शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आतङ्कवादी गतिविधिको ‘नेपाल कनेक्सन’ खोतल्दै भारत ?

बुधबार, ११ असार २०७६, १२ : २५
बुधबार, ११ असार २०७६

काठमाडौँ । गत फागुन २ गते भारतको कास्मिरमा ४० जना प्रहरीको ज्यान जानेगरी भएको हमलाको कनेक्सन नेपालसँग रहेको कुराका विषयमा भारतले गहिरो अध्ययन सुरु गरेको छ ।

त्यो हमलामा नेपालका तर्फबाट कसले सहयोग पुर्याएको थियो, कहाँ कहाँ बैठक भएको थियो भन्दै भारतका एजन्सी तथा नेपालस्थित भारतीय दूतावासका पदाधिकारीहरू सक्रिय भएको बताइएको छ । भारतीय खुफिया (जासुस) एजेन्सीको रिपोर्टअनुसार त्यहाँका सञ्चार माध्यमले कास्मिर आक्रमणको योजना नेपालमै बनेको समाचार प्रसारित गरिरहेका छन् ।

त्यति मात्र होइन, कास्मिरमा हमला गरेर केही आतङ्ककारीहरू नेपाल पसेको त्यहाँका एजेन्सीले रिपोर्ट तयार पारेको छ । उनीहरू नेपाल कसरी आए र यहाँबाट कहाँ गए भनि विषयमा खोजी भइरहेको छ ।

भारतले खोजनीति गरेको यो पछिल्लो घटना मात्र हो, त्यसअघि पनि पटक पटक नेपालभित्र पसेर भारतीय पदाधिकारीहरूले खोजतलास गरेका थुप्रै घटना छन् । नेपाल सरकारले गठन गरेको जाँचबुझ आयोगका प्रतिवेदनरूमा थुप्रैलाई हत्या गरेको उल्लेख छ । भारतीय सरकारले पटक पटक नेपाल समक्ष आतङ्ककारी गतिविधि, नक्कली नोटको कारोबार विषयमा गुनासो गर्दै आएको भारतीय दूतावास स्रोतले जनाएको छ ।

भारतमा हुने कुनै पनि आतकङ्कारी गतिविधिको कनेक्सन नेपालतिर देखाइरहेको हुन्छ । भारतमा कुनै आतङ्कवादी हमला भयो भने त्यहाँका सुरक्षा अधिकारी तथा सुरक्षा एजेन्सीको पहिलो ध्यान नेपाल–भारत सीमामा पुग्ने गरेको छ । नेपाल आतङ्कारीहरूको ट्रान्जिट प्वाइन्ट बन्दै गरेको विभिन्न अध्ययनले देखाएको छ ।

सन् २०१५ मा अमेरिकाले सार्वजनिक गरेको एक रिपोर्टमा पनि नेपाल आतङ्ककारीहरूका लागि ट्रान्जिट हुन लागेको उल्लेख गरेको छ । तर यस मामलामा सरकारले कुनै गम्भीरता नदेखाएको गुनासो हुन थालेको छ । नेपालमा भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको भन्दै भारतका तर्फबाट थुप्रै नेपालीहरू मारिएका छन् ।

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘भारतमा आतङ्कवादी गतिविधि गरेर नेपालमा लुक्ने गरेका तथ्यहरू फेला परेका छन् तर नेपालबाट नै भारतमा हमला गर्ने योजना कहिल्यै पनि बनेका छैनन् ।’ खुला सीमाका कारण भारतमा आपराधिक गतिविधि गरी नेपालमा आएर लुक्ने गरेका छन् । त्यसरी लुक्न आउँदा नेपालीलाई कुनै न कुनै रूपमा प्रभावमा पारेर राखेका हुन्छन् । कतिपय आपराधिक गतिविधिमा पनि संलग्न गराउने गरेको पनि भेटिएको बताउँदै उनले सुरक्षा मामलामा दुवै देश संवेदनशील रहेका र एकअर्काको देशमा रहेका अपराधीलाई समातेर बुझाउने काम पनि भएको बताए ।

भारतमा गलत गतिविधि गरेर नेपाल आई लुकेर बसेको थाह पाए नेपाली सुरक्षाकर्मीले पक्राउ गरी भारतलाई बुझाएको छ भने भारतले त्यस्तालाई पनि नेपाललाई बुझाउने गरेको बताए । उनले भने, ‘खुला सीमाका कारण यस्ता गतिविधि हुने गरेको छ ।’

तर भारतका तर्फबाट नेपालमा कुनै कारबाही भयो वा भारतविरोधी गतिविधिमा लागेको आरोपमा कसैलाई कारबाही गर्यो भने भने नेपालले त्यसका लागि जाँचबुझ आयोग गठन गर्ने र प्रतिवेदन तयार पारेर त्यसलाई गुपचुप राखिदिने काम पनि भएको कुरा बारम्बार उठ्ने गरेको छ । मिर्जादिल साद वेग, जमिम शाह, मजिद मनिहार, सौकत वेग, खुर्सिद अन्सारी आदिको हत्या तथा युनिस अन्सारीमाथि गोली प्रहारका घटनामा सरकारले जाँचबुँझ आयोग गठन गरेको छ तर आयोगले तयार पारेका प्रतिवेदन आजसम्म सार्वजनकीकरण र कार्यान्वयन भएका छैनन् । यसो हुनुको ठोस कारण चाहिँ ती सबै घटनामा भारतको प्रत्यक्ष–अप्रत्यक्ष संलनता रहने गरेकै कारणले गर्दा नेपालले बोल्न नसकेको विश्लेषण हुने गर्छ ।

तर खुर्सिदको हत्या जसरी भयो त्यसरी नै फिदाको हत्या भएको हुनाले त्यसमा हत्यामा भारतको पनि हात रहेको प्रहरी स्रोतको दाबी छ । फिदा पनि मदरसा सञ्चालन गर्न रकमको व्यवस्थापन गर्नेदेखि लिएर मदरसामा पढाउन आउने विदेशी शिक्षकहरूसँग हिमचिम पढाएको स्थानीयहरू बताउँछन् । लस्कर–ए–तैबाको सङ्गठन निर्माणमा उनीहरूको सहयोग रहेको भारतीय खुफिया एजेन्सीको दाबी छ ।

रक्षाविज्ञ विष्णु उप्रेती भन्छन्, ‘मिर्जा, जमिम, मजिद, सौकत, खुर्सिद आदि जति छन् ती सबैलाई भारतीय अपराधी समूहले नै प्रयोग गरेका हुन् । नेपालले तिमीहरू यो काम गर भनेर गरेको होइन । अपराधी गतिविधि जहाँ पनि हुन्छ । नेपाली भूमिबाट भयो भने नेपालले नै गराएको हो भन्नु भारतको सोच गलत हो ।’

तर पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘भारतको आरोप गलत होइन, विभिन्न घटनाक्रमले त्यो आशङ्का जन्माएको हो । नेपाली भूमिबाट प्लेन अपहरण हुनु, विभिन्न समयमा भारतीय जाली नोट पर्याप्त फेला परेका घटनाले भारतलाई सशङ्कित हुनु स्वाभाविक हो तर नेपाल सरकार यसमा सतर्क छ, भारतलाई सहयोग नै पुर्याइरहेको छ ।’

यासिन भटकल जस्ता अपराधीलाई समातेर नेपालले नै भारतलाई बुझाएको बताउँदै उनले भारतले नेपालमाथि जस्तो शङ्का गरेको छ, त्यस्तो शङ्का नेपालको पनि रहेको छ । नेपालका अपराधीहरू भारतमा सेल्टर लिएर पनि बस्ने गरेको बताए । आफू सीआईबीमा हुँदा भारत गएर विभिन्न अपराधीलाई समातेर ल्याएका सुनाउँदै उनले भने, ‘खुला सीमा र भाषा, अनुहार, रहनसहन, भेषभूषा सबै मिल्ने भएका कारणले एकअर्काको देशमा लुक्न सजिलो भएका कारणले आपराधिक गतिविधि बढेको बताए ।

तराई क्षेत्रमा अस्वाभाविक रूपमा थुप्रै मदरसा खुलेको विभिन्न अनुसन्धानले देखाएको छ । त्यसप्रति भारतले आफ्नो सुरक्षा चासो देखाउनु स्वाभाविक हो भन्दै उनले भने, ‘भारतले मात्र होइन, चीनले पनि नेपालमा चीनविरोध गतिविधि नहोस् भनेर चासो लिएको छ ।’ तिब्बतीयनहरू नेपाल भूमिमा चीनविरोधी गतिविधि नहोस् भनेर चाहेको हुन्छ । बङ्गलादेशले पनि त्यस्तै चाहेको हुन्छ । तर भारतले बढी चासो लिनुको कारण खुला बोर्डर भएको उनले बताए ।

द्वन्द्वकालमा माओवादी भारतमा सेल्टर लिएका बसेका थिए । तराई मधेसमा भइरहको सशस्त्र समूहको गतिविधि पनि भारतमा सेल्टर लिएर भइरहेका छन् । यी कुरामा पनि नेपालको चासो रहेको बताउँदै उनले भारतले पनि एकतर्फी होइन, दुवैतिरको कुरा बुझ्नुपर्ने बताए । यसको मतलब भारतविरोधी गतिविधि नेपाली भूमिबाट हुनुपर्छ वा निर्वाध हुने गरेको छ भन्ने होइन, यसलाई नियन्त्रण गर्न दुवै देशले समन्वयकारी भूमिका खेल्नुपर्ने उनले सुझाए ।

सङ्गठन बनाएको आरोप

भारतीय खुफिया एजेन्सीका रिपोर्टअनुसार पाकिस्तानीको लगानीमा नेपालमा नेपाल एजुकेसनल एन्ड वेलफेयर सोसाइटी नामको एउटा गैरसरकारी संस्था सञ्चालनमा आएको छ । यसले नेपालमा सञ्चालित मदरसाको व्यवस्थापनमा सहयोग पुर्याउने काम गर्दै आएको छ । यो रिपोर्टलाई भारतीय सञ्चार माध्यमले प्रमुखताका साथ उठाउँदै आएको छ ।

त्यो संस्थाले लस्कर–ए–तैयबाको सङ्गठन विस्तार गर्ने गरेको भारतीय पक्षको आरोप छ । पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको माध्यमबाट आतङ्कवादका नामबाट चिनिएका लस्कर–ए–तैबाको सङ्गठन मोरङ–सुनसरीमा बनाउन लागेको रिपोर्ट नेपालस्थित भारतीय दूतावासमा पनि आइसकेको छ । यस्तो रिपोर्ट आएको केही दिनमै सुनसरीमा दुईवटा घटना भयो । त्यसपछि कास्मिरमाथि आक्रमण भयो ।

आतङ्कवादीलाई आफ्नो घरमा आश्रय दिएको आरोपमा गत असोज ४ गते सुनसरीका खुर्सिद अन्सारी र मङ्सिर ४ सुनसरीका फिदा हुसेन मारिए । दुवै हत्यामा भारतको हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । फिदा हुसेनको बारेमा त्यस्तो कुनै तथ्य फेला नपारे पनि खुर्सिद भारतविरोधी गतिविधिमा लागेका प्रमाण भेटिएका बताइन्छ ।

तर खुर्सिदको हत्या जसरी भयो त्यसरी नै फिदाको हत्या भएको हुनाले त्यसमा हत्यामा भारतको पनि हात रहेको प्रहरी स्रोतको दाबी छ । फिदा पनि मदरसा सञ्चालन गर्न रकमको व्यवस्थापन गर्नेदेखि लिएर मदरसामा पढाउन आउने विदेशी शिक्षकहरूसँग हिमचिम पढाएको स्थानीयहरू बताउँछन् । लस्कर–ए–तैबाको सङ्गठन निर्माणमा उनीहरूको सहयोग रहेको भारतीय खुफिया एजेन्सीको दाबी छ ।

फिदा मारिएको तीन महिनापछि कास्मिरमा हमला भएको कारणले पनि भारतीय एजेन्सीको ध्यान नेपालप्रति झन् तानिएको छ । आतङ्कवादी गतिविधिमा संलग्न रहेको आशङ्कामा मारिनु र त्यसलगत्तै कास्मिरमा हमला हुनु तथा त्यो हमलाको कनेक्सन नेपालसँग छ भन्ने विषयले गम्भीर बनाएको छ ।

भारतको आशङ्का

तीन वर्षअघि नेपाल र भारतको सर्वाधिक खोजीमा रहेको चारजना पक्राउ परेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुबई प्रहरीको सहयोगमा उनीहरूलाई नेपाल झिकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

बारा जिल्लाका होदाले दुबईमा बसेर भारतको विरोधमा गतिविधि गरेको आरोप भारतीय पक्षको थियो । त्यो कुरा नेपाल प्रहरीको अनुसन्धानले पनि पुष्टि गरेको थियो । पक्राउ पर्नेहरूमा होदासहित गढीमाई नगरपालिका–८ घर भएका ‘बाबा’ भनिने बाराका ब्रिजकिशोर गिरी, कलैया नगरपालिका–४ घर भएका आशिष सिंह र उमेशकुमार कुर्मी थिए । उत्तर प्रदेशमा रेलमा भएको बम विस्फोटमा उनीहरूको संलग्न रहेको कुरा नेपाल प्रहरीको अनुसन्धानले पनि पुष्टि भएको थियो । उनीहरूले दुबईबाट भारतीय नागरिकलाई रकम दिएर विस्फोट गर्न लगाएका थिए । २०७० को संविधानसभा चुनावमा होदा राष्ट्रिय मधेस समाजवादी पार्टीबाट बारा क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

आतङ्कवादी गतिविधि, नक्कली नोट तथा हातहतियार बेचविखनमा संलग्न रहेको भन्दै मिर्जा दिलसाग बेगदेखि खुर्सिदसम्मलाई कारबाही भारतबाट भएको विभिन्न अनुसन्धानबाट देखिएको छ । जुनजुन व्यक्ति मारिएका छन्, ती सबैका बारेमा भारतले नेपाललाई जानकारी गराएको, पक्राउ गरेर सुपुर्दगी गर्न भनिएको अनुसन्धानहरूबाट खुलेको छ । तर सरकारका तर्फबाट कुनै सुनुवाइ नभएको भारतीय पक्षको आरोप छ ।

गत असोज ४ गते मारिएका खुर्सिद अन्सारीलाई भारतीय सुरक्षा एजेन्सीले भारतलाई सुपुर्दगी गर्न सरकारसँग आग्रह गरिएको थियो तर तत्कालीन गृहमन्त्री वामदेव गौतमले सुपुर्दगी गर्न मानेनन् भन्ने भारतीय पक्षको अरोप छ । खुर्सिद तत्कालीन एमालेका कार्यकर्ता थिए ।

युनुस अन्सारीलाई त जेलमै गएर हत्या गर्ने प्रयास भएको थियो । आईएसआईसँग मिलेर भारतीय जाली नोटको कारोबारमा रहेको भन्दै उनलाई भारतकै तर्फबाट मार्ने प्रयास भएको थियो । तर उनी बाँच्न सफल भएका थिए, उनी जेठमा पनि पुनः जाली नोटको कारोबारमा संलग्न रहेको भन्दै पक्राउ परेका थिए । उनी अझै असुरक्षित रहेका छन् ।

मिर्जा दिलसाद बेगलाई पनि सुपुर्दगी गर्न भारतले पटक पटक आग्रह गरेको थियो तर तत्कालीन सरकारले मानेका थिएन । सन् १९९३ मा भारतको गोरखापुरस्थित मेनका सिनेमा हलमा भएको बम विस्फोटमा मिर्जाको हात रहेको भारतको अनुसन्धानबाट देखिएको दावी बारम्बार भारतीय पक्षले गर्दै आएको थियो र त्यही बेलादेखि भारतले सुपुर्दगी गर्न माग गरेको थियो तर सुपुर्दगी नहुँदा उनको हत्या भएको थियो । भारतका उत्तर प्रदेश सरकारले मिर्जालाई पक्राउ गर्नेलाई ५० हजार नगद दिने घोषणा पनि गरेको थियो ।

त्यसैगरी तत्कालीन एमालेका कार्यकर्तासमेत रहेका मजिज मनिहारको पनि २०६६ सालमा हत्या भएको थियो । भारतीय पक्षबाट हत्या भएको कुरा तत्कालीन अवस्थामा सरकारले गठन गरेको जाँचबुझ आयोगबाट पुष्टि भएको छ । उनीमाथि भारत विरोधी आतङ्कवादी गतिविधिमा संलग्न रहनुको साथै जाली नोटको कारोबारमा संलग्न रहेको आरोप लागेको थियो । मिर्जासँग पनि उनको सीधै सम्पर्क रहेका कारण भारतको टार्गेटमा पर्नु स्वाभाविक थियो ।

मिर्जा पाकिस्तानमा रहेका दाउद इब्राहिमको एजेन्टका रूपमा नेपालमा काम गरिरहेको विभिन्न अनुसन्धानबाट देखिएको छ । कमल सिंह नेपालीको पनि त्यही कारणले हत्या भएको थियो । मलेसियामा रहेर दाउद इम्ब्राहिमसँग सीधै सम्पर्क बनाएर भारतविरोधी गतिविधिमा रहेको भन्दै उनलाई काठमाडौँमा २०६३ मा भारतीय सार्पसुटरले हत्या गरेको पुष्टि नेपालको तर्फबाट भएको जाँचबुझबाट भएको छ । उनी दाउदसँग मात्र होइन, भारतीय संस्थापकको संरक्षण्मा रहेको छोटा राजनसँग पनि मिलेका थिए ।

सौकत बेगका लागि त भारतले २० हजार नगद पुरस्कारको घोषणा गरेको थियो । सौकतलाई समात्नेलाई २० हजार नगद दिने घोषणा गरेको थियो तर कसैले समात्न नसकेपछि भारतीय सार्पसुटरले नेपालमै आएर २०६६ मा हत्या गरेको थियो । उनीमाथि पनि पाकिस्तानी आईएसआईसँग मिलेर भारतीय जाली नोटको कारोबारमा संलग्न रहेको आरोप थियो ।

त्यसरी नै आईएसआई तथा दाउदसँग जमिम शाहको सम्बन्ध रहेको भन्दै उनी मारिए । नेपालमा बसेर उनी दाउदका लागि भारतविरोधी काम गरेको तथा आईएसआईको लगानीमा मिडिया सञ्चालन गरेको आरोप उनीमाथि थियो । नेपालमा खुलेका मदरसामा लगानी भित्र्याउनुको साथै ती मदरसामार्फत् भारतका विरोधमा गतिविधि गरेको विभिन्न अनुसन्धानबाट खुलेको छ ।

युनुस अन्सारीलाई त जेलमै गएर हत्या गर्ने प्रयास भएको थियो । आईएसआईसँग मिलेर भारतीय जाली नोटको कारोबारमा रहेको भन्दै उनलाई भारतकै तर्फबाट मार्ने प्रयास भएको थियो । तर उनी बाँच्न सफल भएका थिए, उनी जेठमा पनि पुनः जाली नोटको कारोबारमा संलग्न रहेको भन्दै पक्राउ परेका थिए । उनी अझै असुरक्षित रहेका छन् । २०६८ मा फैजान अहमद र २०७० मा अफताब आलमको हत्या पनि त्यही आरोपमा भएको थियो, जुन आरोप मिर्जा, युनुस, खुर्सिद लगायतलाई लागेको थियो ।

यसरी नेपालले यी व्यक्तिलाई कारबाही नगर्दा भारतले उनीहरूलाई हत्या गर्न लगाएको कुरा जाँचबुँझ आयोगले पुष्टि गरेको छ । भारत विरोधी हुने आतङ्कवादी गतिविधिमा नेपालको भूमि प्रयोग भइरहेको भारतले यिनै घटनाले पुष्टि गरेको छ ।

के भन्छन् विज्ञ ?

भारतीय रक्षा अध्ययन तथा विश्लेषण प्रतिष्ठानका रिसर्चर डा. निहार आर नायकले भने, ‘युनुसले हाँकाहाँकी भनिरहेका छन्, म जाली नोटको कारोबार गर्छु । पटक पटक पक्राउ पनि परेका छन् तैपनि उनीमाथि कारबाही किन भइरहेको छैन ? भारतलाई किन सुपुर्दगी गरिरहेका छैनन् ? युनुस जस्ता थुप्रै व्यक्ति पाकिस्तानसँग मिलेर भारत विरोधी गतिविधि गरिरहेका छन् तर नेपाल चुप लागेर बसेको छ ।’

तर रक्षाविज्ञ विष्णु उप्रेती नेपालबाट भारतविरोधी गतिविधि हुने गरेको कुरा मान्न तयार छैनन् । उनी भन्छन्, ‘भारतको यो मनोविज्ञानले गर्दा यस्तो भएको हो । आपराधिक गतिविधि गर्ने जहाँ पनि हुन्छन् । यहाँ त खुल्ला सीमा छ । त्यही भएर आतङ्कवादी गतिविधि दुवैतिर भइरहेको छ । नेपालमा हुने विभिन्न अपराधी गतिविधिमा कतिपय भारतीयको संलग्नता भेटिएको छ भने भारतमा हुने कतिपय आपराधिक गतिविधिमा नेपालीको संलग्नता भेटिएको छ तर यसमा देश नै संलग्न हुँदैन ।’

नेपालमा भारतविरोधी गतिविधि हुने गरेको जुन आरोप भारतको छ त्यो भारतीय पक्षबाट हुने गरेको बताउँदै उनले भने, ‘भारतमा रहेका दाउद, छोटे राजन जस्ता डनले नेपालीहरूलाई प्रभावमा पारेर आपराधिक गतिविधि गराउने गरेको छ । त्यस्तो आपराधिक मानसिकता भएका व्यक्ति दुवै देशमा छन् ।’ यसमा कुनै देशलाई मात्र दोषी देखाउन नहुने उनले बताए ।

अर्का रक्षाविज्ञ गेजा शर्मा वाग्लेको पनि धारणा पनि त्यस्तै छ । उनी भन्छन्, ‘खुला सीमाका कारण आपराधिक गतिविधि हुने गरेको छ । नेपाली भूमिबाट भारतविरोधी गतिविधि नभएको होइन तर विभिन्न आपराधिक समूहले त्यस्ता गतिविधि गरेका हुन्छन् ।’ नेपाली भूमिबाट मात्र होइन, भारतीय भूमिबाट पनि नेपाल विरोधी आपराधिक गतिविधि हुने गरेको बताउँदै उनले दुवै देश एकअर्का देशको सुरक्षाप्रति गम्भीर देखिएको बताए । भारतविरोधी आतङ्कवादी गतिविधि होस् भन्ने कुरा नेपालले कुनै पनि हालतमा चाहँदैनन् तर त्यस्ता आपराधिक समूहहरू छन् जसले नेपालीलाई पनि विभिन्न प्रलोभनमा पारेर त्यस्ता गतिविधिमा संलग्न गराएको पाइएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप