बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

किन बढ्दै छ अस्पतालप्रति नागरिकको वितृष्णा ?

सबैले स्वास्थ्य क्षेत्रलाई टार्गेट बनाए : स्वास्थ्य मन्त्रालय
मङ्गलबार, १० असार २०७६, १० : ५४
मङ्गलबार, १० असार २०७६

काठमाडौँ । 
घटना नं. १ 

मुटुमा समस्या देखिएपछि ५ वर्षीया आकृतिकुमारी शाहलाई वैशाख १३ सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरियो । चिकित्सकले शाहको मुटुमा समस्या देखिएको भन्दै अप्रेसन गर्न सुझाव दिए । सोहीअनुसार अस्पतालका निर्देशक डा. ज्योतेन्द्र शर्माको टिमले १७ वैशाखमा आकृतिको अप्रेसन गरे ।

अप्रेसन गर्दा आकृतिलाई दुई पिन्ट रगत चढाउनुपरेको थियो । बालिकाको रगत समूह ‘ओ’ पोजेटिभ भएको रिपोर्ट बनाएका थिए । सोही आधारमा रगत मगाइयो । तर ल्याबबाट ‘ए’ पोजेटिभ समूहको रगत ल्याएर चढाइयो । गलत समूहको रगतले आकृतिको दुवै मिर्गौला फेल भएको र बालिकाको वैशाख २४ मा निधन भयो । 

तर अस्पतालले भने बालिकाको अप्रेसन नै जटिल हुँदा निधन भएको बताएको थियो । अस्पतालका ल्याबका केही कर्मचारीले भने गलत समूहको रगत दिँदा बालिकाको निधन भएको भन्ने कुरा बाहिर ल्याएपछि बालिका निधनको घटनाले अर्कै मोड लियो । मृतक परिवारका आफन्त अस्पताल प्रशासनविरुद्ध आक्रोशित भए । प्रहरीमा उजुरी गरे । छानविन गर्नुपर्ने भन्दै नेपाल मेडिकल काउन्सिलमा निवेदन दिएका छन् ।  
घटना नम्बर–२ 
ओम अस्पताल तथा रिसर्च सेन्टरमा उपचारका क्रममा ५० वर्षीया रामप्यारी थापा मगरको जेठ ३२ मा निधन भयो । आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाए । अस्पतालमा नाराबाजीका साथै तोडफोड पनि भयो । निधन भएको झण्डै ४ दिनपछि अस्पतालले बिरामीको उपचारखर्च अस्पतालले नलिने सहमति भएपछि मृतकको अत्येष्टि गरियो । तर मोटो रकम लेनदेनपछि परिवारले शव बुझेको भन्ने आरोप मगरको परिवारलाई लागेको छ ।  

घटना नम्बर ३
सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा तनावग्रस्त अवस्थामा थियो । शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका– ६ छचोडाकी वर्ष २६ की गीता ताम्राकारको अस्पतालमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको थियो ।

यता आफन्तहरूले भने अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिए । शल्यक्रियामै लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा पनि अन्य अस्पतलमा नपठाई त्यही राखेको आरोप आफन्तको छ । यो घटनाले एक हप्तासम्म डडेलधुरा अस्पताल निकै तनावपूर्ण अवस्थामा गुज्रिन बाध्य थियो । आफन्तले भने अस्पतालमा तोडफोड गरे । यो घटनाले सुरक्षा नभएको भन्दै डडेलधुरा अस्पतालका सबै चिकित्सक र स्वास्थ्यकर्मीले सामूहिक बिदा बस्ने पत्र प्रशासनलाई बुझाएका थिए । 

 एक हप्तादेखि १५ दिन आसपासमा नेपालको स्वास्थ्य क्षेत्रमा भएका घटनाहरू हुन् । उपचारका क्रममा स्वास्थ्यमा सुधार आउनुको सट्टा उल्टै बिरामीको निधन भएपछि आफन्तहरू तोडफोडमा उत्रिने गरेका छन् भने उपचारमा शङ्का लागेको भन्दै काउन्सिलसम्म पनि पुग्ने गरेका छन् । यी घटनाको काउन्सिलमै छानविन भइरहेको जनाएको छ । 

यसरी उपचारपछि नागरिकको निधन हुनु, त्यसपछि आफन्तले उपचारमा सहभागी चिकित्सक र अस्पताल प्रशासनलाई दोषी देखाउँदै आइरहेका छन् । यसमा कति घटनामा समस्या भएपछि सबै घटनामा चिकित्सकको समस्या नहुन सक्छ । 

तर यस्ता घटनाले पछिल्लो समय नेपालको स्वास्थ्यप्रति नागरिकमा वितृष्णा जाग्न थालेको देखिन्छ । स्वास्थ्य जस्तो महत्त्वपूर्ण क्षेत्रमा पनि विकृति बढ्दै गइरहेको देखिन्छ ।

आधुनिक प्रविधिसँग भिज्न नसक्दा समस्या थपियो 
उपचारको क्रममा हुने गरेका धेरैजस्ता घटना शल्यक्रियापछि आएका समस्या देखिएको राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. सन्तोष पौडेल बताउँछन् । ‘उपचारका क्रममा चिकित्सकले गल्ती नै गर्छु भन्ने हुँदैन तर गल्ती जानाजान र अन्जान दुवैमा भएको उनी बताउँछन् ।’ पछिल्लो समय नेपालमा गरिने सर्जरीमा पनि नयाँ नयाँ प्रविधि आएका छन् तर त्यो प्रविधिका बारेमा राम्रोसँग नुबुझी सर्जरी गर्दा समस्या आउने गरेको डा. पौडेल बताउँछन् । 

डा. पौडेल भन्छन्, ‘स्वास्थ्य संस्थाको गल्ती छैनभन्दा पनि भएका पनि छन् । कतिपय घटनामा नागरिकले दोषी पनि देखाउने काम भएको छ । तर यो सबै समस्या समाधानका लागि नेपालमा स्वास्थ्यसम्बन्धी नीति नै दरिलो नहुँदा घट्ना दोहोरिरहेको छन् ।’

फितलो कानुन  
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा दैनिकजसो घटने घटनाले नेपाल चिकित्सक सङ्घ निकै चिन्तित भएको अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ बताउँछन् । घटना घटेको कुनै पनि स्वास्थ्य संस्थामा सरकारले एक्सन लिने र गल्ती गर्ने व्यक्ति जो भए पनि तत्काल कारबाही गर्नुपर्ने श्रेष्ठ बताउँछन् । तर गल्ती नभएको खण्डमा पनि चिकित्सकलाई पिट्ने, अस्पताल तोडफोड जस्ता क्रियाकलाप गर्ने व्यक्तिलाई नै कारबाही गर्नुपर्ने उनको माग छ ।  तर दोषी जो भए पनि कारबाही हुनेको सङ्ख्या भने निकै कम भएको हुँदा यस्ता समस्या दोहोरी रहेको देखिन्छ । 

उनी भन्छन्, ‘अहिलेसम्म घटना गराउने कुनै पनि स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालाई कारबाही भएको छैन, यसको मतलब राज्यले नियम पालना नगरेकै हो भन्ने देखिन्छ । यस्ता कुरामा सरकारले चासो दिनु पर्छ ।’

दोषी जो भए पनि कानुनअनुसार राज्यले निष्पक्ष रूपमा कारबाही गर्ने हो भने स्वास्थ्य क्षेत्रमा यस्तो समस्या नआउँने भन्दै सङ्घले अबको केही दिनमा स्वास्थ्य क्षेत्रमा घटिरहेका विभिन्न घटनाको बारेमा आवाज उठाउने जनाएको छ । 

घटना भए पनि सम्बन्धित अस्पताल या सरकारलाई कानुनी कारबाही गर्नका लागि अनुरोध गर्दै आइरहँदा कुनै पनि सुनुवाइ नभएको अवस्थामा अब सङ्घ नयाँ तरिकाले अघि बढ्ने जनाए ।

सबैतिरबाट स्वास्थ्य क्षेत्र टार्गेटमा 
यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेलले चिकित्सकले अन्तिम अवस्थासम्म पनि बिरामीलाई बचाउने पक्षमा हुने भन्दै पछिल्लो समय नागरिकले नबुझेर आन्दोलनमा उत्रिएको बताए । पैसा र डाक्टरले मात्रै बिरामी बचाउन नसक्ने भन्दै डा. प्याकुरेलले नागरिकले पनि समयमा स्वास्थ्यप्रति सचेत हुनुपर्ने धारणा व्यक्त गरे ।

मृतकको परिवार र अस्पताल बीच सहमति भए पनि तेस्रो व्यक्तिले आन्दोलनपछि पैसा पाउने भन्दै कमिसनतन्त्रले गर्दा नागरिक आन्दोलनमा उत्रिएको उनको तर्क छ । रातोपाटीसँग कुरा गर्दै उनले ‘उपचारका क्रममा डाक्टरबाट नै गल्ती भएको छ भने मेडिकल काउन्सिललाई लाइसेन्स नै खारेज गर्ने अधिकार छ तर नागरिक त्यो बाटोमा नगई आन्दोलनमा जाने हुँदा यस्ता कुराले स्वास्थ्य क्षेत्रमा समस्या हुन सक्छ ।’

कानुनी प्रक्रियामा नङ्गई तोडफोड र आन्दोलनमा उत्रिएका नागरिकलाई नियन्त्रणमा लिनका लागि गृहमन्त्रालयसँग अधिकार भएको यस्ता कुरामा गृहले प्रभावकारिताका साथ अघि बढ्नुपर्ने मन्त्रालयको भनाइ छ । सबैले स्वास्थ्य क्षेत्रलाई टार्गेटबनाइरहेको हुँदा यस्ता कुरालाई नियन्त्रणमा नलिने हो भने सङ्घीयता खतरामा पर्ने प्याकुरेलले रातोपाटीसँग बताए । 

नोट– कुनै पनि अस्पतालमा उपचारका क्रममा बिरामीको निधन हुनुमा स्वास्थ्यकर्मी नै कारक हुन् भन्दा पनि अस्पतालका अन्य कुरामा पनि ध्यान दिन जरुरी देखिन्छ । अस्पतालको पूर्वाधार, क्षमताभन्दा बढी कार्यभार, कमसल उपकरण, लगातार लामो समयको ड्युटी, प्रयोगशालाको रिपोर्ट त्रुटिपूर्ण हुनु, औषधि तोकिएको रासायन नहुनु वा नक्कली हुनु, टिम वर्कमा कमी कमजोरी हुनु, बिरामी अन्तिम अवस्थामा अस्पताल आउनु, व्यवस्थापन पक्षबाट संस्थाको आय बढाउन दबाद दिनु जस्ता कुरालाई पनि सच्याउन सकेको खण्डमा अस्पतालमा यस्ता घटना कम हुन सक्ने देखिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप