शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षकको तलब माग्दै विद्यार्थी आन्दोलित

बिहीबार, १२ असार २०७६, १० : ५९
बिहीबार, १२ असार २०७६

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६ गिद्धास्थित जनता माध्यमिक विद्यालयका शिक्षकसँगै विद्यार्र्थी पनि आन्दोलित बनेका छन् ।

बुधबार आन्दोलनकारीले हुलाकी राजमार्ग अवरुद्ध पारेर त्यहाँका मेयर बेचन दासविरुद्ध नाराबाजी गरेका छन् ।

तलब नपाएको भन्दै शिक्षकहरु तीन दिनदेखि ‘पेन डाउन’ गरेका छन् । जसका कारण पठनपाठन नभएपछि विद्यार्थीले पनि आन्दोलन थालेका हुन् । हुलाकी सडकमा टायर बालेर अवरुद्ध गर्दा तीन घण्टासम्म यात्रुहरु अलपत्र परे । सडक अवरुद्ध गरेपछि विद्यार्थीले नगरपालिका पनि घेराउ गरेका थिए ।

विद्यार्थीले शिक्षकको तलब निकासा गर, पठनपाठन सुचारु गर, मेयर दास मुर्दावाद जस्ता नारा लगाएका थिए । विद्यार्थीहरुले नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । आक्रोशित विद्यार्थीले मयेर दासको गाडी घेरेका थिए । विद्यार्थी र शिक्षकको आन्दोलनमा ४ वडाध्यक्ष र वडा सदस्यहरुलेसमेत समर्थन जनाएका छन् ।

यता, मेयर दासले प्रधानाध्यापक पवन मण्डल र शिक्षक ब्रह्मदेव यादवबाहेक सबैको तलब निकासा गरिसकेको दावी गरेका छन् । ‘प्रधानाध्यापक मण्डलको काज सरुवा यही नगरपालिका–२ स्थित शंकर माध्यमिक विद्यालयमा गरेको हो । उनैले विद्यार्थीलाई उचाल्ने काम गरेका छन्’, मेयर दासले भने, ‘त्यसैले यी दुई जनाको तलब पठाइएको छैन । बाँकी सबैको पठाइसकेको छु ।’

प्रधानाध्यापक मण्डलले भने विद्यालयमा ५१ शिक्षक कार्यरत रहे पनि करिब ३० जनाको तलब मात्रै पठाएको दावी गरे । ‘आगोमा घिउ हाल्दा निभ्छ ? ३० जना शिक्षकको मात्र तलब पठाएपछि कसरी विद्यालय चल्छ ?,’ उनले प्रश्न गरे।

काज सरुवा गरेकोबारे आफूले जानकारी नपाएको उनले बताए । सबै शिक्षकको तलब नपठाएसम्म विद्यालय सञ्चालनमा नआउने उनको भनाई छ ।

यता, विद्यार्थीहरुले मेयर दासले विद्यालयको वातावरण विगारेको आरोप लगाएका छन् । विद्यालयको पठनपाठन सुधार गरेका मण्डललाई मेयरले अन्यत्र पठाउन खोजेको आरोप उनीहरुको छ ।

छात्रवृत्तिसहित विभिन्न शीर्षकका करोडौँ रुपैया रोकेपछि विवाद सुरु भएको एक अभिभावकले बताए । उनका अनुसार मेयर र प्रधानाध्यापकबीचको मतभेदको मारमा विद्यार्थी परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप