तीन महिने तालिमका भरमा अधिकांश फार्मेसी सञ्चालनमा : गलत औषधी र एन्टिबायोटिकको जोखिम
काठमाडौँ । नेपालमा २२ हजार हाराहारी फार्मेसी व्यवसायी छन् । नेपाल औषधी व्यवस्था विभागमा भने फार्मेसी व्यवसायीको दर्ता सङ्ख्या १९ हजार जति छ । तालिमपछि फार्मेसी सञ्चालन गर्नेको सङ्ख्या भने ९ हजार ५ सयको हाराहारीमा छन् ।
नेपालमा फार्मेसी विषयमा औपचारिक अध्ययन सुरु नहुँदा तालिम लिएको भरमा फार्मेसी सञ्चालन गर्ने गरिएको थियो । तत्कालीन कानुनी व्यवस्थाअनुसार पनि ३ महिनाको तालिम पछि मात्र फार्मेसी राख्ने पाउने व्यवस्था गरियो । त्यो व्यवस्थाअनुसार अहिलेसम्म पनि तालिम लिएको व्यक्तिहरुले फार्मेसी सञ्चाल गर्दै आइरहेका छन् । तर पछिल्लो समय औषधी पसल सञ्चालन गर्न सम्बन्धित विषय नै अध्ययन गरेको हुनुपर्छ भन्ने आवाज विज्ञहरुले उठाउन थालेका छन् । तर सरकारले भने यसलाई अनिवार्य बनाएको छैन ।
सरकारले ०५९ सालसम्म पनि तालिमपछि औषधी बिक्री वितरण गर्न पाउने व्यवस्था बनाएको थियो । त्यसयता अहिलेसम्म तालिम सञ्चालन भएको पाइँदैन । स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा विनाअध्ययन औषधी बिक्री वितरण गर्दा औषधीको सदुपयोगभन्दा दुरुपयोग हुने खतरा बढिरहेको आवाज बारम्बार उठ्ने गरेको छ ।
११ हजारले तालिम लिएका थिए
नेपालमा फार्मेसी सञ्चालको तालिम औषधी ऐन, २०३५ अनुसार पहिलो पटक करिब ११ हजार व्यक्तिले नेपाल फार्मेसी परिषद् ऐन लागू हुनुपूर्व नै आधारभूत औषधी वितरक तालिम प्राप्त गरेका थिए । सो समयमा पनि तालिम लिएकाको सङ्ख्याभन्दा धेरै फार्मेसी सञ्चालन भएको पाइएको थियो । ११ हजार जनाले तालिम प्राप्त गरेकोमा १५ हजार ९ सय २७ वटा पसल सञ्चालन भएको र त्यो आफैमा अवैधानिक एवं गैरकानुनी भएको भन्दै मुद्दासमेत परेको थियो ।
सरकारले तत्काल रोक्नुपर्छ– डा. विकास लामिछाने
३ महिनाको तालिम लिएर औषधी बिक्री वितरण गर्न पाउने व्यवस्थालाई तत्काल रोक्नुपर्ने विज्ञहरुको भनाइ छ । ३ महिनाको तालिमबाट औषधी बिक्री वितरण मात्रै नभई कतिपय अवस्थामा त त्यस्ता आलाकाँचा व्यक्तिले बिरामी जाँच्ने र औषधी दिने काम पनि गर्ने भएको हुँदा नागरिकको स्वास्थ्यमा ठूलो खेलबाड भइरहेको स्वास्थ्य मन्त्रालयका पूर्वसहसचिव डा. विकास लामिछाने बताउँछन् । रातोपाटीसँग कुरा गर्दै डा. लामिछाने भन्छन्, ‘३ महिना तालिम लिएका फार्मेसी सञ्चालकहरुको काम भनेको डाक्टरको पुर्जा हेरेर त्यसमा लेखिएको औषधि दिने मात्रै हो । यस्तो मात्रै भए समस्या आउँदैन थियो । तर उनीहरु आफैँ जान्ने भएर बिरामीको औषधी परिवर्तन गर्ने, बिरामीलाई पनि आफ्नो अनुभवका आधारमा औषधी दिने गरेको पनि पाइन्छ । यो भनेको अहिलेको सन्दर्भमा निकै खतरनाक अवस्था हो ।’
यसरी अनुभवको नाममा विनाअध्ययन बिरामीलाई औषधी दिँदा गलत पर्ने, एन्टिबायोटिकको महा दुरुपयोग हुने र रोग निको हुने नाममा जथाभावी औषधी दिने काम निकै गलत भएको वरिष्ठ चिकित्सकहरुको भनाइ छ । खासगरी, हचुवाकै भरमा बिरामीको स्वास्थ्यमा नै प्रतिकूल असर पर्ने गरी उच्च मात्राको एन्टिबायोटिक दिने, नाफाका लागि बिरामीलाई आवश्यकताभन्दा धेरै औषधी दिने, औषधी कम्पनीबाट पाइने बोनसको लोभमा अनावश्यक भिटामिन दिने जस्ता कुरा अहिले नेपालमा आमरुपमा चल्ने गरेको पाइन्छ । यसले गर्दा नेपालमा औषधीको क्षेत्रमा गलत अभ्यास भइरहेको विज्ञहरुको भनाइ छ ।
विना अध्ययन फार्मेसी सञ्चालन गर्दा समस्या
पछिल्लो समय फार्मेसी विषयमै अध्ययन गरेर फार्मेसी सञ्चालन गर्नेको सङ्ख्या पनि बढ्दै गइरहेको छ । तर अझै पनि नेपालमा फार्मेसी सञ्चालनको पुरानो शैली अर्थात तालिमबाट फार्मेसी सञ्चालन गर्नेको सङ्ख्या धेरै छ । जसले गर्दा स्वास्थ्य जस्तो संवेदनशील कुरामा सरकार गम्भीर भएको देखिँदैन । जस्तै तपाईंको नियमित ढाड दुख्छ । फार्मेसीमा जाँदा एक महिनाको औषधी दिन तयार हुन्छन् । त्यस्ता औषधी नियमित सेवन गर्दा दुखाइ निको हुन सक्ला तर मिर्गाैला फेल हुन सक्छ । त्यसैले फार्मेसी विषयमा नै अध्ययन गरेर फार्मेसी राखेको व्यक्तिले कुन औषधी नागरिकको स्वास्थ्यमा कस्तो खालको असर गर्छ भन्ने कुरा बुझेका हुन्छन् र दिए पनि निकै कम डोजको औषधी दिन्छन् ।
औषधीमा नाफा घाटाभन्दा पनि नागरिकको स्वास्थ्यलाई मध्यनजर गरेर सेवा गर्नुपर्ने नेपाल फार्मेसी सङ्घका महासचिव युवराज भुसाल बताउँछन् । उनी भन्छन्– बिरामीले ढाड दुख्ने औषधि माग्यो भन्दैमा फार्मेसी सञ्चालकले जथाभावी औषधी दिनु हुन्न । पहिलो कुरा त डाक्टरसँग जँचाएर तद्अनुसार मात्र गर्न सल्लाह दिनुपर्छ । साथै, बिरामीको अवस्था हेरेर औषधीको सट्टा व्यायाम, फिजियोथेरापी लगायतका वैकल्पिक उपायहरुका बारेमा पनि सरसल्लाह गर्न सुझाव दिनु उचित हुन्छ ।
फरक–फरक तथ्याङ्क
कुनै पनि शिक्षण संस्थाले फार्मेसी व्यवसायसँग सम्बन्धित विषयमा प्रदान गरेको शैक्षिक उपाधि तथा प्रमाणपत्रलाई नेपाल फार्मेसी परिषद्ले मान्यता दिने भनिएको छ । हाल डिप्लोमा इन फर्मा गर्नेको सङ्ख्या ७ हजार ८ सय ७१ र फर्मासिस्टको ३ हजार ८ सय ७९ रहेको परिषद्को तथ्याङ्कले देखाउँछ ।
यता नेपालमा औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठको तथ्याङ्कलाई मान्ने हो भने नेपालमा २२ हजार औषधी व्यवसायी छन् । नेपाल फार्मेसी सङ्घका महासचिव युवराज भुसालले दिएको तथ्याङ्कअनुसार ६ सयले सदस्यता लिएका छन्, जुन फार्मेसी अध्ययन गर्नेहरुको सङ्ख्या हो ।
तत्काल विस्थापित गर्न सकिन्न
औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार नेपालमा तालिम लिएर फार्मेसी सञ्चालन गर्नेहरु नै धेरै छन् । अध्ययन गरेर फार्मेसी सञ्चालन गर्नेको सङ्ख्या निकै कम भएको हुँदा तत्कालका लागि सरकारले अध्ययनलाई अनिवार्य बनाउन नसक्ने महानिर्देशक ढकाल बताउँछन् । ‘डिप्लोमासम्म अध्ययन गरेर फार्मेसी सञ्चालन गर्नु राम्रो हो तर नेपालमा तालिम प्राप्तपछि फार्मेसी सञ्चालन गर्नेको सङ्ख्या धेरै भएको हुँदा अहिलेको अवस्थामा अध्ययन अनिवार्य बनाउन निकै गाह्रो हुन्छ’, उनले भने ।
हाल नेपालमा तालिम लिएका र व्यावसायिक मान्यता प्राप्त गरेको, फार्मेसी विषय अध्ययन गरेका व्यक्तिहरुले फार्मेसी सञ्चालन गर्न पाउने प्रावधान रहेको छ । सरकारले २०५९ सालसम्म पनि तालिम दिने काम गरिरहेको थियो । अध्ययन गर्ने व्यक्तिको ज्ञान धेरै राम्रो भए पनि नेपालमा फार्मेसी अध्ययनको इतिहास लामो नभएको अवस्थामा तालिमबाट सेवा प्रदान गरेको आधारमै उनीहरुबाट गल्ती नै हुन्छ भन्न नहुने महानिर्देशक ढकालको तर्क छ । फार्मेसी विषय अध्ययन गरेर आए पनि धेरै कुरा जान्नु बाँकी रहने तथा तालिम प्राप्त गरेर फार्मेसी सञ्चालन गरिरहेकाहरुको अनुभवबाट पनि लाभ लिँदै अगाडि बढ्नुपर्ने अहिलेको स्थिति रहेको ढकाल बताउँछन् ।
समस्या अध्ययन गरेका, अनुभव नभएका तथा अध्ययन नगरेका तर अनुभव भएका दुवै पक्षबाट हुने सम्भावना उत्तिकै रहने भन्दै महानिर्देशकले कानुनमा अध्ययनलाई अनिवार्य नबनाउँदासम्म अहिले नै यसै गर्नुपर्छ भनी लागू गर्न नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस