शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छिट्टै मन्त्रिमण्डल पूनर्गठन हुन्छ: देवेन्द्र पौडेल

मङ्गलबार, १० असार २०७६, १८ : ११
मङ्गलबार, १० असार २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पारेका छन् । मंगलबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भैरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने बताएका हुन् । 

साक्षात्कारमा बोल्दै नेता पौडेलले पार्टी एकता गर्दानै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । 

उनले भने,‘हामी एकताको पक्षमा छौं । एकता रहरको लागि गरिएको होइन । त्यसैले विगतमा भएका सहमति इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्छ ।’ उनले वर्तमान सरकार पाँच वर्षसम्मको लागि निर्वाचित भएकोले तत्काल स्थानीय, प्रदेश र संघमा सरकार फेरबदल हुने अवस्था नरहेको पनि जिकिर गरे । यद्धपि संघीय सरकार भने पार्टीको निर्णयका आधारमा फेरबदल गर्न सकिने उनले स्पष्ट पारे । उनले भने,‘सरकारको कामलाई प्रभावकारिता बनाउनको लागि पनि मन्त्रिमण्डल फेरबदल गर्न सकिन्छ । तर, सरकार नेकपाकै नेतृत्वमा बन्छ ।’

पौडेलले गुठी विद्येयकलगायतका अन्य कुनै पनि विद्येयक खारेज नभएको सुनाउँदै तत्कालको लागि स्थगन् गरिएको पनि स्पष्ट पारे ।  राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सूचना रहेको खुलासा गरे । 

उनले भने,‘ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन् भन्ने राजपाको ठम्याई छ । हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं । र, ल्याकत छैन पनि । बरु, यो सरकार आफैं ढल्ने मसँग सूचना छ ।’ उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको पनि टिप्पणी गरे । 

पार्टीको अध्यक्ष मण्डलको बैठक बसिरहेको सुनाउँदै सुमनले सरकारको पछिल्लो भूमिकाप्रति आफूहरु चिन्तित रहेको सुनाए । पार्टीका केन्द्रिय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दा पनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताउँदै त्यसप्रति घोर आपत्ति जनाए । 

उनले भने,‘उहाँ अहिले विरामी हुनुहुन्छ । उपचार गराईरहनुभएको छ । यसरी हतियार बन्द कोठामा राख्दा औषधीले पनि काम गर्दैन् । उहाँमाथि मनोवैज्ञानिक त्रास फैलाईएको छ ।’ फरक प्रसँगमा उनले राजपा र समाजवादी पार्टीबीच एकताको लागि प्रशस्त सम्भावना रहेको सुनाउँदै त्यसको लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने आफूहरुको अडान रहेको स्पष्ट पारे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप