केन्द्रीय संस्करण
मानव तस्करी

अफ्रिकी मुलुक केन्यामा ‘यौन दासी’ बन्दै नेपाली युवती

person explore access_timeअसार १०, २०७६ chat_bubble_outline1

मोहमेद अह्मेद र ब्राइन ओचारो

२० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पु¥याइएकी थिइन् ।

असली सात जनाको परिवारको जेठी छोरी हुन् । धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको गर्जो टार्न पनि कठिन भइरहेको थियो ।

त्यसै कारण घरकी पहिलो सन्तान असलीले सात वर्षको उमेरमा विद्यालय छाडन् बाध्य भइन् । त्यसपिछ उनी परिवारलाई भरथेग गर्न आफै काम गर्न थालिन् ।

यौन दासत्वको नारकीयता

एकपछि अर्को काम गर्दै उनी काठमाडौँमा नाच्ने पेसामा आइपुगिन् । सोही कामको सिलसिलामा उनको भेट विशाल भन्ने एक जना युवकसँग भयो । उनले विशाललाई आफ्नो समस्या बताइन् ।

विशालले उनलाई केन्यामा राम्रो आय हुने कामको प्रस्ताव राख्यो ? विशाल केन्यामा युवती पठाउने काम गर्दा रहेछन् ।

‘विशालले मसँग केन्याका एक जना व्यक्तिले कलाकार खोजिरहेको बतायो । उसको कुरा सुनेपछि म केन्या जान तयार भएँ,’ उनले भनिन्, ‘उसैले मलाई आसिफसँग भेटाइदियो ।’

सम्पर्क भएको एक हप्ताभित्र बाईले पासपोर्ट र हवाई टिकट पाइन् । त्यसको केही समयपछि उनी सुन्दर भविष्यको सपना बोकेर केन्याको तटवर्ती सहर मोम्बासा पुगिन् ।

नोभेम्बर १२ मा उनी मोई अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिइन् । विमानस्थलमा उनलाई लिन फोनमा कुरा भएको आसिफ आफै लिन गएका थिए । आसिफले बाईलाई बामबुरीस्थित एउटा एपार्टमेन्टमा लगे ।

एपार्टमेन्टमा दिनभरीजसो आराम गरेपछि उनलाई राति काममा लगियो । उनको काम गर्ने स्थान थियो, न्यालीस्थित ‘न्यु रङ्गिला बार’ । त्यहाँ उनलाई ‘मुजुरा’ भनिने नाच गर्न लगाइयो । त्यसअघि नै उनलाई काम दिनेहरुले उनको पासपोर्ट खोसिसकेको थियो ।

माथिको विवरण असली बाईले प्रहरीसामु सुनाएकी हुन् । उनी र उनका कैयौँ नेपाली सहकर्मीलाई हालै केन्याली प्रहरीले उद्धार गर्यो । उनीसँगै अन्य चारजनाले पनि नारकीय भोगाइ बताए ।

युवतीको बयानबाट केन्या कसरी यौन र बाल दासत्वको गन्तव्य बन्दै गएको छ भन्ने कुरामा प्रकाश पारेको छ । एक समय केन्यालाई यौन र बाल दासत्वको ट्रान्जिट मात्र मानिन्थ्यो तर पछिल्लो घटनाले अवस्था निक्कै विकराल भइसकेको सङ्केत गरेको छ ।

पछिल्लो अनुसन्धानको केन्द्रमा ‘न्यु रङ्गिला क्लब’ छ । यो मोम्बासाका व्यापारी आसिफ अमिराली अलिभाइ जेठाको स्वामित्वमा छ । यी तिनै ‘आसिफ’ हुन् जसले बाईलाई केन्या भित्र्यउन सघाएका थिए । केन्यामा राम्रो पहुँच भएका व्यवसायी आसिफले सन् २०१४ देखि क्लब सञ्चालन गर्दै आइरहेका थिए ।

केन्याको राष्ट्रिय दैनिक ‘डेली नेसन’ले आफूले प्राप्त गरेको कागजातको हवाला दिँदै, आसिफसँग क्यानडा र बेलायतको पासपोर्ट रहेको उल्लेख गरेको छ । आसिफकै फेसुबक प्रोफाइलमा पनि उनी क्यानडा वाइट मेडियामा काम गर्ने गरेको दाबी उल्लेख छ । 

नाचपछि नर्तकी र ग्राहकबीच ‘निजी सेसन’

सिमोन फ्रेसर युनिभर्सिटी र बर्नअबी सेन्ट्रल सेकन्डरी स्कुलमा अध्ययन गरेको दाबी गर्ने आसिफ विवाहित छन् । केन्याको तटवर्ती क्षेत्रका व्यवसायीहरुसँग आसिफको राम्रो सम्बन्ध भएको विश्वास गरिन्छ ।

उनको सुरक्षा क्षेत्रमा पनि राम्रो सम्बन्ध भएको विश्वास गरिन्छ । यसले गर्दा लामो समयदेखि कानुन उलङ्घन गरिहेका आसिफ पक्राउ पर्नबाट बचिरहेका थिए ।

अहिले उनलाई मानव बेचविखन गरेको, त्यस कार्यमा सघाएको र महिलाको पासपोर्ट कब्जामा लिएर भ्रमण कागजातमा हस्तक्षेप गरेको जस्ता कैयौँ मुद्दा लगाइएको छ ।

त्यस्तै उनीमाथि आफ्नो डान्स बारलाई मानव बेचबिखनका लागि प्रयोग गरेको आरोप पनि छ ।  

रङ्गिला क्लब ठूलो रकम तिर्न सक्ने केही सीमित मानिसका लागि मात्र खुल्दै आएको थियो ।

‘क्लबको ढोका सामान्यता सधैँ बन्द रहन्थ्यो । भित्र जान चाहनेले ढोका ढक्ढक्याउनुपथ्र्यो, त्यसपछि गार्डले चेकजाँच गरेपछि मात्र तपाईंलाई तिनले चिने भने प्रवेश दिने व्यवस्था थियो,’ क्लब गएका तर नाम उल्लेख गर्न नचाहने एक जना मानिसले भने ।

मुजुरा दक्षिण एसियामा विकसित महिलाहरुले गर्ने रागात्मक नृत्य हो । मनोरञ्जन चलिरहँदा त्यसको अवलोकन गरिरहेकाले नृतङ्गनालाई टिप दिने गर्छन् । यदि ग्राहक नाचिरहेकी महिलाप्रति आकर्षित भयो भने तिनले पैसा तिरेर महिलासँग ‘निजी सेसन’को अवसर पाउँथे । यो कुरा डेली नेसनले आफ्नो स्रोतलाई उल्लेख गर्दै बताएको छ । 

प्रत्येक महिलालाई नृत्यको बेला अलग अलग स्टेज नाम दिइन्थ्यो । तिनलाई हरेक रात निश्चित रकम सङ्कलन गर्नुपर्ने लक्ष दिइएको हुन्थ्यो । तिनको कमाइ मासिक ५० हजार सिलिङ (विद्यमान मौद्रिक दरअनुसार १ केन्यन सिलिङ बराबर १.०९ रुपैयाँ हुन्छ) देखि ८० हजार सिलिङबीचमा हुन्थ्यो ।

तथापि तिनले प्रत्यक्ष रूपमा भने १० हजारदेखि १५ हजार सिलिङ पाउँछन् । बाँकी रकम मालिक आफैले नेपालमा रहेका युवतीका परिवारलाई पठाइदिन्थे ।

प्रहरीलाई दिएको बयानअनुसार क्लबमा काम गर्ने सबै नेपाली महिला न्यालीको एउटा एपार्टमेन्टमा बस्ने व्यवस्था गरिएको थियो । महिलाहरुलाई त्यस एपार्टमेन्टबाट क्लब लाने फर्काउनेबाहेक बाहिर निस्किने अनुमती थिएन ।

हप्तामा एक दिन भने तिनलाई बाहिर घुम्न लगिन्थ्यो तर त्यसबेला पनि तिनको निगरानीको लागि एक जना क्लबका कर्मचारी तिनीहरुसँगै हुन्थे । 

मासिक लक्ष्य

२६ वर्षे सन्जिता आले १० महिनादेखि बामबुरीको एपार्टमेन्टमा बसिरहेकी छिन् । उनका अनुसार उनलाई राति ९ बजेदेखि १० बजेबीचको समयमा चालकले ‘न्यु रङ्गिला क्लब’सम्म गाडीमा लान्थे ।

क्लब बन्द भएपछि बिहान ३ बजे उनलाई पुनः एपार्टमेन्टमा फिर्ता ल्याउँन्थे । यसै कारणले गर्दा १० महिनासम्म बसेको एपार्टमेन्टको बाटो अझै उनलाई थाहा छैन ।

‘हामीलाई कामको समयभन्दा अन्य समयमा घरबाहिर निस्कन दिइँदैनथ्यो,’ उनले भनिन्, ‘हामीलाई एक महिनामा एक दिन बिदाको व्यवस्था थियो । त्यो समयमा पनि मालिक हामीसँगै हुन्थेँ,’ उनले थपिन् ।

महिलाहरुको मोबाइलको प्रयोगमा पनि नियन्त्रण गरिएको थियो । दिउँसो ३ देखि ६ बजे बीच बाहेकको समयमा तिनको मोबाइल खोसेर राखिन्थ्यो ।

नृत्यको समयमा आसिको उपनाम दिइएको सन्जितालाई मासिक ४ लाख सिलिङको लक्ष दिइएको थियो । उनको तलब भने ८० हजार सिलिङ थियो । ‘हामी स्टेजमा नाचिरहँदा, ग्राहकले हामीलाई टिप दिने गर्थे । कुन नर्तकीका लागि टिप दिइएको हो, सोही नर्तकीको नाम लेखिएको टोकरीमा पैसा जम्मा गरिन्थ्यो ।’

अर्की नेपाली ३० वर्षे रन्जिता विकको कथा पनि लगभग उस्तै छ । पारिवारिक कठिनाइका कारण चाँडै विद्यालय छाडेको, त्यसपछि आय आर्जनको लागि नाच्न थालेको, कसैमार्फत आसिफसँग सम्पर्क पुगेको र केन्या पुगेको ।

‘मेरो एक जना साथीले मलाई आसिफ भन्ने मानिससँग सम्पर्क गरायो । आसिफले मलाई फोनबाट अन्तरर्वाता लियो । फोनमा मैले एक महिनाको एड्भान्स मागे । उसले मलाई जहाज टिकट र ८० हजार सिलिङ पठाइदिए । त्यस रकमले उता ऋण तिरेर म यता आएँ,’ उनले भनिन् ।

रन्जिता अघिल्लो वर्ष मोई अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिइन् । एअरपोर्टमा उनले आसिफ र उनका चालकलाई भेटिन् । त्यहाँबाट उनलाई बमबुरीको एपार्टमेन्टमा लगियो जहाँ उनले आसिफलाई आफ्नो पासपोर्ट बुझाइन् ।

‘अपार्टमेन्टमा मेरो भेट ८ नेपाली महिलासँग भयो । सोही साँझ ९ बजे हामीलाई गाडीले क्लब पु¥यायो,’ त्यसपछि उनको नियन्त्रित दैनिकी सुरु भयो ।

प्रहरीको छापा

यो वर्षको अप्रिल १३ अघिसम्म सबै कुरा यथावत चलिरहेको थियो । अप्रिल १३ बिहान ३ बजे प्रहरीले क्लबमा छापा मार्यो ।

‘प्रहरी आउँदा म स्टेजमा नाचिरहेको थिएँ । तिनले आफूहरु प्रहरी भएको बताउँदै हामीलाई आआफ्नो स्थानमा बस्न भने । तिनले केही फोटो खिचेपछि हामीलाई प्रहरी स्टेसन ल्याए । त्यहाँ गएपछि मलाई बयानका लागि आग्रह गरिएको थियो,’ उनले भनिन् ।

अर्की महिला सन्जु गुरुङ विवाहित हुन् । उनलाई केन्या गएर फर्केकी एक जना साथीले केन्यामा नाच्ने काममा धेरै पैसा हुने बताएकी थिइन् । ‘त्यसपछि मैले आफू पनि केन्या जाने सोच बनाउन थालेँ । मेरा श्रीमान् घर बनाउने ज्यामी हुनुहुन्छ, उहाँको त्यति धेरै कमाइ नहुने भएकाले घरपरिवार र सन्तानका लागि म यहाँ आउने सोच बनाएको थिएँ,’ सन्जुले भनिन् ।

उनले पनि आसिफलाई फोनमार्फत अन्तरवार्ता दिएकी थिइन् । ६० हजार सिलिङ एड्भान्स पाएपछि उनी राम्रो आय हुने पक्का हुँदै केन्या उडिन् । तर त्यहाँ उनको पासपोर्ट खोसियो र त्यसपछि उनको ११ नेपालीसँग बमबुरी एपार्टमेन्टमा बन्दी जीवन सुरु भयो । 

मानव बेचबिखन र यौन शोषण

प्रहरीले छापा मारेर क्लबमा काम गर्ने १२ नेपाली महिलाको उद्धार गरिएको थियो । केन्यामा उक्त छापालाई अन्तर्राष्ट्रिय मानव बेचविखनविरुद्ध उठाइएको ठूलो सफलताको रूपमा हेरिएको छ । महिलालाई यही महिनाको अन्त्यसम्म तिनको देश फिर्ता गरिने आशा गरिएको छ ।

सन् २०१८ को मानव बेचविखनसम्बन्धी विश्वव्यापी रिपोर्टअनुसार यौनिक शोषण र बलजफ्ती श्रम मानव बेचविखनको प्रमुख कारण हो ।

कुल मानव बेचबिखनमा यौन शोषणका लागि हुने बेचबिखन आधा हिस्सा हुन आउँछ । त्यस्तै बलजफ्ती श्रमका लागि ४९ प्रतिशत मानव बेचबिखन हुने गर्छ ।

यसमा धेरैजसो पीडित महिला र बालबालिका छन् । रिपोर्टले प्रहरीमा दर्ता हुने मानव बेचबिखनको घटनाको सङ्ख्या बढेको देखाएको छ ।

‘यसले मानव बेचबिखन बढेको जनाउनुका साथै राष्ट्रिय स्तरमा यो अपराध पहिचान गर्ने र पीडितलाई पहिचान गर्न सक्ने सामर्थमा वृद्धि भएको पनि देखाउँछ,’ रिपोर्टले भनेको छ ।

सन् २०१८ को अमेरिकी विदेश मन्त्रालयको रिपोर्टले केन्यालाई मानव बेचबिखनको स्रोत, गन्तव्य र ट्रान्जिट राष्ट्रको रूपमा व्याख्या गर्छ । 

उता पक्राउ परेका आसिफलाई विभिन्न आरोप लागेको छ । तिनमा दुई नाबालिकालाई आर्थिक शोषण गरेको आरोप पनि छ ।

तिनलाई बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा हानिकारक हुने वातावरण (बार)मा नचाएको आरोप छ ।

त्यसबाहेक उनलाई गैरकानुनी रूपमा विदेशीलाई केन्यामा काम गराएको र श्रम स्वीकृतिबिना नै व्यवसाय चलाएको मुद्दा पनि परको छ । अनुसन्धानका क्रममा केन्याको नागरिकता नभएका आसिफसँग दुईवटा देशको पासपोर्ट भेटिएपछि उनको नागरिकतामाथि पनि प्रश्न उठाइएको छ ।

यस मुद्दामा अर्को हप्ताको शुक्रबारबाट अदालती सुनुवाइ सुरु हुनेछ ।

द नेसन डट को डट केइ

कमेन्ट

  1. June 25, 2019, 3:18 p.m. पि.एल.आशिष नुवाकोटे
    हामी नेपालीहरु अबुझ मात्र हैन महाँ मुर्ख पनी रहेछौं, नेपाल सरकारले ईजाजत नदिएको मुलुकमा जानजान जाने, कसरी हुन्छ पैसा मात्रलाई सर्वेसर्वा ठान्ने, नाजायज कामगर्न पनि सहमत हुने अनी सतहमा आएपछी मलाई फसाईयो भन्ने....? फेरी नेपाली दलालहरु....... आफ्नै देशका चेलीबेटीलाई २०/३० हजारमा नारकिय जिवन विताउन बाध्य पार्ने यि कुकुरहरुलाई फाँसी दिनु पर्छ । यदी उक्त ब्यबस्था नेपालको संबिधानमा छैन भने दुई तिहाई बहुमतको सरकारले यो पनि सोचोस र आवश्यक कानुन निर्माण गरोस् त्यस्ताो कसुरलाई राज्यद्रोह भन्दा पनि गम्भिर अपराधको रुपमा ब्यख्या गर्ने परिकल्पना गरियोस् ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...