बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भ्वाइस अफ नेपाल सिजन टुबाट थाहै नदिई निकालिएकोमा अभयाको आक्रोश (भिडियो)

बुधबार, ११ असार २०७६, १० : ३९
बुधबार, ११ असार २०७६

संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्चाइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ सिजन टुको घोषणा भएसँगै यसमा दुईजना कोच परिवर्तन भएपछि ठूलै खैलाबैला भयो । सिजन वानमा कोचका रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल रहेका थिए । उक्त चारजनामध्ये दुईजना दीप श्रेष्ठ र प्रमोज खरेल सिजन टुमा यथावत रहेपनि अभय सुब्बा र सनुप पौडेल भने बाहिरिएका हुन् । उनीहरुको सट्टामा राजु लामा र आस्था राउतको इन्ट्रि भएको छ ।

सिजन वानमा चर्चाको केन्द्रमा रहेका अभया सुब्बा र सनुप पौडेललाई आखिर सिजन टुमा किन छैनन् ? यो चर्चाको विषय बन्यो ।

भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले एक अनलाईन मिडियालाई अभया सुब्बा ग्रान्ड फिनालेमा सहभागी नभएका कारण हेडक्वार्टरले नै असन्तुष्टि जनाएपछि आफूहरुले उनको विकल्प खोज्नुपरेको बताएका थिए ।

जसमा अभया सुब्बाले घोर आपत्ति जनाएकी छिन् । अभयाले सोमबार आफ्नो ब्यान्डको आधिकारिक युट्युब अकाउन्टमा भ्वाइस अफ नेपालका निर्देशकको भनाई खण्डन गरेकी छिन् । उनले आफूलाई थाहै नदिइ भ्वाईसबाट निकालेको पनि उनले बताइन् । उनले भ्वाइस अफ नेपालमा जसले अत्यधिक मेहनत गर्‍यो उसैलाई निकालियो भन्दै चित्तसमेत दुखाएकी छिन् ।

१३ मिनेट लामो उक्त भिडियोमा फिनालेमा उपस्थित नहुनेबारे आफूले तीन महिनाअघि देखि नै भ्वाइसको व्यवस्थापनलाई जानकारी दिएको र उनीहरुले नै आफूलाई मेलबर्नमा कन्सर्टका लागि जान अनुमती दिएको जानकारी दिइन् । उनले यसबारे गरिएको एसएमएसलाई पुष्टिको रुपमा उपलब्ध गराएकी छिन् ।

आफ्नो अनुपस्थितीबारे ‘हेडक्वार्टर’ लाई पूर्ववत् जानकारी उपलब्ध नगराउनु भ्वाइस कै गल्ती भएको उनको ठम्याइँ छ ।

आफूलाई भ्वाइसबाट निकालिनुमा जुन कारण उनीहरुले दिए, त्यसमा पनि अभयाको आपत्ति छ । उनले भनिन्, ‘उनीहरुले मलाई अब भ्वाइसमा रक म्युजिक चाहिँदैन भनेको भए हुन्थ्यो । त्यहाँ रक म्युजिक गर्ने कोही कोच नै छैन । उनीहरुले भ्वाइसमा अंग्रेजी गीत पनि नचाहेको भन्ने सुनेको छु, त्यसैकारण मलाई निकालेको भनेको भए पनि त हुन्थ्यो । फिनालेमा उपस्थित नभएको भन्दै यस्तो मूर्ख कारण देखाएकोमा मलाई आपत्ति छ ।’

उनले भनिन्, ‘भ्वाइस अफ नेपाल, सही कारण देउ ।’

उनले भ्वाइस अफ नेपाल बाहिर हेर्दा जति राम्रो र व्यवस्थित देखिन्छ भित्र अत्यधिक अव्यवस्थित हुने गरेको बताइन् । यो नै भ्वाइसको ठूलो समस्या भएको उनको बुझाई छ । उनले भनिन्, ‘त्यहाँको व्यवस्थापन निकै तल्लो स्तरको छ । उनीहरुले मलाई कार्यक्रम मे महिनामा सुरु भएर नोभेम्बरमा सिद्धिने बताएका थिए । मेमा भएन, जुनमा पनि भएन । जुलाई ११ मेरो युरोप टुर थियो । युरोप जान टिकट, भिसा सबै मिलिसकेको थियो । त्यति नै बेला उनीहरुले मलाई युरोप जान नसक्ने बताए । त्यो मैले रद्द गरेर भ्वाइसमा बसेँ । त्यो कुरा उनीहरुले कहिले पनि गरेनन् । हामीले यस्ता त्याग गर्नुपरेको थियो ।’

उनले आफूलगायत सनुप पौडेललाई पनि कुनै जानकारी नै नदिई निकालेको बताइन् । उनले भनिन्, ‘मलाई र सनुपलाई थाहा थिएन कि हामी सिजन टुमा छैनौं भनेर । गाइँगुइँ हल्ला सुनेपछि सनुपलाई फोन गरेँ, यसबारे आफूलाई केही पनि आधिकारिक जानकारी नभएको उनले बताए । ’

यसबारे भ्वाइसका कार्यकारी निर्माता एवं प्रस्तोता सुशिल नेपालसँग पनि कुरा गर्दा उनले यसबारे आफूलाई यसबारे केही थाहा नभएको, यसमा आफ्नो कुनै पनि संलग्नता नभएको उनले बताएको अभयाले जानकारी दिइन् ।

उनले भनिन्, ‘उनीहरुले यो पनि महसुस गरेनन् कि उनीहरुले हामीलाई थोरै भएपनि सम्मान गर्नुपर्छ । उनीहरुले हामीलाई दोस्रो सिजनमा हामी नभएको जानकारी गराउनुपर्दथ्यो । अन्तरराष्ट्रिय शोमा यतिसम्मको व्यवसायिकता त छैन भने हामी नेपाल कहाँ छौं भनेर बुझ्न सक्छौं । ’

अन्तरराष्ट्रिय भ्वाइसमा यदि कोही कोच नभएको खण्डमा तीन महिनाअघि देखि नै यसबारे जानकारी दिइन्छ । उनले भनिन्, ‘यसपाली एडम लभिन थिएनन्, उनी नभएको जानकारी कार्यक्रम सुरु हुनु तीन महिनाअघि नै दिइएको थियो । ’

‘उनीहरुले मलाई यसरी सार्वजनिक हुन बाध्य बनाए जुन निकै अपमानजनक हो,’ उनले भनिन् ।  

भ्वाइसको पहिलो संस्करणमा आफू निकै खटेको र यसका लागि अत्यधिक मेहनत गरेको पनि उनले बताइन् । उनले हाँस्दै भनिन्, ‘जसले खट्छ, जसले इमान्दारिताका साथ काम गर्छ उसैलाई निकाल्दो रैछ के ।’

उनले प्रशंसकलाई आफ्नो लागि चित्त नदुखाउन पनि आग्रह गरेकी छिन् । साथै उनले नयाँ कोचहरुप्रति आफ्नो कुनै समस्या नभएको पनि स्पष्टिकरण दिएकी छिन् । उनले भनेकी छिन्, ‘आस्था एक महिला हुन्, उनलाई मौका दिनुपर्छ । राजु लामा पनि निकै उत्कृष्ट छन् ।’

भ्वाइस अफ नेपालबाट पाएको इज्जत आफू फिर्ता लिन चाहेको उनी बताउँछिन् । उनले भनिन्, ‘हामीलाई पहिले नै भ्वाइसमा छैन भनेको भए एउटा इज्जत त हुन्थ्यो । अब मैले त्यो इज्जत फिर्ता लिनुपरेको छ ।’

आफू राम्रो काम गर्नेहरु र आफूजस्तै सोझोहरुको अधिकारका लागि उभिएको उनले बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप