन् घर, अफिसबाट । हरेक साँझ स्कुलबाट फर्केपछि काठमाडौँमा रहेकी छोरीले सातसमुद्रपारिको बाबालाई फेसटाइम कल गर्छे । अनि भन्छे– बाबा ममी नआइन्जेल सँगै बसौँ न । कहिले भन्छे– बाबा आँधीहुरी आयो, डर लाग्यो । सँगै बसौँ न । 

म, मेरी जीवन सङ्गिनी र छोरी– यी तीनजनाको कथाको ऐनामा देशको गएको साढे दुई दशकको चित्रकथा हेर्न चाहनुहुन्छ भने हरेक बुधबार रातोपाटीको मेरो पानामा फेरि फेरि आउनुहोस् । तर आजलाई यत्ति नै । बाई गाइज्, सी यू नेक्स्ट विक ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा